मानव शरीरमा हर्मोन र न्युरोट्रान्समिटरको महत्त्व

मानव शरीरमा हर्मोन र न्युरोट्रान्समिटरको महत्त्व

19
SHARES

हर्मोन अथवा रसराग र न्युरोट्रान्समिटर मानवलगायत सबै प्राणी र वनस्पतिमा हुने आवश्यक तत्त्व हो। यी विभिन्न किसिम र प्रकारका हुन्छन्। शरीरका विभिन्न अङ्गबाट निस्किने यस्ता हर्मोन र रसले सम्पूर्ण शरीरमा महत्त्वपूर्ण भूमिका खेलिरहेका हुन्छन्। यी यस्ता केमिकल हुन जसको सही सदुपयोग गर्न र चलाउन सके हरेक सहज र असहज दुवै अवस्थामा खुसी, हिम्मत, उपाय, बचावट र साहस प्रदान गर्न सघाउँछन्। एक प्रकारले भन्नु पर्दा हाम्रो शरीरका सिपाही हुन् हर्मोन। इच्छा, चाहना, हिम्मत, मेहनत, यौन र खुसी सबै हर्मोनका खेल हुन्। हाम्रो शरीरमा उत्पन्न हुने धेरै हर्मोन मध्ये केहीको छोटो चिनारी यस्तो छ।

१ कोर्टिसोल(कर्टिसोन) : कोर्टिसोल मृगौला माथि रहेको एड्रिनल ग्रन्थिले उत्पादन गर्छ। शान्त र चुपचाप बस्ने हर्मोन हो कोर्टिसोल। यसले शरीरलाई तनावको सामना गर्न भूमिका खेल्छ। शरीरमा चिनीको नियन्त्रण, बोसो, प्रोटिन र कार्बोहाइड्रेट पाचनमा सहयोग गर्छ। सुजन र प्रतिरक्षा प्रणालीलाई सन्तुलित राख्छ। यदि शरीरमा अनावश्यक सोच, चिन्ता, डर र तनावको अवस्था देखिन थाल्छ भने यो हर्मोन चुपचाप बस्दैन। यसको मात्रा रगतमा बढ्न थाल्छ। यसको लगातार या पटक पटकको वृद्धिले शरीरलाई क्षति पुर्‍याउन थाल्छ। शरीर कमजोर र रोगी बन्छ।

यो हर्मोन भनेको अचानक आइपर्ने समस्याको समाधानमा मात्र उपयोग हुने तत्त्व हो। जस्तै हिँडिरहेका बेलामा अचानक हिंस्रक जनावरसँग भेट भयो, अचानक नराम्रोसँग डराइयो, कुनै दुर्घटना भयो या हुने अवस्था आयो भने यसको मात्रा बढ्न गई समस्याको समाधान गर्न सघाउँछ। उदाहरण जनावर या चोर या दुर्घटनाबाट बच्न भित्तो नाग्ने, रुख चढ्ने, प्रतिकार गर्ने, हाम फाल्ने, चिच्याउने, लुक्ने जस्ता आपत्कालबाट बच्नका लागि उपाय र शक्ति उत्पादन गरेर बचाउँछ। यदि मानिस तनावमा, अनावश्यक सोचमा, अनावश्यक डरमा, अनावश्यक दुःखी रहन थालेमा यो हर्मोन रगतमा बढिरहन्छ जसले मधुमेह, उच्च रक्तचाप, डिप्रेसनजस्ता रोगको जन्म गराउँछ । त्यसैले जस्तोसुकै परिस्थिति आए पनि भोली अवश्य राम्रो हुनेछ, समाधान हुनेछ, शरीर स्वस्थ हुनेछ, आर्थिक सुधार हुनेछ भन्ने सकारात्मक सोच राखेमा यो हर्मोन चुपचाप रहन्छ र कुनै दीर्घ रोग लाग्नबाट बच्न सकिन्छ।

यसबाट बच्न गहिरो सास लिने, मोबाइललगायतका साधनबाट टाढा हुँदै जाने, बिहानको घाममा बस्ने, अनावश्यक सोच आएमा ध्यान, योग गर्ने, राम्रो सिनेमा हेर्ने, मन पर्ने पुस्तक पढ्ने, साथीभाइसँग खेल्ने, घुम्न जाने, परिवार छोराछोरीसँग समय बिताउने आदि।

