काठमाडौँ – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनको परिमार्जित निर्वाचन कार्यतालिका प्रकाशित भएको छ। कांग्रेस केन्द्रीय कार्यसमितिको २०८२ चैत ११ गतेको निर्णयअनुसार २०८३ असोज १६ देखि १९ गतेसम्म सम्पन्न हुने गरी तय गरिएको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत विभिन्न तह र निकायको निर्वाचन कार्यतालिका केन्द्रीय निर्वाचन समितिले प्रकाशित गरेको हो।
उक्त कार्यतालिकाबमोजिम केन्द्रीय निर्वाचन समितिले निर्वाचन प्रतिनिधि तोकी अभिमुखीकरण कार्यक्रमसमेत सुरु गरी अधिवेशन प्रक्रिया अगाडि बढाइसकेको जनाएको छ।
परिमार्जित कार्यतालिकाअनुसार केन्द्रीय निर्वाचन समितिले निर्वाचन प्रतिनिधिलाई २०८३ भदौ १० गतेसम्म काठमाडौँ उपत्यका र उपत्यकाबाहिर अभिमुखीकरण तालिम प्रदान गर्नेछ। त्यसपछि २०८३ भदौ ११ गते निर्वाचन अधिकृतलाई जिल्लामा खटाइनेछ।
२०८३ भदौ १५ गते वडामा निर्वाचन प्रतिनिधि खटाइनेछ भने भदौ १६ देखि २० गतेसम्म वडामा अभिमुखीकरण तालिम प्रदान गरिनेछ। सम्पन्न हुन बाँकी नेपाली जनसम्पर्क समितिका अधिवेशन भने २०८३ भदौ मसान्तभित्र सम्पन्न गरिनेछ।
कांग्रेसले २०८३ भदौ २४ गते गाउँ–नगर वडा अधिवेशन गर्ने भएको छ। उक्त दिन ६ हजार ७४३ वटै वडामा अधिवेशन गरी क्षेत्रीय प्रतिनिधि चयन गरिनेछ।
त्यसपछि २०८३ भदौ २७ गते गाउँ–नगरपालिका अधिवेशन हुनेछ। प्रदेश सभा क्षेत्रीय अधिवेशन भने २०८३ भदौ ३१ गते गर्ने कार्यतालिका तय गरिएको छ।
प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन तथा एकमात्र क्षेत्र भएका जिल्लाको जिल्ला अधिवेशन २०८३ असोज ३ गते हुनेछ। उक्त अधिवेशनबाट महाधिवेशन प्रतिनिधि चयन तथा कार्यसमिति निर्वाचन गरिनेछ। त्यसपछि २०८३ असोज ७ गते जिल्ला अधिवेशन र असोज १० गते प्रदेश अधिवेशन हुनेछ।
अन्ततः कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन पूर्वनिर्धारित मितिअनुसार २०८३ असोज १६, १७, १८ र १९ गते सम्पन्न हुनेछ। कांग्रेसले वडा अधिवेशनदेखि केन्द्रीय महाधिवेशनसम्मका सबै तहगत अधिवेशनको परिमार्जित मिति सार्वजनिक गर्दै पूर्वनिर्धारित समयमै १५औँ केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने प्रक्रिया अगाडि बढाएको छ।
केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले विधानको धारा ३५(२)(च) बमोजिम १५औँ महाधिवेशनअन्तर्गत विभिन्न तह र निकायको अधिवेशनको परिमार्जित समयतालिका प्रकाशित गरेका हुन्।
कांग्रेसका अनुसार नेपाली जनसम्पर्क समिति अमेरिका, फ्रान्स, नेदरल्याण्ड, माल्टा, जापान, दक्षिण कोरिया लगायत १५ वटा देशका अधिवेशन पनि सम्पन्न भइसकेका छन्।
निर्वाचन कार्यक्रमको सबै प्रक्रिया अगाडि बढिसकेको वर्तमान अवस्थामा पार्टीभित्र व्यापक सहभागिताका लागि संवाद र सहमतिको वातावरण बनाउन तथा भाद्रको सुरुवाती वर्षातको मौसमका कारण वडा, गाउँ, नगर, उपमहानगर, महानगरपालिका र क्षेत्रीय अधिवेशनमा पार्न सक्ने प्रतिकूल प्रभावका बारेमा तहगत कार्यसमितिबाट आएको सुझावलाई समेत ध्यानमा राखिएको कांग्रेसले जनाएको छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.