आदरणीय गुरु प्रा.डा. गोविन्दराज भट्टराईबाट हालै मलाई एउटा कृति उपहारमा प्राप्त हुन्छ–”जिन्दगी फूल सम्झे फूलै हो।”
नयाँ वर्ष २०८३ मा यो उपहार हात थापेपछि मेरो थाप्लोमा बोझ बढेको महसुस हुन्छ। जसले कृतिकार डा. सुमाया राई देखे–चिनेको होइन र, टाढा बसाइ हुनाले भेट हुन सम्भव पनि छैन, यद्यपि कृति हेर्दै जाँदा समीक्षा लेख्न उचित लागेर सारभूत विषय उठान गरिएको छ।
स्रष्टा सुमाया राईको जीवनरेखा जुझारु क्रान्तिकारी नभएर बरु सङ्घर्षशील एकलव्यझैँ मधेश, मुगलान र पहाड चढ्दै समुद्रपारि तरेको प्रवासी चरित्र हो। जीवनभर भौतिक बाटो बनाएर कर्मले हिँडे पनि त्यो बाटो नियतिको परिणाम ठानेर स्रष्टाले भाग्यवादमै विश्वास गरेको देखिन्छ। नेपाली साहित्य समाज यूकेको संयोजनमा ‘सुप्रमा पुरस्कार’ (सन् २०१८) प्राप्त स्रष्टासँग समाज मनोवैज्ञानिक दृष्टि बढी छ, नेतृत्वमा जुझारु चिन्तन पनि छ, अब छरितो जिउ हुनु हो भने राष्ट्र नेतृत्व गर्न वर्तमान समयले साथ देला झैँ लाग्दछ। हालसम्म प्रकाशित उनका कृति यसप्रकार छन्– अभिव्यक्ति (कविता सङ्ग्रह, २०७२), छाम सुनाखरी (गीत सङ्ग्रह, २०७२), मेरो अन्तिम इच्छापत्र (कविता र गीत, २०७५), जिन्दगी फूल सम्झे फूलै हो (संस्मरणात्मक जीवन यात्रा, २०८२), तातो हावा (गीति एल्बम, २०७१)।
यी कृतिमध्ये “जिन्दगी फूल सम्झे फूलै हो” ५३८ पृष्ठको छ। यसमा संस्मरणात्मक ढाँचामा लामो जीवन यात्रा लेखिएको छ। कृति पृष्ठ भागमा समाजशास्त्री जितपाल किरात, प्रा.डा. गोविन्दराज भट्टराई र प्रा.डा. नोवल किशोर राईद्वारा प्रकट मन्तव्य साथै लेखक डा.सुमाया राई बारेका सारसन्देशहरू लेखिएका छन्।
कृतिले डा.सुमायाको जीवन भोगाइ बाल्यकालबाट उठाएर अध्ययन–क्रममा मनोविज्ञानमा दर्शनशास्त्रीय उपाधि ग्रहण गरी त्रि.वि. कीर्तिपुरमा उपप्राध्यापक पदबाट १९ वर्षे प्राध्यापन सेवा पूर्ण गरी त्यही अवधिभित्र अन्य सङ्घसंस्था र सेवाकार्यमा संलग्न रहँदाको अनुभव–अनुभूतिलाई प्रस्ट्याउने काम गरेको छ।
किरात राई यायोक्खामा आठओटा मातृसंस्था संलग्न छन्। त्यसमध्ये सुमाया राई चाम्लिङ मुखाछा वंशबाट चाम्लिङ बुत्तिपाछा वंशमा समाहित भएकी हुन्।
राई मूल प्रवाहमा २६ थान मातृभाषा– कुलुङ, थुलुङ, बान्तवा, चाम्लिङ, वायुङ, जेरुङ/जेरो, लोहोरुङ, वाम्बुले, पुमा, बेलहारे, दुमी, फाङ्दुवाली, दुङ्माली, याम्फु, तिलुङ, सोताङ, नाछिरिङ, वालिङ, आठपहरिया, खालिङ, कोयी/कोयु, जिमी, देवास र लुङखिम इत्यादि मातृभाषा हुन्।
किरात जातिको साल्पा सिलिछो मुन्धुमी स्थल हो। यो स्थान ३४४० मिटर उचाइमा रहेको छ।
साल्पा पोखरीमा पुराना संस्कारका बाबुआमाले नुहाएर भाकल बुझाउने काम गरिन्छ। साल्पा सिलिछो एउटा खुला विश्वविद्यालय पनि हो।
किरात बसोबास समुद्र सतहबाट ७० मिटर अग्लो झापा र ३५०० मिटर उचाइका सोलुसल्लेरी, महाकुलुङ, बुङ र छेस्काम आदि भौगोलिक विविधता भएका ठाउँसम्म रहेको छ। त्यसैले केही विविधताका बाबजुद जातीय एकता र तीनढुङ्गे चुलो (तीनचुला) साकेला, साकाला, साकेन्वा, साकेवा, तोष, बास, साखेला र साकेल आदि पर्वमा ठुलो एकता छ।
