समावेशिताका लागि साथ र सहयोग निरन्तर रहने तिलोत्तमा उपप्रमुखको प्रतिबद्धता

समावेशिताका लागि साथ र सहयोग निरन्तर रहने तिलोत्तमा उपप्रमुखको प्रतिबद्धता

223
SHARES

तिलोत्तमा – यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको हक, हित, अधिकार तथा संरक्षण सुनिश्चित गर्न स्थानीय तहले आवश्यक नीति, कार्यक्रम तथा बजेटको व्यवस्था गर्नुपर्ने मागसहित समावेशी मञ्च नेपालले तिलोत्तमा नगरपालिकाका उपप्रमुख जागेश्वरीदेवी चौधरीलाई ज्ञापनपत्र बुझाएको छ।

ज्ञापनपत्र बुझाउन समावेशी मञ्च नेपालका प्रदेश समन्वयक विनोद बिसी तथा एफएसटीपीका किरण गुरुङ लगायतको टोली तिलोत्तमा नगरपालिका पुगेको थियो।

ज्ञापनपत्र बुझ्दै उपप्रमुख चौधरीले आगामी दिनमा यौनिक तथा लैङ्गिक अल्पसंख्यक (जिएसएम) समुदायका सबै व्यक्तिलाई समेट्ने गरी नगरपालिकाका नीति, कार्यक्रम तथा बजेट निर्माणमा विशेष ध्यान दिने प्रतिबद्धता व्यक्त गरिन।

उनले विगतमा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका लागि बजेट तथा कार्यक्रम विनियोजन गरिए पनि तेस्राेलिंगी (ट्रान्स) पुरुष तथा समुदायभित्रका अन्य ओझेलमा परेका समूहहरू पर्याप्त रूपमा समेटिन नसकेको स्वीकार गरिन। विशेषगरी तेस्राेलिंगी पुरुषहरूको सवाल र आवश्यकतामाथि थप ध्यान दिनुपर्ने देखिएको उनको भनाइ थियो।

“समुदायका विभिन्न समूहका सवालहरू समेटिन नसकेको अवस्था रहेछ। अब उहाँहरूको अधिकार र आवश्यकताका विषयमा पनि स्थानीय तहबाट सक्दो सहयोग गरिनेछ,” उपप्रमुख चौधरीले प्रतिबद्धता व्यक्त गरिन।

उनले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायसँग निरन्तर भेटघाट तथा छलफल गर्दै आएको उल्लेख गर्दै आफू नगरपालिकामा रहे पनि वा नरहे पनि समुदायको अधिकार र समावेशिताका लागि आफ्नो साथ र सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरिन।

समावेशी मञ्च नेपालले स्थानीय तहले समुदायका सबै पहिचान र समूहलाई समान रूपमा सम्बोधन गर्दै बजेट, नीति, योजना तथा कार्यक्रम निर्माणमा अर्थपूर्ण सहभागिता र प्रतिनिधित्व सुनिश्चित गर्नुपर्नेमा जोड दिएको छ।

समाचार शेयर गर्नुहोस्
223
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.