रास्वपामा रविले बाँडे जिम्मेवारी, ‘राइट टु रिकल’का लागि समिति

रास्वपामा रविले बाँडे जिम्मेवारी, ‘राइट टु रिकल’का लागि समिति

86
SHARES

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीको केन्द्रीय समितिमा ९ सदस्य मनोनयन गर्दै पदाधिकारी, सचिवालय तथा केन्द्रीय विभागको जिम्मेवारी बाँडफाँड गरेका छन्।

रास्वपाको शुक्रवार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले स्थानीय निर्वाचन, ‘राइट टु रिकल’, केन्द्रीय सदस्य मनोनयन, पदाधिकारी तथा विभागीय जिम्मेवारी, सङ्गठन विस्तार र पार्टीका आगामी कार्यक्रमसम्बन्धी निर्णय गरेको रास्वपा महामन्त्री विपिन कुमार आचार्यले जानकारी दिए।

रास्वपाको पहिलो महाधिवेशन चितवनको भरतपुरमा सम्पन्न भएको थियो। असार ७ गतेदेखि सुरु भएको महाधिवेशनले रवि लामिछानेलाई सभापतिमा निर्विरोध निर्वाचित गरेको थियो। महाधिवेशनबाट ७ पदाधिकारीसहित ९९ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित भएको थियो।

महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिमा थप ९ सदस्य मनोनयन गरिएको हो। मनोनीत हुनेमा सुनिल लम्साल, सुधन गुरुङ, प्रतिभा रावल, भूपदेव शाह, पुरुषोत्तम सुप्रभात यादव, डा. मनोहर प्रधान, बसुमाया तामाङ, सुरेन्द्र चौधरी र डा. भक्तबहादुर राई छन्।

त्यस्तै, पुरुषोत्तम सुप्रभात यादवलाई सहमहामन्त्री, डा. मनोहर प्रधानलाई कोषाध्यक्ष र बसुमाया तामाङलाई सहकोषाध्यक्षको जिम्मेवारी दिइएको छ।

पार्टी प्रवक्ताको जिम्मेवारी जगदीश खरेल (ललितपुर)लाई दिइएको छ। त्यस्तै, डा. नमिता यादव र सुरेन्द्र चौधरीलाई सहप्रवक्ताको जिम्मेवारी दिइएको छ।

बैठकले पार्टी सचिवालय सदस्यसमेत तोकेको छ। सचिवालय सदस्यमा गणेश पराजुली, शिशिर खनाल, विराजभक्त श्रेष्ठ, पुरुषोत्तम सुप्रभात यादव, डा. मनोहर प्रधान, कविन्द्र बुर्लाकोटी, जगदीश खरेल (ललितपुर), लिमा अधिकारी आचार्य, दिपकराज बोहरा, समिक्षा बास्कोटा, शिव नेपाली, इन्दिरा राना मगर र मनिष झा रहेका छन्। त्यस्तै, विभिन्न केन्द्रीय विभागको जिम्मेवारीसमेत बाँडफाँड गरिएको छ।

सङ्गठन विभागको प्रमुखमा प्रमोद न्यौपाने, अन्तर्राष्ट्रिय सम्बन्ध विभागको प्रमुखमा शिशिर खनाल र सार्वजनिक सेवा तथा जनगुनासो व्यवस्थापन विभागको प्रमुखमा विजय जैरुलाई जिम्मेवारी दिइएको छ।

जनस्वास्थ्य विभागको प्रमुखमा डा. तोसिमा कार्की, पूर्वाधार विभागको प्रमुखमा निशा डाँगी र अर्थ विभागको प्रमुखमा लिमा अधिकारी आचार्यलाई जिम्मेवारी दिइएको छ। प्रशिक्षण विभागको उपप्रमुखमा कमल सुवेदीलाई जिम्मेवारी दिइएको छ।

बैठकले स्थानीय निर्वाचनका लागि विपिन कुमार आचार्यको संयोजकत्वमा तयार गरिएको उम्मेदवार छनोट रूपरेखा, २०८३ लाई केन्द्रीय समिति बैठकमा आएका सुझावसमेत समेटेर अनुमोदन गर्ने निर्णय गरेको छ।

स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समितिमा रहन इच्छुक केन्द्रीय समिति सदस्य तथा प्रतिनिधिसभा सदस्यहरूबाट नामावली माग गर्ने निर्णयसमेत बैठकले गरेको छ।

‘राइट टु रिकल’सम्बन्धी दस्ताबेज निर्माण गर्न महामन्त्री आचार्यको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गर्ने निर्णय पनि बैठकले गरेको छ।

त्यस्तै, केन्द्रीय समिति र प्रतिनिधिसभा सदस्यहरूलाई ४६० गाउँपालिकामा स्थानीय निर्वाचन उम्मेदवार छनोट रूपरेखालगायत विषयमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्न परिचालन गर्ने निर्णय भएको छ। यसको संयोजन सहमहामन्त्री निशा डाँगीले गर्नेछिन्।

रास्वपाले असोज महिनादेखि ‘स्वतन्त्र’ नामको मासिक डिजिटल पत्रिका प्रकाशन गर्ने निर्णयसमेत गरेको छ।

मधेशमा जिल्ला तथा प्रदेश अधिवेशन सुरु गर्नुअघि सङ्गठनको अडिट गर्न सहमहामन्त्री हरि ढकालको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ। समितिमा मधेशबाहेकका प्रदेशका केन्द्रीय समिति सदस्यहरू रहनेछन्।

समाचार शेयर गर्नुहोस्
86
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.