२ डोपामीन : डोपामीन मस्तिष्क र शरीरमा बन्ने एक महत्त्वपूर्ण स्नायु–सन्देशवाहक रसायन(न्युरोट्रन्समिटर) हो। यसले स्नायुकोषहरुमा सन्देश आदानप्रदान गराउँछ। यस्तो रसायन हो जसले प्रेरणा र लक्ष्यतर्फ लाग्न प्रेरित त गर्छ तर तत्कालको खुसीका लागि मानिसलाई लततर्फ धकेल्न सक्छ। सजिलै खुसी र आनन्द प्रदान गर्नतर्फ लैजाने तत्त्व हो डोपामीन। यही हर्मोन सक्रिय हुँदा सुरुमा खुसी भइने, रोमान्टिक भइने भनेर खाइने अखाद्य बस्तु जस्तै मदिरा, लागु औषध सेवन, तास जुवा, अत्यधिक मोबाइल हेर्ने बानी, परस्त्री गमन क्षणिक खुसी हो तर यही बानी लतमा परिणत हुन जान्छ।

खुसीसँग सम्बन्धित यो हर्मोनले रोमान्टिक मुड बनाउँछ तर बिस्तारै त्यही मुड बानी र बिस्तारै लतमा परिणत हुन पुग्छ। त्यसैले कस्तो र कुन खुसी दीर्घकालीन हो, कसले पछि लतमा परिणत गराउन सक्छ भन्ने बुझेर मात्र अगाडी बढ्नु राम्रो हो। जस्तो सोच र सक्रियता छ त्यसरी नै डोपामीन सक्रिय रहन्छ। यसबाट बच्न, खेलकुद, अध्ययन, व्यायाम, ध्यान, योग, आफ्नो सपना साकार पार्न मेहनत गरेमा डोपामीन पनि तिनै कुरामा रोमान्टिक बनाउन, काममा सफल बनाउन सक्रिय रहन्छ र मानिसले आफ्नो काममा खुसी र सन्तुष्टि पाउँछ। यो रसायनलाई प्रेरणा र प्रोत्साहनको आधार पनि मानिन्छ भने यसलाई मायाजालमा फसाउने रसायन पनि भनिन्छ। किनकि यसले काम सजिलो, कम मेहनत गर्न र आराम दिलाउन पनि भूमिका खेल्छ।

डोपामीन रसायनको कमी भएमा नसा कमजोर हुने, प्रेरणा घट्ने, उदासीन र निराश हुने हुन्छ भने लगातार कमी भएमा पार्किन्सन्स जस्ता शरीर काम्ने रोग लाग्न सक्छ। धेरै उत्पादन भएमा भ्रम( डिलिउजन) र मतिभ्रम (हालोसिनेसन) जस्ता समस्या देखिन सक्छन्। त्यसैले यसलाई नियन्त्रणमा राख्न व्यायाम, हिँडडुल, सन्तुलित आहार र शारीरिक परिश्रम गर्नुपर्छ।

३ टेस्टोस्टेरोन : ऊर्जा, साहस, हिम्मत, उच्च इच्छाशक्ति, आत्मविश्वास बढाउने हर्माेन हो टेस्टोस्टेरोन। यो सेक्स हर्मोन मुख्य रूपमा अण्डकोषमा उत्पादन हुन्छ भने महिलामा थोरै मात्रामा ओभरी र एड्रिनल ग्रन्थिबाट उत्पादन हुन्छ। यो हर्मोन विशेष गरेर पुरुष प्रजननसँग जोडिएको हुन्छ। युवा अवस्थामा प्रवेश गर्दा यसको उत्पादन बढेर आउने, यौन अङ्ग बढ्ने, दारीजुगा आउने, शरीर हलक्कै बढ्ने, साहस, हिम्मत र शक्ति बढेर आउने, स्वर राम्रो हुने हुन्छ। यसले पुरुषको यौन शक्ति पनि बढाउने, जीवनमा सक्रियता ल्याउने र सन्तान उत्पादनमा भूमिका खेल्ने हुँदा उमेरसँगै पुनः यो हर्मोन घटेर जान्छ। यसलाई घट्न नदिन व्यायाम, सन्तुलित भोजन, काममा निरन्तरता, गहिरो निद्रा, साहसिक निर्णय लिन पछि पर्नु हुँदैन। सक्रिय जीवनले यो हर्मोन मात्र नभएर सबै प्रकारका हर्मोनको आवश्यक उत्पादन भएर शरीर स्वस्थ रहन्छ।

