कबिता

अब यसको जिम्मेवारी हामी सबैले लिनुपर्छ…

अब यसको जिम्मेवारी हामी सबैले लिनुपर्छ…

95
SHARES

नाबालक छोरीहरू बलात्कार हुन्छन्,

यो केवल एउटा अपराधको समाचार होइन,

यो त हाम्रो विवेकमाथि उठेको प्रश्न हो,

ती साना आँखाहरूमा

अझै संसार चिन्न बाँकी थियो,

आकाशको नीलोपानामा

सुनौलो सपनाहरू लेख्ने पर्खाइमा थियो,

तर उनीहरूको बाल्यकाल

कुनै ज्ञानै नभएको अबोधपनामा

वासनाको आगोले किन जल्यो?

उनीहरूलाई

ठूला सडकको चाहना थिएन,

सुरक्षित बाटो चाहिएको थियो,

अग्ला भवन र चिल्ला गाडीको सपना होइन,

विश्वास गर्न सकिने व्यवस्था आवश्यक थियो,

कानुनका पानाहरू होइन,

कानुनको निर्भीक कार्यान्वयन चाहिएको थियो,

यसैले हजुर,

छोरीलाई साँझ घर फर्कँदा

“सुरक्षित आइपुग्यौ?” भनेर

आमाले काँपेको स्वरमा सोध्नुपर्ने देश होइन,

निर्भय भएर हिँड्न सक्ने देश चाहिएको थियो। ।

किनकि सुरक्षा भनेको

सडकमा झिलिमिली बत्ती बाल्नु मात्र होइन;

सुरक्षा भनेको

अपराधीको मनमा कानुनको भय

र छोरीको मनमा राज्यप्रतिको विश्वास जन्माउनु हो।

जब तीन वर्षे नाबालिका छोरीमाथि

बलात्कार हुन्छ, हिंसा हुन्छ,

त्यहाँ एउटा परिवार मात्र रोइरहेको हुँदैन,

समाजको आत्मा रोइरहेको हुन्छ।

उनको चुँडिएको जीवनमा

हाम्रो सभ्यताको ऐना फुट्छ,

उनको ऐया.. ऐयाको.. रोदनमा

हाम्रो न्यायको तराजु कसरी बोल्छ?

त्यसैले हजुर,

दोषीलाई शक्ति र पहुँचले न छोपौँ,

पीडितलाई प्रश्न र लाञ्छनाले नथिचौँ।

न्यायलाई ढिलो नगरौँ,

किनकि ढिलो भएको न्यायले

कहिलेकाहीँ घाउमा

अर्को घाउ थपिदिन्छ।

हामीलाई यस्तो राष्ट्र चाहिन्छ

जहाँ छोरीले आफ्नो पोसाक होइन,

आफ्नो सपना सोचेर बाटो हिँडोस्,

जहाँ उसको पाइला डरले होइन,

आत्मविश्वासले अघि बढोस्।

हामीलाई यस्तो समाज चाहिन्छ

जहाँ छोरी जन्मिँदा

आमाको मनमा प्रश्न नउठोस्,

“यो संसारमा ऊ सुरक्षित होली ?”

बरु गर्वका साथ भन्न सकियोस्

“यो देश तिम्रो पनि हो।

तिम्रो आवाज सुन्नेछ,

तिम्रो अस्तित्व जोगाउनेछ,

र तिम्रो सपनाको पहरेदार बन्नेछ।”

अब छोरीहरूलाई

केवल भाषणमा सुरक्षा न दिऊँ,

सुरक्षित वातावरण दिऊँ ।

कागजमा मात्र न्याय नलेखूँ

व्यवहारमा उतारौँ ।

किनकि

राष्ट्रको वास्तविक विकास

अग्ला भवनले होइन,

छोरीहरू कति निर्भय भएर

आकाशतिर हेर्न सक्छन्,

त्यसले मापन हुन्छ।

र याद राखौँ,

एउटी नाबालक छोरीको बलात्कार

केवल एउटा घरको आँसु होइन;

त्यो सम्पूर्ण सभ्यताको

अन्तरात्मा माथिको प्रश्न हो।

अब त्यो प्रश्नको उत्तर

आत्मसाक्षी राखी दिनुपर्छ

न्याय, सुरक्षा र जिम्मेवारी

हामी सबैले लिनुपर्छ!

समाचार शेयर गर्नुहोस्
95
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.