उल्टो जन्मिने सन्तानले नानी मरुवा दोष पसेका आमाबाबुलाई सातपल्ट लात्तीले हानेपछि मर्छ र, फेरि जन्मिएका गाउँले आमाका सन्तान अकालमा मर्दैनन् भन्ने लोकोक्ति त्यतिखेरका धामी बिजुवाले बताउँथे र प्रयोग गर्न लगाउँथे। आमाको निर्देशनमुताबिक सुमायाले आफ्ना घरमा आएका कोही दम्पतीलाई (मोच मार्न) खुट्टा गलुन्जेल लात्ताले हानेको सम्झना हुन्छ।
कूल जनसङ्ख्याको ६% आदिवासी जनजाति रहेका मध्ये १८% गरिबीको रेखामुनि पुगेको देखाइन्छ। किरातीहरूको ५००० थर हुन्छन् भनिएको छ।
नेपालमा गोपालवंशी किरातको ३२ पुस्ता अघिदेखि इतिहास साक्षी रहेको छ। राई जातिका प्रख्यात गढीहरू–हतुवागढी, चौदण्डीगढी, पामारवामगढी, तलुवागढी, बुङनामगढी, मझुवागढी, विजयपुरगढी, कोपिलासगढी आदि पुरातात्त्विक महत्त्वका ऐतिहासिक स्थल हुन्। अझै गढीहरूको अनुसन्धान हुन बाँकी नै छ। मुन्धुमले निर्देश गरेको पूजा पद्धति र चुलापूजाको अनुसन्धान पनि अझै बाँकी रहेको बताइन्छ।
राईहरू प्रत्येक वर्षको माघ १ गतेलाई किरात येले अर्थात् नयाँ संवत् र धनुषबाण हान्ने तथा यलम्बर स्मृति दिवस मान्ने गर्दछन्।
**
सुमाया राई सेवा अवकाशपछि कलमजीवी भएर रहँदा यो कृति प्रकाशित भएको छ। कृतिमा पारिवारिक घटना, अनुभव र अनुभूतिहरू स्मरण गरिएको छ, तस्बिरसहित।
प्रथम खण्डमा आमा शीर्षकमा आमाको जीवन, गतिविधि र चासो गरेका विषयमा विस्तार गरिएको छ। दोस्रो खण्डमा बुबाले दोस्रो बिहे गर्नुको रहस्य र लगनका कुरा, सन्तान र शिक्षा वृद्धिका कुरा गरिएको छ। अघि बढ्दै ‘किरात विरासतको खोजीमा यायोक्खा’ र ‘रापिलो पहिचान आन्दोलन’ पाठसम्म समेटिएको छ।
तेस्रो खण्ड सन्तान पक्षको प्रगति, मान्यजनको सम्झना, आफ्नो कवित्व र गीति प्रभाव तथा कृतिको नाम बारे समेटिएको छ। चौथो खण्डमा लेखकको परिचय र वंशवृक्ष, घर, माइती, मावली आदिको नालीबेली समावेश गरिएको छ। यसमा ‘परिवारसँग सम्बन्धित व्यक्तिदेखि दरबार हत्याकाण्ड तथा नेपाली काँग्रेस र अरू नेता समेतका ७ वटा पाठ समेटिएका छन्।
सुमाया जन्मेका बेलाको लोकोक्ति सुन्दा अहिले अचम्म लाग्छ। उनी आमा परमेश्वरीको कोखबाट गोडा पहिले निस्किनाले उल्टो जन्मेकी थिइन्। उल्टो जन्मिने सन्तानले नानी मरुवा दोष पसेका आमाबाबुलाई सातपल्ट लात्तीले हानेपछि मर्छ र, फेरि जन्मिएका गाउँले आमाका सन्तान अकालमा मर्दैनन् भन्ने लोकोक्ति त्यतिखेरका धामी बिजुवाले बताउँथे र प्रयोग गर्न लगाउँथे। आमाको निर्देशनमुताबिक सुमायाले आफ्ना घरमा आएका कोही दम्पतीलाई (मोच मार्न) खुट्टा गलुन्जेल लात्ताले हानेको सम्झना हुन्छ।
आमालाई क्षयरोगको उपचार गर्न दार्जिलिङ लाँदा उनी काखेनानी थिइन्। रोगी आमाको दूध नचुसोस् भनी अर्कै आमालाई बाख्रीको दूध खुवाउन बुबाले काखबाट नानी अलग्याएको थियो तर, त्यो उपाय सम्भव भएन र आमाकै दूध चुस्न पाएपछि मात्र रुन छोडेकी थिइन्।
