तीन वर्षीया बालिकाको बलात्कारपछि हत्यामा संलग्नलाई कडा कारबाही गर्न समावेशी मञ्चको माग

तीन वर्षीया बालिकाको बलात्कारपछि हत्यामा संलग्नलाई कडा कारबाही गर्न समावेशी मञ्चको माग

85
SHARES

काठमाडौँ – बाराको सिमरामा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न दोषीलाई कडा कारबाही गर्न समावेशी मञ्च नेपालले माग गरेको छ।

जघन्य अपराधपछि बालिकाको हत्या भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै मञ्चले दोषीलाई तत्काल कानुनको दायरामा ल्याई हदैसम्मको कारबाही गर्न सम्बन्धित निकायसमक्ष जोडदार माग गरेको छ।

नवबालिकामाथि भएको जघन्य अपराधले आफूहरूलाई अत्यन्तै मर्माहत बनाएको मञ्चले जनाएको छ। समाजलाई नै माथ खुवाउने गरी भएको यस घटनाले मानवअधिकारमाथि विश्वास गर्नेहरूको मानसपटलमा ठूलो पहिरो गएको मञ्चको भनाइ छ। सिङ्गो सभ्य समाजका लागि शिर झुकाउने यो घटनाले कानुनी राज्यमाथि नै धावा बोलेको मञ्चले उल्लेख गरेको छ।

मञ्चका कार्यकारी निर्देशक एवं नेपालमा पहिलो पटक तेस्रोलिंगी पहिचानमा नागरिकता लिने डीलु बुदुजा (बद्री पुन)ले प्रेस विज्ञप्ति जारी गर्दै परिवर्तित युगमाथि नै यस घटनाले उल्टो सन्देश प्रवाह गर्नुका साथै ठूलो प्रश्न र चुनौती खडा गरेको बताएका छन्।

‘एउटा बोली पनि राम्रोसँग फुट्न नपाउँदै, एउटा गुप्तांगको कारण, एउटा पुरुषको ऐच्छिक इच्छा पूरा गर्ने निमित्त एउटा अबोध बालिकाले ज्यान गुमाउनुपर्ने? यो विषय गम्भीर छ,’ उनले भनेका छन्।

भरखर मात्र तीन वर्ष उमेर पूरा गरी चार वर्षमा लाग्दै गर्दा बलात्कारजस्ता जघन्य अपराधको सिकार हुनु भनेको उनको केवल शारीरिक वा मानसिक सुरक्षामाथिको अपराध मात्र नभएको मञ्चले जनाएको छ। यो बालिकाको बाल्यकाल र स्वतन्त्र रूपमा हुर्कन, बढ्न, खेल्न, मानसिक विकास हुन, स्वस्थ रहन र पढ्न पाउने अधिकारमाथिको गम्भीर आक्रमण भएको मञ्चले उल्लेख गरेको छ।

यस्तो घटना हुनु सरकारका लागि पनि लज्जाको विषय भएको मञ्चले जनाएको छ। अब सचेत नागरिक यस्ता चुनौतीपूर्ण हिंसाको अन्त्य गर्न लागिपर्नुपर्ने बेला आएको मञ्चको भनाइ छ। ‘यस दुःखद घटनाको जति निन्दा गरे पनि कमै हुन्छ,’ मञ्चले भनेको छ।

मञ्चले सरकारले विद्यमान कानुन पूर्ण नभएको अवस्थामा फास्टट्रयाकबाट कानुन संशोधन गरी अपराधीलाई हदैसम्मको कारबाही गर्नुपर्ने माग गरेको छ।

‘अब सरकारले भएको पुरानो कानून पूर्ण छैन भने फास्टट्रयाकबाट कानून संशोधन गरी अपराधीलाई हदैसम्मको कारबाही गरोस्। हाम्रो जोडदार माग यही हो,’ मञ्चले भनेको छ।

पीडित बालिकाको न्यायका लागि न्यायिक लडाइँ तथा सङ्घर्षमा समावेशी मञ्च नेपाल सधैँ एकबद्धता राख्ने जनाएको छ। आज मानवता र शिक्षाको गतिले फट्को मार्दै गरेको वैज्ञानिक युगको एउटा देश नेपालमा शब्दमा पनि उच्चारण गर्न लायक नभएको यस दुःखद घटनाले सबैलाई मर्माहत बनाएको मञ्चले जनाएको छ।

पीडित तथा मृतकको परिवारमा पर्न गएको बज्रपातप्रति गहिरो दुःख व्यक्त गर्दै मञ्चले मृतक गरिमा चौधरीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ। साथै, घटनाको चौतर्फी विरोध भइरहेका बेला दोषीलाई कुनै पनि बहानामा उन्मुक्ति नदिई निष्पक्ष अनुसन्धानमार्फत कानुनी कठघरामा उभ्याएर कडा कारबाही गर्नुपर्ने मागसमेत गरेको छ।

समाचार शेयर गर्नुहोस्
85
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.