संसदमा वालेनको पहिलो प्रत्यक्ष प्रश्नोत्तर, पूरक प्रश्न सोध्न नपाइने

संसदमा वालेनको पहिलो प्रत्यक्ष प्रश्नोत्तर, पूरक प्रश्न सोध्न नपाइने

10
SHARES
फाइल तस्बिर

काठमाडौँ – प्रतिनिधिसभाको बुधवार बस्ने बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुँदैछ। संसदमा उपस्थित हुन अटेर गर्दै आएका प्रधानमन्त्री वालेन्द्र शाहले प्रतिनिधिसभाको नयाँ नियमावली लागू भएपछि पहिलो पटक औपचारिक रूपमा सांसदका प्रत्यक्ष प्रश्नको सामना गर्न लागेका हुन्। बैठकमा प्रधानमन्त्री शाहलाई ११ जना सांसदले प्रश्न सोध्ने तय भएको छ।

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू समीक्षा बास्कोटा, कृष्णहरि बुढाथोकी र अमरेशकुमार सिंहले प्रश्न सोध्नेछन्। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापा र सांसद गीता गुरुङ, नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महर र सांसद गणेश सिंह ठगुन्नाले प्रश्न सोध्ने गरी नाम टिपाएका छन्।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद वर्षमान पुन र प्रमेशकुमार हमाल, श्रम संस्कृति पार्टी संसदीय दल नेता हर्कराज राई र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले पनि प्रश्न सोध्नेछन्।

प्रश्न सोध्ने सांसदहरूले सोध्न चाहेको प्रश्न संसद् सचिवालयमा दर्ता गरिसकेको सङ्घीय संसद् सचिवालयका सहायक प्रवक्ता अनन्तप्रसाद कोइरालाले जानकारी दिए।

प्रतिनिधिसभाको नयाँ नियमावली लागू भएपछि पहिलो पटक प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर हुन लागेको हो। सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तरका लागि भदौ १ गतेको बैठकमा समय तोकेका थिए।

प्रधानमन्त्रीलाई सोध्नका लागि टिपाएका प्रश्नबाहेक पूरक प्रश्न सोध्ने, स्पष्टीकरण माग्ने तथा छलफल गर्ने भने हुँदैन। प्रधानमन्त्रीले पनि लिखित जवाफ नै रोष्ट्रमबाट दिने सहायक प्रवक्ता कोइरालाले बताए।

प्रधानमन्त्री शाहले यसअघि आकस्मिक रूपमा सभामुखसँग समय मागेर सांसदहरूलाई प्रश्न सोध्न भनेका थिए। गत जेठ १७ गते प्रधानमन्त्री शाहलाई सांसदहरूले पूरक प्रश्न पनि गरेका थिए। जुन प्रतिनिधिसभा नियमावलीमा भएको प्रत्यक्ष प्रश्नोत्तरभन्दा फरक थियो।

प्रधानमन्त्री शाहले सीमा सम्बन्धी दिएको जवाफ अहिले पनि विवादित छ। नयाँ प्रतिनिधिसभा नियमावलीको परिच्छेद ९ मा रहेको व्यवस्था पहिलो पटक औपचारिक रूपमा कार्यान्वयन हुन लागेको सहायक प्रवक्ता कोइरालाले बताए।

प्रधानमन्त्री शाहलाई राष्ट्रियताको सन्दर्भ, सिमाना सम्बन्धी विषय तथा सरकारको कामकारबाहीबारे सांसदहरूले प्रश्न सोध्ने छन्। प्रधानमन्त्री शाहले पनि लिखित जवाफ दिनेछन्।

प्रधानमन्त्री शाहले जवाफ दिँदा कालो चस्मा लगाउन चिकित्सकको रिपोर्ट सङ्घीय संसद् सचिवालयमा पठाइसकेका छन्। उनले रोष्ट्रमबाट कालो चस्मा लगाएर सांसदहरूको प्रश्नको जवाफ दिने तयारी गरेका हुन्।

प्रधानमन्त्री शाहले कालो चस्मा लगाउनुपर्ने स्वास्थ्य परीक्षण रिपोर्टसहितको पत्र सङ्घीय संसद् सचिवालयमा पठाउनुभएको सहायक प्रवक्ता कोइरालाले बताए।

प्रधानमन्त्री शाहलाई संसदमा उपस्थित गराउन सांसदहरूले पटक–पटक सभामुखसमक्ष रुलिङ गर्न माग गर्दै आएका थिए। सभामुख अर्यालले पनि भदौ १ गतेको बैठकमा प्रधानमन्त्रीलाई संसदमा उपस्थित भएर सांसदहरूका प्रश्नको जवाफ दिन रुलिङ गरेका थिए।

सभामुख अर्यालले भदौ १ गतेकै बैठकमा प्रत्यक्ष प्रश्नोत्तरको दिन पनि तोकेका थिए। प्रधानमन्त्रीमा नियुक्त भएको पाँच महिना पुग्नै लाग्दा शाहले सांसदहरूका प्रश्नको जवाफ दिन लागेका हुन्। प्रतिनिधिसभाको नयाँ नियमावलीमा रहेको प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तरको व्यवस्था पनि पहिलो पटक नै कार्यान्वयन हुँदैछ।

समाचार शेयर गर्नुहोस्
10
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.