उनको वैवाहिक जीवन सुरु नहुँदाका मनोविज्ञान बदल्ने घटना धेरै छन्। तीमध्ये इन्जेक्सन लगाउन हिँडेका दिदीभाइ फर्किन ढिलो हुँदा आमाले हानेको सिर्कनो, पढाउने शिक्षकले शिवजीको दर्शन गर्न गुप्ताङ्गतिर सङ्केत गरेको हाउभाउ, परीक्षामा प्रथम श्रेणी उत्तीर्ण हुन नसक्ता खाएको रसभरी र लड्डुको स्वाद, पाकिस्तान युद्धले ल्याएको मुर्दाशान्ति आदि मनोविज्ञानमा छाप पार्ने घटना हुन्। यसैगरी मर्फी रेडियोबाट ‘यो रेडियो नेपाल हो’ भनेको सुन्दा, आमालाई बँदेलले खेदेको सपना देख्दा, सहपाठी साथी वन्दनाको स्नातक विषय छनोटमा अर्थशास्त्र छोडेर मनोविज्ञान नलिए ‘म यो कलेज पढ्दिन’ भन्ने दबाब, आमा निधन हुने अवस्था घरमा भएका गहना शृङ्गार र लुगाफाटा छोराछोरीलाई बाँडिदिएका घटना, आमालाई उपचारार्थ लाँदै गर्दा र दिल्ली नपुग्दै निधन भएको घटनाले उनको मनोविज्ञान बदलिएको छ।
लगातार पढेर डिग्री उत्तीर्ण गरेपछि मात्र बिहे गर्न उचित हुन्छ भन्ने दृढता भएकी छोरीको आइए पढ्दापढ्दै चुरोट खान बानी परेका युवक हिमालय राईसँग फूलमाला गर्न आमाबुबाबाट बाध्य पारिनाले स्वतन्त्र मनोविज्ञानमा ठुलै पर्खाल लागेको छ। क्षयरोग पीडित आमाको कन्चटमा अचानक क्रिकेट बल प्रहार हुँदा जमिनमा ढलेको घटना अत्यन्त संवेदनात्मक छन्। बुबाको दोस्रो बिहे हुनु पर्ने अवस्थालाई सबै छोराछोरीले व्यावहारिक बाध्यता मानेका छन्।
**
यो खण्डमा ७८ वटा शीर्षक सम्बद्ध छन्। किरात राई यायोक्खा संस्थाको स्थापना दिवस २०६५ साउन २२ हो। पाँचौँ महाधिवेशनका अध्यक्ष कुलबहादुर राई लिकुवा गैरीगाउँ, खोटाङका हुन्। उनी काठमाडौँ–कोरिया आवागमन गरिरहन्छन्।
किरातकी देवी सुम्निमा र देवता पारुहाङका कल्पनाकार/चित्रकार व्यक्ति सिक्टन हुन्। उनी अहिले दक्षिण कोरिया गएका छन्। डा. सुमाया राई पनि किरात राई यायोक्खासँग आबद्ध अग्रणी महिला हुन्।
जग्गा हदबन्दीबारे उनका नाममा धेरैवटा मुद्दा पर्छन्। जेठी बुहारी सुमाया वन सुदृढीकरण आयोग, उदयपुरको २०४५ साल ज्येष्ठदेखि शाखा अधिकृत भएपछि २०३३ सालमा अधिग्रहण भएका जग्गामध्ये लगभग ३ बिगाहा तीनवटी आमाको नाममा फिर्ता गराइन्छ। सुमायाले जग्गा फिर्ता गराउन यो प्रयास जारी नराखेको भए सायदै तीनैवटी सासूआमा र देवरहरू सुकुम्वासी हुनुपर्थ्यो।
बुबाको दोस्रो बिहे नेपाली काँग्रेसका नेता बलबहादुर राई, जो १८ पल्ट कार्यवाहक प्रधानमन्त्री बनेका थिए, उनैकी छोरी प्रमिलासँग भएर दुई सन्तान सुनैना र सुवासको जन्म हुन्छ। पहिली आमापट्टिका सुमाया, गिरिजा, नवलक्ष्मी र धनलक्ष्मी सहित ८ जना एकैपेट भएर रहेका हुन्छन्। प्रमिला राई पनि नेपाली काँग्रेस पक्षबाट दुईपल्ट संविधानसभा सदस्य विजयी भएकी छन्।
