कालीकोट -खाँडाचक्र नगरपालिका–५ का वडाध्यक्ष देउराम विश्वकर्माले दलित तथा विपन्न बालबालिकाको शिक्षामा नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घ र सेभ द चिल्ड्रेनको साझेदारीमा सञ्चालित नेपाल छात्रवृत्ति कार्यक्रमले महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको बताएका छन्।
वडाका विपन्न, गरिब तथा शिक्षामार्फत भविष्य निर्माण गर्न सक्ने सम्भावना बोकेका दलित बालबालिकालाई लक्षित गरी सङ्घले २०७० सालदेखि छात्रवृत्ति कार्यक्रममार्फत निरन्तर काम गर्दै आएको उनले जानकारी दिए। आफू पनि यही समुदायबाट प्रतिनिधित्व गर्दै आएको उल्लेख गर्दै उनले सङ्घसँग निरन्तर समन्वय र सहकार्य हुँदै आएको उल्लेख गरे।
दलित तथा विपन्न बालबालिकाको शैक्षिक सुधारका लागि स्थानीय सरकारले आफ्नो दायित्व र जिम्मेवारीलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै वडाध्यक्ष विश्वकर्माले नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घ जिल्ला शाखा कालीकोटसँग विगतदेखि हुँदै आएको सहकार्यलाई आगामी दिनमा अझ सुदृढ बनाउँदै लैजाने बताए।
नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घ केन्द्रीय कार्यालय र सेभ द चिल्ड्रेनको साझेदारीमा सञ्चालित नेपाल छात्रवृत्ति कार्यक्रम विस्तार गर्ने उद्देश्यले कालीकोटको खाँडाचक्र नगरपालिका–५, मटेला बस्तीमा भएको कार्यक्रममा चुलिमालिका माध्यमिक विद्यालय घोडेनाका विद्यालय व्यवस्थापन समिति अध्यक्ष भक्तबहादुर शाहीले विपन्न तथा दलित बालबालिकाको शैक्षिक भविष्य निर्माणमा नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घले महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए।
विद्यालयका विभिन्न गतिविधिमा समन्वय र सहकार्य गर्दै आएको उल्लेख गर्दै शाहीले दलित बालबालिकाको शैक्षिक सुधारका लागि सङ्घले गरिरहेको कामप्रति आफू आभारी रहेको बताए।
उनले विद्यालयमा सञ्चालन हुने सम्पूर्ण शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा दलित बालबालिकालाई समान अवसर प्रदान गर्दै उनीहरूको क्षमता विकास र शैक्षिक गुणस्तर अभिवृद्धिमा विद्यालय परिवार जिम्मेवार भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे। साथै सङ्घसँगको सहकार्यलाई आगामी दिनमा अझ व्यवहारिक र प्रभावकारी बनाउँदै दलित बालबालिकाको शैक्षिक सुधारमा निरन्तर भूमिका निर्वाह गर्ने उनको भनाइ थियो।

कार्यक्रममा स्थानीय तहको शिक्षा नीति तथा छात्रवृत्ति नीति, दलित बालबालिकाको शैक्षिक अवसर र पहुँच विस्तार, नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घ तथा सरकारी विद्यालयबाट उपलब्ध हुँदै आएका छात्रवृत्तिको पारदर्शिता र प्रभावकारिता, अभिभावक, शिक्षक, विद्यार्थी, विद्यालय व्यवस्थापन समिति तथा स्थानीय शैक्षिक सरोकारवालाको दायित्व र जिम्मेवारीलगायतका विषयमा गहन छलफल तथा अन्तरक्रिया गरिएको थियो।
त्यसैगरी बालबालिकाको चौतर्फी विकासका लागि विद्यालय र घरमा आवश्यक उपयुक्त वातावरण निर्माण, व्यक्तिगत अनुशासन, सरसफाइ, विद्यालयमा नियमित उपस्थिति तथा निरन्तरता र बालबालिकाको शैक्षिक भविष्य निर्माणमा अभिभावक तथा विद्यालयको भूमिकाबारे समेत सहभागीहरूले आफ्ना धारणा राखेका थिए।
अन्तरक्रियामा विद्यार्थी, अभिभावक तथा विभिन्न शैक्षिक सरोकारवालाले आफ्ना दैनिक अनुभव, भोग्दै आएका समस्या तथा सम्भावित समाधानका उपायहरू प्रस्तुत गरेका थिए।
दलित बालबालिकाले शिक्षा क्षेत्रमा भोगिरहेका समस्या, विद्यालयमा नियमितता, अभिभावकको भूमिका, छात्रवृत्तिको प्रभावकारी उपयोग, शैक्षिक वातावरण तथा बालबालिकाको समग्र विकासका विषयमा सहभागीहरूबीच खुला छलफल भएको थियो।
छलफलबाट आगामी दिनमा सुधारका लागि के–कसरी अगाडि बढ्ने भन्ने विषयमा सरोकारवालाहरूको राय, सुझाव, सल्लाह तथा प्रतिबद्धता समेटेर संयुक्त कार्ययोजना समेत निर्माण गरिएको छ।
कार्यक्रममा नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घ कालीकोटका जिल्ला कार्यक्रम अधिकृत गोरख नेपालीले दलित, विपन्न तथा गरिब परिवारका बालबालिकाको शैक्षिक अवस्था सुधार गर्न स्थानीय सरकार, विद्यालय, अभिभावक, शिक्षक, विद्यार्थी तथा सम्पूर्ण शैक्षिक सरोकारवालाबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको बताए।
उनले छात्रवृत्ति प्रदान गर्नु मात्र पर्याप्त नभई त्यसको प्रभावकारी उपयोग, बालबालिकाको विद्यालयमा निरन्तरता, अभिभावकीय निगरानी, विद्यालयको जिम्मेवारी र स्थानीय सरकारको नीतिगत तथा व्यवहारिक सहयोगसमेत आवश्यक रहेको धारणा राखे।
स्थानीय तह र शैक्षिक सरोकारवालाको अर्थपूर्ण उपस्थितिमा अत्यन्त आवश्यक विषयमा गहन छलफल हुन सकेकोमा खुसी व्यक्त गर्दै नेपालीले अन्तरक्रियाबाट प्राप्त सुझाव तथा प्रतिबद्धतालाई व्यवहारमा कार्यान्वयन गर्न सके आगामी दिनमा दलित बालबालिकाको शैक्षिक अवस्थामा थप सुधार आउने विश्वास व्यक्त गरे।
कार्यक्रमले दलित तथा विपन्न बालबालिकाको शिक्षामा पहुँच बढाउने मात्र नभई छात्रवृत्तिको प्रभावकारिता, विद्यालयको जबाफदेहिता, अभिभावकीय जिम्मेवारी र स्थानीय सरकारको भूमिकालाई थप स्पष्ट पार्दै आगामी शैक्षिक सुधारका लागि साझा प्रतिबद्धता निर्माण गरेको सहभागीहरूले बताए।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.