४ अक्सिटोसिन : यो शक्तिशाली हर्मोन र न्युरोट्रन्समिटर हो। यो प्राय मस्तिष्कको हाइपोथेलेमसमा बन्छ र पिटिउटरी ग्रन्थिमार्फत शरीरमा प्रभाव हुन्छ। यसलाई प्रेम, सम्बन्ध र विश्वासको हर्मोन भनेर पनि चिनिन्छ। प्रेम, सम्बन्ध, साथ, सहयोग, विश्वास आदि बढाउने हर्मोन हो अक्सिटोसिन। महिलामा धेरै र पुरुषमा केही कमी रहने यो हर्मोनको उत्पादन माया प्रेममा रहँदा, स्तनपान गराउँदा, स्पर्श आदिले बढाउँछ। यसको कमी भएमा डर लाग्ने, विश्वास घट्ने, टाढिँदै जाने, एक्लो महसुस गर्ने, अविश्वासले जित्दै जाने, भावनात्मक विषयहरूमा कमी आउने हुन्छ। सन्तानको माया, यौन आदिमा कमी आउँछ। यसको वृद्धिका लागि साँचो प्रेम र स्पर्श चाहिन्छ। विना अपेक्षा सहयोग, मिठो बोली र व्यवहार चाहिन्छ। पशुप्रेम र वातावरण सफा चाहिन्छ। घुम्न जान, कृतज्ञता र सहानुभूति चाहिन्छ। मिठो मुस्कान, प्रशंसा र आत्मीयता बढाउनु नै यसको सन्तुलन राख्ने उपाय हो। यसको उत्पादन बढेसँगै सामान्य अवस्था आउँछ। आज समयमा यसको कमीले नैरस्यता, काममा मन नलाग्ने, असफलता, परिवार बिछोड, द्वन्द्व, आत्महत्या र मानसिक रोग, कमै सन्तान जन्मिने अवस्था बढेको पाइन्छ।

५ सेरोटोनिन : दीर्घकालीन खुसी दिने न्युरोट्रन्समिटर हो सेरोटोनिन। “खुसीको रसायन” भनेर पनि चिनिने सेरोटोनिन रसायनले आफैलाई मूल्यवान् सम्झिने, राम्रो मिठो बचन गर्ने, मुड बनाउने, निद्रा भावना आदि सकारात्मक राख्ने, परिश्रमी प्रकृतिको स्वभाव निर्माण गर्न सघाउने काम गर्छ सेरोटानिनले। यो हर्मोनले न्युरोट्रान्समिटरको पनि काम गर्ने हुँदा अत्यन्तै उपयोगी हुन्छ। यसको उत्पादनमा कमी भएमा खालीखाली महसुस हुनु, थकान महसुस हुने, केही पनि नरहेको सबै भताभुङ्ग भएको महसुस हुने हुन्छ। दीर्घकालीन असर शरीर र भावनामा देखिन्छ। यसलाई बढाइ राख्न व्यायाम गर्ने, घाम ताप्ने, खेल खेल्ने, योग ध्यान र अरूको बारेमा सकारात्मक सोच्ने, अरूको मद्दत गर्ने गरेमा आफूमा सकारात्मक परिवर्तन ल्याउन सकिन्छ। यस्ता उपाय गरेमा सेरोटोनिन बढाउन सकिन्छ।

हाम्रो शरीरमा माथिका जस्ता धेरै हर्मोनको उत्पादन हुन्छ जस्तै थाइराइड, इन्सुलिन, मेलाटोनीन जस्ता हर्मोनले शरीरलाई स्वस्थ राख्न सहयोग गरेका हुन्छन्। विभिन्न हर्मोन र भिटामिन कमीका कारण या आवश्यक भन्दा धरै उत्पादनका भएका कारण मानिस अस्थिर र इमोसनल बनेका देख्न सकिन्छ। थाइराइड र मधुमेहजस्ता रोग लाग्नेको संख्या बढेको छ। निद्रा नलाग्ने समस्या मेलाटोनिनको कमिले उत्पन्न भएको छ।

डिप्रेसनलगायतका धेरै समस्याहरू समाजमा देखिनु, सन्तान उत्पादनमा कमी आउनु, समाजमा हिंसा बढ्नु यस्तै यस्तै कारणहरूले अदृश्य रूपमा भूमिका खेलिरहेका हुन्छन्। यसबाट बच्न स्वस्थ जीवनशैली अपनाउनु नै प्रमुख उपचार हो।

समाचार शेयर गर्नुहोस्
19
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.