हिमालय राई र सुमाया राई एकै दम्पती हुन्। बहराइनबाट ल्यान्डलाइन कल आउँदा बोल्न गएकी सुमायाको हिमालयको आवाज सुन्दा प्रतिक्रिया दिन होस गायब हुन्छ। महिना दिनपछि अचानक बिरामी भएका हिमालय राई बहराइनबाट काठमाडौँ आएको खबर पाएर सुमाया र बुबा उपचार गराउन काठमाडौँ जान्छन्। हिमालयको गोजीको ५८ तोला सुन अस्पताल बसेको बेला पनि अभिभावकले सुरक्षित जिम्मा लिन पाउँछन्। बिरामीलाई दिल्ली लगिन्छ। दिल्लीमा न्युरोलोजिस्ट डा. लामाको निगरानीमा हिमालयको ब्रेन हेमिस्फियर क्षति भएको पत्ता लागेर उपचार गरिन्छ।
१९८६ डिसेम्बर २८ मा जेठी र माहिली दिदीबहिनीका दुई छोरीको हिमालय राई र थामबहादुर राईसँग एकै लगन बिहे हुन्छ। २०४४ साल फागुन २९ गते दशरथ रङ्गशालामा नेपाल बङ्गलादेशबीच मैत्रीपूर्ण फुटबल खेल भइरहेको बेला अचानक आएको हुरी र असिनाबाट जोगिन भागदौड गर्दा चेप्टिएर मरेका ९३ जना मान्छेको सम्झना हुन्छ। भत्किएर लथालिङ्ग रङ्गशालाको २०७६ मा एसियाली खेलकुद सम्पन्न गराउनु पर्दा पुनर्निर्माण गरिन्छ। २०७२ साल वैशाख १२ गतेको भूकम्पको पनि सम्झना हुन्छ।
सुमाया राईको श्रीकृष्ण महिला महाविद्यालय, बिसनपुर, बेगुसरायबाट स्नातक परीक्षा सकिन्छ। हिमालय सुमायालाई लिन भारततिर ससुराल जान्छन्। गाईघाट बोक्सेको घरमा मैतालु भित्र्याएर चुलो चढाई बागदत्त दिइन्छ। यतिखेर उदयपुरको बोक्से सदरमुकाम परिवर्तन भएर त्रियुगामा सरेको हुन्छ। यसका १६ वडामध्ये वार्ड नं. १० मा सबै सरकारी कार्यालयहरू सारिएका हुन्छन्। गाईघाटस्थित वार्ड नं. ११ र १२ त्रियुगा नपाका प्रमुख व्यापारिक केन्द्र मानिन्छन्। त्रियुगा बहुमुखी क्याम्पस, तक्षशीला कलेज, सिटिइभिटी प्रशिक्षण केन्द्र, लगायत पाँचवटा कलेज त्रियुगामा सञ्चालित छन्।
हिमालयका बुबा भूपू ब्रिटिस मेजर डा. रणशेर राई त्रियुगा विकासको नक्सा कोर्ने पहिलो व्यक्ति हुन्। एक असल चिकित्सक र उदयपुरका सर्वमान्य नेता हुन्। उनको २०३७ जेठ २२ गते क्यान्सर रोगबाट असामयिक निधन हुन्छ। उनका चार पत्नीमा जेठी हिमालयकी आमा सरमाया राई, जसको २०७४ मा निधन हुन्छ; माहिली मनलक्ष्मी राई, साहिँली कीर्ति राई र कान्छी पत्थर राई हुन्। रणशेर राई पञ्चायत पक्षका नेता हुन्। उनको जग्गा १६ बिगाहाभन्दा बढी हुनाले बहुदलीय व्यवस्था लागू भएपछि सरकारले अधिग्रहण गरी त्यहाँ सरकारी कार्यालयहरू बनाइन्छन्।
जग्गा हदबन्दीबारे उनका नाममा धेरैवटा मुद्दा पर्छन्। जेठी बुहारी सुमाया वन सुदृढीकरण आयोग, उदयपुरको २०४५ साल ज्येष्ठदेखि शाखा अधिकृत भएपछि २०३३ सालमा अधिग्रहण भएका जग्गामध्ये लगभग ३ बिगाहा तीनवटी आमाको नाममा फिर्ता गराइन्छ। सुमायाले जग्गा फिर्ता गराउन यो प्रयास जारी नराखेको भए सायदै तीनैवटी सासूआमा र देवरहरू सुकुम्वासी हुनुपर्थ्यो।
हिमालय राई परदेश बसेको बेला आफ्नो अदेखमा बुबा गुमाएको पश्चात्तापले आमा बिरामी परेदेखि ढुक्कै रुँगेर घर बसेका हुन्छन्। छोरा हिमालयकै काखमा आमाको निधन हुन्छ। सुमायाको स्नातक परीक्षा नतिजा प्रथम श्रेणी अङ्कित हुन्छ। उनलाई २०३८ साल जेठ १४ गतेको नमिता–सुमिता काण्ड, २०४३।०५।२१ गते घरको ओछ्यानमै गोली हानेर पत्रकार पदम ठकुराठीको आँखा फुटाएको काण्ड, २०४५।१२।१७ देखि २०४७।०३।१७ गतेसम्म भारतीय प्र.म. राजीव गान्धीले नेपाल प्रवेशका १७ भन्सार नाका बन्द गरेको घटना र २०४६/०४७ को जनआन्दोलनले नाकाबन्दी हटाउन खेलेको भूमिका आदिको झल्झली स्मरण हुन्छ।
