सरकारप्रति सत्तारुढ दलमै चिन्ता, प्रतिपक्षमा अधिनायकवादको डर

सरकारप्रति सत्तारुढ दलमै चिन्ता, प्रतिपक्षमा अधिनायकवादको डर

सरकारमाथि आफ्ना कामकारबाही सच्याउनुपर्ने दबाब

76
SHARES

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहका पछिल्ला गतिविधिका कारण लोकतन्त्र धरापमा पर्ने आशङ्का व्यक्त हुन थालेको छ। सत्तारुढ र प्रतिपक्षी दलका नेताहरूले लोकतन्त्र धरापमा परेको, अधिनायकवादको शङ्का उत्पन्न भएको र देश सङ्कटमा गएको अभिव्यक्ति दिएका छन्।

देशमा निराशा आउन सक्ने तथा सङ्कट देखिएको दाबीसमेत राजनीतिक नेतृत्वबाट व्यक्त भएका छन्। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले लोकतान्त्रिक संस्थाहरूप्रति डर पैदा हुने गतिविधिप्रति सचेत गराएका छन्।

प्रधानमन्त्री शाहको नामै नलिई सभापति लामिछानेले पार्टीका नेताहरूलाई लोकतान्त्रिक संस्थाहरूलाई गिजोल्ने काम गर्न नहुने भन्दै सचेत रहन भनेका छन्।

सभापति लामिछानेले पार्टीभित्रका नेताहरूलाई सम्झाएका छन्। उनले आफ्नो अभिव्यक्तिलाई असन्तुष्टिका रूपमा नबुझ्न आग्रह गर्दै आफू चिन्तित भने बनेको उल्लेख गरेका छन्।

सरकार गठन भएको पाँच महिना नपुग्दै लोकतान्त्रिक संस्थाहरूलाई गिजोल्ने र जिस्क्याउने काम भइरहेको भन्दै वालेन्द्र सरकारको आलोचना बढेको छ। प्रधानमन्त्री शाहका क्रियाकलापले विपक्षी दलहरू त्रसित देखिएका छन्। प्रधानमन्त्री शाहको कार्यशैलीबाट अधिनायकवादको गन्ध आएको विपक्षी दलले आरोपसमेत लगाएका छन्।

प्रतिपक्षी नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले सत्तारुढ दल रास्वपाकै नीति र मान्यताविपरीत प्रधानमन्त्री शाह बेलगाम ढङ्गले अघि बढिरहेको आरोप लगाए। उनले जुनसुकै बेला देशमा अधिनायकवाद लागू हुन सक्ने बताए।

प्रधानमन्त्री शाहलाई भने कसैको कुरा सुन्नु नपरेको जस्तो देखिएको छ। आफूले पनि बोल्नु परेको छैन। देशमा दिनहुँ जसो हुन थालेका हत्या र हिंसाका घटनाले नागरिकसमेत त्रासमा बाँच्नुपर्ने अवस्था बनेको छ।

तर, प्रधानमन्त्री शाह विपक्षी दलका आरोपसँगै नागरिकको चिन्ताप्रति समेत बेखबर जस्तै देखिएका छन्। बाराको सिमरामा बलात्कारपछि हत्या भएकी तीन वर्षीया बालिकाको परिवारसँग सरकारले सहमति गरेको २४ घण्टा नबित्दै सप्तरीमा अर्की दुई वर्षीया बालिकाको हत्या भएको छ।

लगातार भइरहेका यस्ता घटनाले नागरिकमा अशान्ति र असुरक्षाको अनुभूति बढ्न थालेको छ। प्रधानमन्त्री शाह भने दुई दिने छुट्टी मनाउन मुस्ताङ पुगे। निजी भ्रमणमा मुस्ताङ पुगेका प्रधानमन्त्री शाह आइतबार बिहान मुक्तिनाथ मन्दिरको दर्शन गरेर फर्किएका मुस्ताङकी प्रमुख जिल्ला अधिकारी अजिता शर्माले जानकारी दिइन्।

देशको नेतृत्व गरेका प्रधानमन्त्री शाह हत्या, हिंसा र नागरिकले भोग्दै आएको सास्तीप्रति बेखबर बनेको देखिएको छ। एकातिर प्रधानमन्त्रीको कार्यशैलीमा अधिनायकवादको शङ्का व्यक्त भइरहेको छ भने अर्कोतिर देश सङ्कटमा परेको दाबीसमेत राजनीतिक नेतृत्वबाट भइरहेको छ।

१० वर्ष जनयुद्ध लडेको तत्कालीन माओवादी र हाल नेपाली कम्युनिष्ट पार्टीका संयोजक रहेका पुष्पकमल दाहाल प्रचण्डले देशमा सङ्कट देखिएको उल्लेख गरेका छन्। सुगौली सन्धिपछि पहिलो पटक सङ्कट देखिएको प्रचण्डले दाबी सुनाए।

प्रतिपक्षी दलहरूले झन्डै दुई तिहाइ बहुमतको सत्तारुढ दललाई बलियो देखेका छन्। तर, सत्तारुढ दल रास्वपाले भने विपक्षी दलहरूलाई नै बलियो देखेको छ। सरकारले जनताको आशा पूरा गर्न नसके देश निराशातर्फ जाने चिन्ता स्वयं रास्वपा सभापति लामिछानेले व्यक्त गरे।

सभापति लामिछानेले निराशा आउन नदिन सरकारसँग निरन्तर छलफलमा रहेको बताए। सरकारका कामकारबाहीबारे आम नागरिकले उठाएका प्रश्नको जवाफ लिएर जनतामाझ जानसमेत उनले पार्टीका नेताहरूलाई निर्देशन दिए। सरकारलाई पार्टीले जिम्मेवार बनाएको भन्दै उनले सरकारको बचाउ र जिम्मेवारीबोध दुवै देखाउने प्रयास गरे।

सरकारका कामकारबाहीले जनतामा आशा जगाउन नसकेको स्वयं सत्तारुढ दलले नै स्वीकार गरेको छ। सरकारको कार्यशैलीप्रति प्रतिपक्षी दलहरूले पनि प्रश्न उठाउँदै यसले देशमा सङ्कट निम्त्याउन सक्ने चेतावनी दिएका छन्। संविधान र कानुन मिचेर लोकतान्त्रिक संस्थाहरूलाई कमजोर बनाउने प्रयास हुन थालेको आशङ्का सत्तारुढ र प्रतिपक्षी दुवै पक्षमा देखिन थालेको छ।

सत्तारुढ दलभित्रै सरकारका कामप्रति चिन्ता र निराशाको सङ्केत देखिनु तथा प्रतिपक्षी दलबाट अधिनायकवाददेखि सङ्कटसम्मका प्रश्न उठ्नुले सरकारमाथि आफ्ना कामकारबाही सच्याउनुपर्ने दबाब बढाएको छ।

समाचार शेयर गर्नुहोस्
76
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.