सर्लाही – हरिवन नगरपालिका–५ स्थित द्वन्द्वपीडित बालगृहमा यस वर्षको तीज पर्व उल्लास, आत्मीयता र सामाजिक सद्भावको सन्देशसहित मनाइएको छ। चेतना सन्देश नेपालको आयोजनामा बालगृहको प्राङ्गणमा आयोजित तीज विशेष कार्यक्रममा बालबालिकादेखि महिला तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो।
आरती लामाको अध्यक्षता तथा मधेस प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री बेची लुङ्गेलीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा लुङ्गेलीले तीज पर्व महिलाले मनाउने परम्परागत पर्वका रूपमा सीमित नरही अब महिला सशक्तीकरण, अधिकार र सामाजिक चेतना अभिवृद्धिको अवसर बन्नुपर्ने बताइन।
उनले पछिल्लो समय समाजमा महिलामाथि हुने हिंसा तथा विभेदका घटनाले गम्भीर प्रश्न उठाइरहेको भन्दै छोरी तथा महिलाले आफ्नो अधिकार अनुसार स्वतन्त्र रूपमा हिँड्न, बाँच्न र आफ्नो भविष्य निर्माण गर्न पाउने वातावरण सुनिश्चित गर्न राज्य र समाज दुवै गम्भीर हुनुपर्नेमा जोड दिइन्।

हालै बारा जिल्लामा भएको घटनाको प्रसङ्ग उल्लेख गर्दै लुङ्गेलीले महिला तथा बालिकाको सुरक्षाका विषयमा राज्यलाई निरन्तर खबरदारी गर्नुपर्ने बताइन्। “छोरीहरू डराएर होइन, अधिकारसहित स्वतन्त्र भएर बाँच्न पाउने समाज निर्माण गर्नुपर्छ,” उनको भनाइ थियो।
लुङ्गेलीले पछिल्लो समय धर्मका नाममा मधेसमा देखिएका विवाद तथा द्वन्द्वले सामाजिक सद्भावमा असर पार्न सक्ने भन्दै तीजजस्ता सांस्कृतिक पर्व र सामूहिक कार्यक्रमले आपसी भाइचारा, प्रेम र सद्भावलाई अझ मजबुत बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताइन।
बालगृहका बालबालिकासँग तीजको खुसी

द्वन्द्वका कारण अभिभावक तथा पारिवारिक संरक्षणबाट वञ्चित बालबालिकासँग तीजको खुसी साट्नु कार्यक्रमको मुख्य आकर्षण बनेको थियो। बालगृहमा रहेका करिब ३० जना बालबालिकालाई पर्वको अवसरमा सांस्कृतिक कार्यक्रम, नाचगान तथा सामूहिक सहभागितामार्फत तीजको खुसीमा सहभागी गराइएको थियो।
पर्वहरू केवल रमाइलो र मनोरञ्जनका अवसर मात्र नभई संरक्षणको आवश्यकता रहेका बालबालिकालाई परिवार, समाज र अपनत्वको अनुभूति दिलाउने माध्यमसमेत बन्नुपर्ने आयोजक बालगृहका अध्यक्ष सुरेन्द्र लामाले बताए।
बालगृहमा रहेका बालबालिकाका लागि यस्ता कार्यक्रमले उनीहरूको मनोबल बढाउनुका साथै आफूहरू समाजबाट अलग नभएको अनुभूति गराउने आयोजक चेतना सन्देश नेपालले जनाएको छ।
तीन महिला तथा किशोरी सम्मानित

कार्यक्रमकै अवसरमा सर्लाहीबाट विभिन्न क्षेत्रमा आफ्नो पहिचान बनाउन सफल तीन महिला तथा किशोरीलाई कदरपत्रसहित सम्मान गरिएको छ। सम्मानित हुनेमा मिस नेपाल–२०२६ मा सहभागी अर्बिसा थापा, मिस सर्लाही–२०२६ सितास्मा माझी तथा ‘अनलाइन खबर २०२४ का ४० मुनिका महिला उद्यमी’को सूचीमा परेकी निर्मला कुमारी महतो रहेका छन्।
महिला तथा किशोरीको प्रतिभा, क्षमता र योगदानलाई प्रोत्साहन गर्ने उद्देश्यले उनीहरूलाई सम्मान गरिएको कार्यक्रम संयोजक आरती लामाले बताइन्। लामाका अनुसार बालगृहमा रहेका बालबालिकालाई समाजको मूलधारसँग जोड्दै उनीहरूको खुसीमा साथ दिने र समाजमा सकारात्मक योगदान पुर्याइरहेका महिला तथा किशोरीलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिइन।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.