राजा वीरेन्द्रबाट २०४६ साल चैत्र २६ गते राति पञ्चायती व्यवस्थाको बदलामा बहुदलीय प्रजातान्त्रिक व्यवस्था घोषणा गर्न बाध्य भएको पनि सम्झना हुन्छ। नयाँ संविधान मस्यौदा समिति अध्यक्ष विश्वनाथ उपाध्याय चयन भएको अवस्था र २०४८ साल वैशाख २९ गते देशव्यापी आम निर्वाचन भएको घटना स्मरण हुन्छ। जनआन्दोलन–२०४६ को परिवर्तनले सुमाया अधिकृत रहेको वन सुदृढीकरण आयोग भङ्ग हुन्छ। यसपछि सुमाया दम्पती काठमाडौँ गएर बस्छन्। उनको मनोविज्ञान विषयको परीक्षाफल दोस्रो श्रेणीमा अङ्कित हुन्छ। भीमकुमारी रिमाल पर्यटन मन्त्रालयकी शाखा अधिकृत थिइन्। उनको बिहे डा. पन्ना थापासँग भएको हुन्छ। ती भीमा दिदीसँग सुमायाको भेट हुन्छ। डा. पन्ना काठमाडौँ विश्वविद्यालयमा कार्यरत फार्मेसी सङ्काय प्रमुख डीन, जो पछि नियन्त्रक भएका थिए। दिदी भीमाको २०६४।१०।०९ क्यान्सर रोगबाट निधन हुन्छ।
सुमाया जेसस मुरार क्याम्पस, लहानमा छ महिनाजति स्वयंसेवक प्राध्यापन गर्छिन्। त्यहाँ स्नातक तह पढाइ हुन थालेपछि उनी राष्ट्रिय विकास सेवाको विद्यार्थी हुनाले एक वर्ष निःशर्त पढाउनुपर्ने हुन्छ। यस सेवाबाट उनलाई ८४% अङ्क प्राप्त हुन्छ। उनले ज्वालादेव सेयोबाई मुरारका क्याम्पसमा बाल मनोविज्ञानका दुइटा कक्षा प्राध्यापन गर्नुपर्ने हुन्छ। उनका घर अगाडि शिव मन्दिर पछाडि मस्जिद रहेकाले पूजाको ध्वनि आइरहन्छ।
**
हिमालय बहराइनबाट अन्तिम बिदा भएर घर आउँछन्। अति मन परेको सेती बिरालो चाहिँ उतै छोडिन्छ। २०५२।०८।२९ गतेमा युवराज दीपेन्द्रबाट क्याम्पस भवन उद्घाटन गरिन्छ। क्याम्पस एकाउन्टेन्टको हातबाट सुमाया पहिले वन सुदृढीकरण आयोगको शाखा अधिकृतले पाएकोभन्दा निकै बढी तलब बुझेर भरपाइमा हस्ताक्षर गर्नु पर्दा ठुलो आनन्द अनुभूति गर्छिन्। उनको सिफारिसमा क्याम्पस छात्रालाई हरियो कुर्ता, सेतो सुरुवाल र सल सिलाउन टुङ्गो गरिन्छ। स्टाफबाट मासिक बचत ढुकुटी सङ्कलन गरी पालोसारमा जम्मा रकम झिक्न पाइने सर्तअनुसार ढुकुटीको रकम झिकेर सुमाया स्कुटी किन्छिन्। ‘समस्या उत्पत्ति भएपछि समाधान पनि सँगै लिएर आएको हुन्छ’ भनेझैँ पाठ्यपुस्तकको अभावमा काठमाडौँ गएकी सुमाया त्रिचन्द्र क्या. विभागीय प्रमुख भारती अधिकारीसँग भेटेर मनोविज्ञानसम्बन्धी प्रयोगात्मक केही सामग्री लहान क्याम्पसलाई उपलब्ध गराइन्छ। पाठेघरको समस्याले अस्पताल गएकी सुमायाको डा. भोला रिजाल र नर्स चम्पा राईको उपचारपछि साथै मन्दिरकी माताले टोकेर फालेको कागती चपाएपछि हिमालय दम्पतीलाई छोरा र छोरी क्रमशः प्राप्त हुन्छन्।
