काठमाडौँ – ब्रह्माकुमारी दादी डा. प्रकाशमणिको १९ औँ पुण्यतिथिको अवसरमा भदौ ५ गतेदेखि विभिन्न स्थानमा रक्तदान कार्यक्रम आयोजना गरिँदैछ।
ब्रह्माकुमारीजले पूर्व विश्व प्रशासकीय प्रमुख राजयोगिनी तपस्वीरूप दादी प्रकाशमणिको १९ औँ पुण्यतिथिको अवसरमा दोस्रो पटक विश्वव्यापी रूपमा ‘बृहत् रक्तदान कार्यक्रम’ आयोजना गर्न लागेको जनाएको छ। यसै अवसरमा ब्रह्माकुमारीज नेपालले पनि अधिराज्यभर ‘ज्ञान–पान, योग–ध्यान, रक्तदान’ सन्देशका साथ आउने भदौ ५ गतेदेखि विभिन्न स्थानहरूमा रक्तदान कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।
ब्रह्माकुमारीज एक आध्यात्मिक मात्र नभई एक सामाजिक संस्था पनि हो। यसले UNICEF तथा ECOSOC जस्ता संस्थाहरूसित सहकार्य गर्दै आएको छ। साथै, विश्वका १४० राष्ट्रहरूमा आफ्नो सेवा प्रदान गर्दै आएको छ।
सामाजिक सेवातर्फ यस संस्थाले नशा–मुक्ति, प्राकृतिक प्रकोपमा सहयोग तथा रक्तदान–सङ्कलन जस्ता कार्यहरू आयोजना गर्दै आएको छ। यो कलियुगी नर्कतुल्य विश्वलाई सत्ययुगी स्वर्गतुल्य बनाउनका लागि मानव–मानवको हृदयमा मानवीय भावनाहरू भर्ने, दिव्य गुणको धारणा गर्ने तथा चरित्र निर्माण गर्ने कार्य गर्दै आएको छ।
यसै क्रममा उच्च मानवताको भावना उजागर गर्दै प्राकृतिक आपदाको शिकार भएका व्यक्ति हुन् अथवा कुनै दुर्घटनामा परेर रगत आवश्यक भएको व्यक्ति हुन् अथवा कुनै किसिमको चिकित्साका लागि रगत आवश्यक भएको व्यक्ति हुन्, उनीहरूको सहयोगार्थ रेडक्रस, हस्पिटल तथा अन्य सामाजिक संस्थाहरूसित सहकार्य गर्दै भदौ महिनाको ५ गतेदेखि रक्तदान र रक्तसंकलन कार्य गर्दै आएकोमा सोको सन्देश जनजनमा पुर्याउनु हाम्रो उद्देश्य हो।
यस बृहत् रक्तदान कार्यक्रम दादी प्रकाशमणिको पुण्यतिथिमा गर्नुको पछाडि दादीजीले आफ्नो जीवनकालमा सम्पूर्ण समाज एवं विश्वलाई आध्यात्मिक तथा सामाजिक कार्यको तर्फबाट पुर्याउनुभएको योगदानको स्मरण गर्नका लागि हो।
दादीजीको जन्म १९२२ मा भएको हो भने उनले १४ वर्षको उमेरमै ज्ञानमा आफ्नो जीवन होम्नु भएर सम्पूर्ण जीवन मानव सेवाका लागि अर्पण गरेका थिए। दादीजीले ब्रह्माकुमारीजको माध्यमबाट सन् १९७२ देखि विदेश सेवा सुरु गर्नुभएर सन् १९८६ मा नौवटा देशहरूबाट शान्तिदूत अवार्ड पाएका थिए।
दादीजी यूएनमा आर्थिक मामिलाको सल्लाहकार थिए भने सन् १९९२ मा दादीजीले मोहन लाल सुखडिया विश्वविद्यालय, उदयपुरबाट डक्टर उपाधिबाट सम्मान पाएका थिए।
दादीजीको स्मृतिमा यसरी विश्वव्यापी रूपमा रक्तदान अभियान सञ्चालन गर्दै आएको यो दोस्रो पटक हो। पहिलो पटक गएको साल पूर्व विश्व प्रशासिका दादी डा. प्रकाशमणिको १५ औँ पुण्यतिथि स्मृति दिवसको अवसर पारी रक्तदान कार्य गरेकोमा नेपाल र भारतबाट गरी जम्मा ८८,००० पिन्ट रक्त सङ्कलन भएकोमा नेपाल अधिराज्यभरबाट मात्र ११,५१६ पिन्ट रक्त सङ्कलन गरिएको थियो।
उक्त साल भारतको OMG Book of Records मा ८८,००० पिन्ट रक्त सङ्कलन गरी ब्रह्माकुमारीजले रेकर्ड स्थापना गरेको थियो। यस वर्ष पनि उल्लेखनीय रूपमा रक्त सङ्कलन गर्ने यस संस्थाको उद्देश्य रहेको छ।
यसरी रक्त सङ्कलन गर्दै गर्दा ‘ज्ञान–पान, योग–ध्यान, रक्तदान’ भन्ने सन्देशसहित रक्त सङ्कलन कार्य गर्दैछ।
जापानका वैज्ञानिक डाक्टर मासारो ईमोटोले मानिसहरूको सोच र सङ्कल्पको असर पानीमा कस्तो पर्दो रहेछ भन्ने प्रयोग गर्दा सकारात्मक सोच परेको पानीलाई जमाएर क्रिस्टल स्ट्रक्चर दिँदा त्यसमा सुन्दर प्याटर्न बनेको देखियो भने त्यसको विपरीत नकारात्मक सोच तथा सङ्कल्पहरूबाट प्रभावित पानीले त्यस प्रकारको प्याटर्न देखाएन।
मानव सोचको प्रभाव प्रकृति तथा वस्तुमा पर्दछ भन्ने पुष्टि गर्ने उक्त प्रयोग तथा अध्ययनको निष्कर्षको रूपमा मानव सोच तथा सङ्कल्पको प्रभाव प्रचुर मात्रामा पानी रहेको रगतमा पनि परेको हुन्छ।
तसर्थ यदि रक्तदाताले सकारात्मक चिन्तन राखेर रक्तदान गरेको खण्डमा सो व्यक्तिको रगतमा सकारात्मक प्रभाव पर्न गई सो रगतले बिरामीलाई शीघ्र स्वस्थ हुनुमा सहयोग पुर्याउँछ भन्ने भावनाका साथ आध्यात्म ज्ञानका पुस्तकका नैतिक अंशको अध्ययन गरिसकेपछि सकारात्मक चिन्तन गराई रक्तदान गराउनु नै यस रक्तदान कार्यक्रमको मूलभाव ‘ज्ञान पान, योग ध्यान, रक्तदान’को उद्देश्य रहेको छ।
यसै वर्षको रक्तदान कार्यक्रमको शुभारम्भ ब्रह्माकुमारीज नेपालले यसै हप्ता श्रावण ३१ गते महेन्द्र पुलिस क्लब, प्रदर्शनी मार्गमा औपचारिक कार्यक्रमका साथ शुभारम्भ गरेको थियो।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.