वालेनको मुस्ताङ भ्रमणले तनाव दिने सङ्केत

वालेनको मुस्ताङ भ्रमणले तनाव दिने सङ्केत

56
SHARES

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहको मुस्ताङ भ्रमण रहस्यमय बनेको छ। प्रधानमन्त्री वालेनको निजी भनिएको मुस्ताङ भ्रमणका क्रममा अमेरिकी दूतसँग भेट गरेर त्यसलाई गुपचुप राखेको आरोप लागेको छ।

विदेशीहरूको भिडभाड लाग्ने मुस्ताङमा वालेन शनिवार पुगेका थिए। सरकारी छुट्टी मनाउन मुस्ताङ गएका वालेनले अमेरिकी अधिकारीसँग गोप्य रूपमा भेट गरेको आरोप सार्वजनिक भएपछि कूटनीतिक वृत्तमा समेत तरङ्ग फैलिएको छ।

प्रधानमन्त्रीको निजी भ्रमणका क्रममा विदेशी कूटनीतिक प्रतिनिधिसँग भेट भएको भए त्यसको प्रकृति, उद्देश्य र त्यसबारे राज्यका सम्बन्धित निकायलाई जानकारी दिइएको वा नदिइएको विषयसमेत स्पष्ट हुनुपर्ने भन्दै कूटनीतिक कच्चापनमाथि प्रश्न उठ्न थालेको छ।

अमेरिकी अधिकारीसँग मुस्ताङमा भेट भएको विषय प्रतिनिधिसभामा समेत उठेको छ। प्रतिनिधिसभाको सोमबारको बैठकमा नेपाली कांग्रेसका सांसद खड्गबहादुर शाहीले अमेरिकी अधिकारीसँग भेट गरेको विषय स्पष्ट पार्न प्रधानमन्त्री वालेनको ध्यानाकर्षण गराए।

प्रधानमन्त्री वालेन आइतबार मुक्तिनाथ मन्दिरको दर्शन गरेर काठमाडौँ फर्किएका थिए। ‘प्रधानमन्त्री आउनुभयो, मन्दिरमा दर्शन गरेर फर्कनुभयो,’ मुस्ताङकी प्रमुख जिल्ला अधिकारी अजिता शर्माले भनिन्। भेटवार्ता भएकोबारे जानकारी नरहेको बताउँदै प्रमुख जिल्ला अधिकारी शर्माले यो प्रधानमन्त्रीको निजी भ्रमण मात्रै भएको जवाफ दिइन्।

मुस्ताङ धार्मिक पर्यटक आकर्षित गर्ने ठाउँका रूपमा परिचित छ, जहाँ मुक्तिनाथको दर्शन गर्न देश–विदेशका नागरिक लर्को लागेर पुग्ने गर्छन्। तर, कतिपयले मुस्ताङलाई विदेशीहरूको चलखेल गर्ने थलोका रूपमा समेत लिने गरेका छन्।

त्यही मुस्ताङमा प्रधानमन्त्रीको निजी भ्रमणका क्रममा विदेशी अधिकारीसँग भेट भएको आरोप लागेपछि यो विषयले कूटनीतिक चासोसमेत बढाएको छ। संसदमा अमेरिकी अधिकारीको नामै लिएर भेट भएको र त्यसको जानकारी दिनुपर्ने माग भएको छ।

प्रधानमन्त्रीजस्तो उच्च संवैधानिक पदमा रहेका व्यक्तिले विदेशी कूटनीतिक प्रतिनिधिसँग भेट गरेको हो भने त्यसलाई पूर्ण रूपमा निजी गतिविधि मात्र मान्न मिल्छ कि मिल्दैन भन्ने प्रश्नसमेत उठेको छ।

प्रधानमन्त्री वालेनको निजी भ्रमणमा विदेशी अधिकारीहरूसँग भेट भएको विषय धेरैलाई थाहा भए पनि बोल्न नसकिरहेको सांसद खड्ग शाहीले बताए।

श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले प्रधानमन्त्री शाहको मुस्ताङ भ्रमणबारे जानकारी माग गरेका छन्। प्रधानमन्त्री पदमा रहेपछि निजी जीवन नहुने उनले बताए। राजनीतिक तथा कूटनीतिक गतिविधि गोप्य राख्न मिल्छ कि मिल्दैन भन्ने प्रश्न उनले उठाएका छन्।

‘मन्त्रिपरिषद् र संसद्लाई समेत सूचना नदिई जानुभएको हो? के खान जानुभएको हो? मुस्ताङमा स्याउ पनि फलेको छैन होला अहिले। के चाख्न जानुभएको हो, यो कुरा पनि उहाँले भन्नुपर्छ, सदनमा जवाफ दिनुपर्छ,’ राईले भने।

प्रधानमन्त्री वालेनले पनि मुस्ताङ भ्रमणबारे केही बोलेका छैनन्। सामाजिक सञ्जालमा समेत केही लेखेका छैनन् भने तस्बिर पनि पोस्ट गरेका छैनन्। निजी भनिएको भ्रमणले वालेनलाई पुनः तनाव दिने देखिएको छ।

प्रधानमन्त्रीको पदमा पुगेपछि व्यक्तिगत भ्रमणसमेत राज्यको उच्च पदसँग जोडिएर हेरिने भएकाले मुस्ताङ भ्रमणमा भएको भनिएको भेटवार्ताको चासो बढेको छ। जेनजी आन्दोलनको बलमा उदाएका वालेन प्रधानमन्त्री भएको पाँच महिना पुग्न लागेको छ। तर, उनका गतिविधि पछिल्ला दिनमा शङ्कास्पद बन्दै गएको टिप्पणी हुँदै आएका छन्।

गत जेठ १७ गते संसदमा नेपालले पनि भारतको सीमा मिचेको अभिव्यक्ति दिएयता देशको कूटनीतिमा कच्चापन देखिएको टिप्पणी भएका छन्। विदेशी कूटनीतिक प्रतिनिधिसँग भेट भएको हो भने त्यसको प्रकृति, उद्देश्य र जानकारीको दायरा स्पष्ट पार्नुपर्ने माग उठेको छ। यसअघि नै प्रधानमन्त्रीका सार्वजनिक अभिव्यक्तिलाई लिएर कूटनीतिक संवेदनशीलता र परिपक्वतामाथि प्रश्न उठिरहेका बेला मुस्ताङमा विदेशी अधिकारीसँग भएको भनिएको भेटले त्यस्ता प्रश्नलाई थप बल दिएको छ।

प्रधानमन्त्री वालेनले बुधवार भदौ १० गते सांसदहरूसँग प्रत्यक्ष प्रश्नोत्तर गर्दैछन्, जहाँ यो प्रश्नको जवाफ कसरी दिनेछन्, त्यो भने हेर्न बाँकी नै छ।

समाचार शेयर गर्नुहोस्
56
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.