सप्तरीको लहान बजार कृषि अन्न र आँप, लिची, केरा र कटहर आदि फलफूलको उत्पादक मात्र होइन, स्वदेशी तथा विदेशी व्यापारिक सामग्रीको केन्द्र पनि हो। उपत्यका, पहाड र मधेसी जातिको बहुविधि संस्कृति झल्किने सङ्गमस्थल पनि हो तर सहरीकरण अव्यवस्थित लहानका नालीमा उज्यालो नहुँदै पेट खलास गरेको दुर्गन्धले खपीनसक्नु हुन्थ्यो। अशिक्षा र अव्यवस्थित उत्सर्जनले जितेको बस्तीमा अल्बर्ट बान्दुराले भनेझैँ सिकाइ र व्यवहारबीच सापेक्षित सम्बन्ध नहुँदा पक्की शौचालय जब बन्यो तब सहर सफा र व्यवस्थित बन्दै जान्छ।
सुमायाको घरमा टाइसन र ज्याक्सन नामका दुइटा छाउरा मध्ये केहीपछि ज्याक्सन लडेर मर्छ। टाइसन पनि हराएर खोज्दा चाइनिज ठेकेदारले कोठामा थुनेका पाइन्छ। थुनामुक्त गरी घर ल्याएर राखेको केहीपछि छाला खुइलिने रोगले टाइसन पनि मर्छ।
सुमाया साइकलबाट स्कुटी चलाउने अधिकृतमा पदोन्नति भएको समय गोजीको हरियो सङ्केत गर्ने कलम अचानक झरेर कसैको बाइकमुनि किचिएर सकिन्छ। राष्ट्रको लागि हरिया अक्षरको तोक लाउने उक्त कलम र सुमायाको गाढा प्रेम एकैचोटि धूलिसात् हुन्छ। २०४५ साल भूकम्पमा ६५००० घरधुरी भत्किन्छन्। ७२१ जनाको आकस्मिक निधन हुन्छ। सरकारबाट घर पूर्णक्षतिलाई १०००० नगद र अल्पक्षतिलाई ५००० रु. राहत वितरण गरिन्छ।
गणतन्त्र ल्याउने जनताको भावनामा धावा बोलेर राजा ज्ञानेन्द्रले अतिक्रमण गरेकाले जनताको महासागरले ज्ञानेन्द्र मुर्दावाद भन्दै दरबार घेरेपछि जनताको नासो जनतालाई नै फिर्ता दिएर उनी नागार्जुन जान्छन्। जुलुसमा सुमायाको नोकिया फोन पर्सबाटै हराउँछ। उनी उम्लिएको दूध पोखिएझैँ चिसो हुन्छिन्।
२९ वर्षकी सुमायाको पेटमा गर्भ रहेपछि तौल बढ्दाबढ्दै ६० बाट ८६ केजी पुग्दा जिउ भारी हुन्छ। २०४९।१२।२४ मा छोरा प्रणय जन्मेपछि तौल घट्छ। फेरि २०५१।०८।२२ मा छोरी ज्योत्नाको जन्म हुन्छ। त्यतिखेर ४० दिन सुत्केरी बिदा मिल्छ।
सुमायाको लहान क्याम्पस प्राध्यापक सङ्घमा अध्यक्ष हुने सम्भावना थियो तर त्यो रोल एकैरातमा पल्टाएर अर्कै पुरुष अध्यक्ष बन्दा उनलाई मनोवैज्ञानिक चोट पर्छ तर विरोध नगरी कुण्ठा दबाइन्छ। हिमालय राई प्रमुख इन्जिनियर हुँदा भूकम्प राहत वितरण कार्यक्रममा धरान बस्नु पर्ने हुन्छ। भ्रष्टाचार नियन्त्रण गर्ने दायित्व प्रमुख इन्जिनियरको हुन्छ। उनको निगरानीमा कमिसनखोर तथा बिचौलियाको ओठतालु सुक्छ। एकजना ओसी शुक्रवार इन्जिनियर हिमालय घर जाँदा सँगै जान्छन्। बिहान हिमालय बाहिर बसेको मौका पारी राहत बजेटबाट कमिसन झिक्न भनिदिनु भन्दै हिमालयकी पत्नीसँग चिप्लो बोलीमा अनुनय गर्छन्। सुमायामार्फत् हिमालयले त्यो कुरा सुन्दा उनी तुरुन्तै फायर भई इन्जिनियरलाई पनि निष्कासन गर्ने विचार सुनाउँछन् तर, यो विचार सुमायाको अनुरोधले रोकिन्छ।
**
सुमाया राई २०६० सालमा पाँचौँ महाधिवेशनबाट किरात राई यायोक्खा समितिको महिला उपाध्यक्ष छनोट र खानपिन विभाग संयोजक बनाइएको हुन्छ। नेपाल आदिवासी जनजाति महासङ्घ २०६१ का संयोजक डा. ओम गुरुङ बन्दछन्। प्रधानमन्त्री शेरबहादुर देउवा रहेकै बेला आदिवासी जनजातिका चाडबाड र पर्वनिम्ति राष्ट्रिय बिदा दिइने घोषणा हुन्छ। हिमालय दम्पती छोराछोरी लिएर मनकामना र गोरखा दरबार जाँदा भरियाले तानेको चुरोटको धुवाँले छोरी डराएपछि डोकामा बोकिन मान्दिनन्। त्यसपछि दस्तुर डबल तिरेर छोरालाई भरियाले बोक्छन्।
सुमायाले आत्मकथनमा लेखेकी छन्– “चरित्र हत्याको पाण्डुलिपि” स्रष्टा भद्राकुमारी घलेद्वारा लिखित निबन्ध– “आईमाई हिजो आज र भोलि”–२०६२ मा पूँजीवादले भित्र्याएको वेश्यावृत्ति भन्ने पाठले पाठकलाई आकर्षण गर्यो” भन्ने कथनमा क्षमायाचना गरेकी छन्।
पुर्तगिज उपनिवेशबाट मुक्त मकाउ हाल चीनमा सम्बद्ध सहरमा ८ वर्षसम्म बसेर हिमालय राई फर्केपछि त्यहाँ कमाएको रकमबाट अनामनगरमा घर निर्माण गरिन्छ।
माओवादी द्वन्द्वमा सुमायाका बुबालाई मानसिक र शारीरिक तनाव दिएर तीन लाख रुपैयाँ चन्दा नबुझाए जे पनि हुनसक्ने खतरा आइलागेको र सिरहा ब्याङ्कमा ५० हजार रुपैयाँ जम्मा गरिदिएपछि फेरि त्यो पक्षले थप रकम नमागेको तथा भाइ गिरिराजलाई तनाव दिएकाले उनी विदेशतिर पलायन हुन्छन्। पछि जब घर फर्किए सेनाले माओवादीको चन्दा सङ्कलक हो भनी कसैले पोलेको भरमा इमिग्रेसनबाट उनलाई पक्राइन्छ र ९ दिन हिरासत राखी अन्त्यमा प्रहरी निरीक्षकले घरमै ल्याई बुझाएर जान्छन्। यायोक्खा समितिमा आबद्ध भएर पनि केआर खम्बूले विद्यावारिधि गरेको देखेर सुमायालाई पनि त्यो हिम्मत बढ्दछ। यसै सिलसिलामा भारतका विभिन्न पुस्तकालयमा ‘शिक्षा मनोविज्ञान’ विषयमा अनुसन्धानलाई आवश्यक सामग्री फोटोकपी बनाउँदै सङ्कलन गर्दै अध्ययन अघि बढाइन्छ। फर्किँदा भारतले सुनौली नाका बन्द गरिदिएर भैरहवाबाट तेब्बर दस्तुर तिरी काठमाडौँ उडान गरिन्छ।
किरात राई यायोक्खाको स्थापना दिन–२०४७-५-२३/२४ हो। ने. काँ. नेता बलबहादुर राई दोस्रो जनआन्दोलन २०६२/०६३ का अगुवा नेता हुन्। गणतन्त्र ल्याउने जनताको भावनामा धावा बोलेर राजा ज्ञानेन्द्रले अतिक्रमण गरेकाले जनताको महासागरले ज्ञानेन्द्र मुर्दावाद भन्दै दरबार घेरेपछि जनताको नासो जनतालाई नै फिर्ता दिएर उनी नागार्जुन जान्छन्। जुलुसमा सुमायाको नोकिया फोन पर्सबाटै हराउँछ। उनी उम्लिएको दूध पोखिएझैँ चिसो हुन्छिन्।
विश्वका नौ लाख जाति किराती चिनाउन यायोक्खा जनजातिमा २६ जिल्ला समिति तथा २०० नगर र गाउँमा समिति र प्रादेशिक समिति–२, थरगत भाषिक सङ्ख्या–२३, विदेश सङ्गठन–८ र भातृ सङ्गठन–७ वटा खोलिन्छन्। सिन्धुली र ललितपुर जिल्ला सिमाना पर्ने राई गाउँका सीमान्तकृत बासिन्दा देवास राईको लगभग १०,००० जनसङ्ख्याको समुदायलाई यायोक्खा समितिमा समावेश गराई आसमान राई यसको प्रतिनिधि बनिन्छन्। आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष सुमाया राईलाई सरकारबाट राज्यमन्त्रीसरहको सुविधा दिई लोकसेवा आयोगमा संलग्न हुन पाउने जानकारी गराइन्छ।
किराती जनजागरण अभियाननिम्ति दुई टोली निर्माण गरिन्छ। ओखलढुङ्गा–सोलु सल्लेरीतिर सुमाया नेतृत्वको टोली नं.–१ र पाँचथर ताप्लेजुङतिर चतुर्भक्त नेतृत्वको टोली नं.–२ जाँदै गर्दा ठाडेको उकालोमा शरीर निर्जलीकरण भएर पहाड नचढेकी सुमाया राई बाटोमा लडेर उठ्न नसक्ता चतुर्भक्तले पानी मागेर ल्याई घुट्को पिएपछि शरीर उठ्छ।
**
२०६५।०६।१५ हिमालय राई काठमाडौँबाट मकाउ फिरेपछि मानसिक लक्षणहरू फरक देखिन्छन्। लक्षण बिग्रिएको थाहा भएपछि तुरुन्तै काठमाडौँ लगिन्छ। सुमाया सूचना पाएर अस्पताल पुग्छिन्। अगाडि भएको ब्लडप्रेसरको असरले क्रोनिक भएर परिधीय स्नायु रोग बढेछ जहाँ बिरामीको बोल्न र सम्झिन नसक्ने बिसुर अवस्था हुन्छ। पेट स्क्यान गर्न नेपालमा साधन नभएकाले अपोलो हस्पिटल भारत लगिन्छ। डा. सुरी भन्छन्– यस रोगलाई एट्रोफी भनिन्छ जहाँ दिमागका कुनै कोशिका छिनेपछि यस्तो हुन्छ।
सुमायाबाट आफ्नो परिवारभन्दा बढी यायोक्खा समितिका विशिष्ट व्यक्तिमध्ये पनि युगपुरुष बलबहादुर राई (किकी) बारे बढी स्मरण र टिप्पणी गरिन्छ। युके अस्पतालमा पति हिमालयको हेरचाह निरन्तर गर्नु पर्ने भएर आवासीय रूपमा बेलायत प्रवेश गर्छिन्। उनलाई बेलायतमा सम्मानपूर्वक विश्व नेपाली साहित्य मञ्चको पश्चिम शाखा बेलायत विभागको संरक्षकको दायित्वमा ससम्मान राखिन्छ।
सुमायाको आवासीय भिसा १३ वर्ष पुगिसकेको हुन्छ। यता नेपालमा तुवाचुङ–जायाजुम संरक्षण समिति २०६५ गठन गरी दिनेश राई महासचिव छानिन्छन्। यसै बेला तुवाचुङ डाँडामा विशाल प्रतिमा स्थापना गर्न मरिमेटेर लागिपर्ने पर्खनबहादुर राईको निधन हुँदा सुप्तुलुङ्मा वास होस् भनी कामना गरिन्छ। २०७४।०८।०२ गते तुवाचुङ डाँडामा तामाया, खिमाया र हेच्छाकुप्पा/रैछाकुलेको विशाल प्रतिमा स्थापित गरिन्छ। हलेसी महादेव स्थान, मारतिका गुम्बा र गुरु पद्मसम्भवको ध्यानस्थल संयुक्त गरी त्रिधार्मिक स्थल घोषणा गरिन्छ। सुम्निमा र पारुहाङको प्रतिमा साल्पा पोखरी नजिक स्थापना गर्न साल्पा सिलिछो भोजपुरतिर ठाडेको बाटो हुँदै दुई रात वास बसी बल्ल पुगिन्छ। लाग्छ, यो मुन्धुमी स्थल साल्पा सिलिछो एउटा खुला विश्वविद्यालय हो। यसपछि सुमायाको चिन्तन र कलम अप्रत्याशित घटना महाभूकम्प (२०७२) को स्मरण गर्न पुग्छ।
**
डा. सुमाया राईको साहित्यिक यात्रा पूर्व विद्यार्थी कालमा धेरै चहक नदेखिएको तर मध्याह्न हुनलाग्दा खासगरी दाम्पत्य जोडिएपछि भावना फक्रिएर फुल्न थालेको गुलाफको बोटजस्तो झल्किन्छ। काँडासँग जीवन जिएर फूल फुल्ने बगैँचामा धेरै जातिका बिरुवा हुन्छन्। तीमध्ये लहरे गुलाफ हुन् डा. सुमाया राई। उनको जीवनयात्रा समुद्रपारिसम्म पुगेर फुलिरहेको छ। जीवनमा जतिवटा काँडाले घोचे पनि उनले छातीमाथि थिचिरहने ढुङ्गोलाई कहिल्यै दुःख र निराशाको भारी बनाएर बोकिनन् बरु त्यही दुःखमा सधैँ हाँस्न सिकेर जिन्दगीलाई फक्रिएको थुँगा बनाइन्। दुःखलाई पनि प्रेमिल भावनाले मिचेपछि त्यहाँ सुख फुलेको हुन्छ। उनले हिमालयको हरेक दुःखलाई आत्मसात् गरी फुलाएकी छन्; दाम्पत्य रमाएको छ। अहिले उनी अशक्त पतिको सेवाबाट टाढा रहने कुरा सोच्न सक्तिनन्। सेवाको फन्दा परेर उनलाई एकदिन पनि पर गएर बस्ने सुदिन मिलेको छैन।
दमक–१ रविस्टेन्ड
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.