काठमाडौँ – रसुवाको स्याफ्रुबेँसी र टिमुरेलगायतका क्षेत्रमा आज बिहान अकस्मात् गएको बाढीले राष्ट्रिय सङ्कट निम्त्याएको छ। बाढीमा फसेका नागरिकको उद्धारमा सम्पूर्ण संयन्त्र परिचालन भएको छ।
सरकार, राजनीतिक दल, नागरिक समाज, विभिन्न संघसंस्थाहरूको ध्यान तत्काल विपद् व्यवस्थापनतर्फ केन्द्रित भएको छ। बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी बल, जनपथ प्रहरीको उद्धार तथा विपद् व्यवस्थापन टोली परिचालन भएको छ।
सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार बिहान करिब ९ बजे अचानक आएको बाढीले टिमुरे, स्याफ्रुबेँसीलगायतका क्षेत्रदेखि खोला तटीय क्षेत्रमा क्षति पुर्याएको छ। बाढीका कारण प्रभावितहरूको उद्धारका क्रममा नेपाली सेनाका ७ तथा निजी क्षेत्रका ८ गरी जम्मा १५ वटा हेलिकप्टरद्वारा उद्धार कार्य भएको नेपाली सेनाले जनाएको छ।
हालसम्म नेपाली सेनाका हवाई साधनमार्फत ९७ जनाको उद्धार गरिएको छ। वीरेन्द्र अस्पतालबाट खटिएको मेडिकल टिमले त्रिशूलीस्थित नं. १ सैन्य तालिम केन्द्रमा घाइतेहरूको आपत्कालीन उपचार गरिरहेको नेपाली सेनाले जनाएको छ।
रातको समय भएकाले हेलिकप्टरबाट उद्धारको कार्य रोकिएको छ। स्थलमार्गबाट भने खोज तथा उद्धार कार्य जारी रहेको नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले जानकारी दिए।
बाढीका कारण त्रिशूली र नारायणी नदीको तटीय इलाकामा बसोबास गर्ने सबैलाई सतर्कता अपनाउन आग्रह गर्दै प्रभावितहरूको उद्धारका लागि सहकार्य गर्न समेत नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीले अनुरोध गरेका छन्।
सरकारले पीडितको उद्धार, खोज र राहत कार्यलाई तीव्र बनाएको जनाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले बाढीबाट पृथ्वी राजमार्ग, गल्छी–नुवाकोट–रसुवा स्याफ्रुबेँसी सडक, मुग्लिङ–नारायणगढ सडकमा यात्रा नगर्न–नगराउन आग्रह गरेको छ।
सरोकारवाला निकायहरूले आफ्ना संयन्त्रहरू परिचालन गरी बाढीग्रस्त क्षेत्रमा उद्धार, खोज र राहतलाई तीव्रता दिएका छन्। सशस्त्र प्रहरीले दिएको प्रारम्भिक विवरण अनुसार ९७ जनाको शव भेटिएको छ।
बाढीमा परी घाइते भएकाहरूको उद्धार गरी काठमाडौँस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ। रसुवा बाढीबारे सरकारका तर्फबाट परराष्ट्रमन्त्री शिशिर खनालले संसदमा जानकारी गराएका छन्। यसअघि गृहमन्त्री सुधन गुरुङले जानकारी गराउने भनिए पनि उनी व्यस्त रहेको भन्दै परराष्ट्रमन्त्री खनालले जानकारी गराए।
मन्त्री खनालका अनुसार बिहान ८ बजेर ३७ मिनेटमा त्यस क्षेत्रमा भूकम्प गएको र भूकम्पले हिमपहिरो झरेका कारण बाढी आएको भन्ने प्रारम्भिक सूचना आएको छ। तर, यो सूचनालाई पुष्टि गर्न बाँकी रहेको उनले जानकारी दिए।
रसुवा बाढीका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै सरकारले घाइतेहरूको निःशुल्क उपचार, राहत, उद्धार तथा प्रभावित क्षेत्रलाई ‘विपद् सङ्कटग्रस्त क्षेत्र’ घोषणा गर्ने निर्णय गरेको मन्त्री खनालले बताए।
सरकारले घाइते तथा बिचल्लीमा परेका व्यक्तिहरूलाई तत्काल उद्धार गरी सुरक्षित स्थानमा सार्न गृह मन्त्रालय र रक्षा मन्त्रालयलाई जिम्मेवारी दिएको छ।
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले सरकारको राहत र उद्धार अभियानमा सहयोग गर्न अपिल गरेका छन्। बुधवार फेसबुकमा स्ट्याटस लेख्दै उनले भोटेकोसी बाढीपीडितका लागि सहयोग गर्न अनुरोध गरेका हुन्।
‘यस्तो विपद्को बेला हामी सबै एक ढिक्का हुनुपर्छ। म सम्पूर्ण सामाजिक सङ्घसंस्था, उद्योगी–व्यवसायी, युवा स्वयंसेवक र आम नागरिकहरूलाई सरकारले चलाएको राहत र उद्धार अभियानमा आ–आफ्नो ठाउँबाट हात बढाउन र सहयोग गर्न हार्दिक अनुरोध गर्दछु,’ उनले लेखेका छन्। साथै उनले पीडितहरूको उद्धार, उपचार, खानपान र बसोबासको पूर्ण जिम्मेवारी सरकारले लिने पनि बताएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपहिरोबाट प्रभावित नागरिकको खोज, उद्धार र राहतमा राज्यका सबै संयन्त्र परिचालन गर्न प्रधानमन्त्री वालेन्द्र शाहलाई आग्रह गरेका छन्।
प्रधानमन्त्री शाहले बाढीले भएको जनधनको क्षतिबारे राष्ट्रपति पौडेललाई जानकारी दिँदै हरसम्भव सहयोग जुटाउन कुनै कमी नहुने बताए।
प्रधानमन्त्री शाहसँग फोन संवाद गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विपद् प्रभावित क्षेत्रमा सबै किसिमका सहायता पठाउने प्रतिबद्धता व्यक्त गरेका छन्। विपद्को यस अवस्थामा आफू र भारत नेपालको साथमा रहने प्रतिबद्धता प्रधानमन्त्री शाहसँग व्यक्त गरेको मोदीले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।
चीनको सीमावर्ती क्षेत्रबाट आएको विनाशकारी बाढीले नेपालतर्फ भारी क्षति पुर्याएपछि चिनियाँ राष्ट्रपति सी चिनफिङले उद्धार र राहतमा कुनै कसर बाँकी नराख्न उच्चस्तरीय निर्देशन दिएका छन्।
चिनियाँ प्रधानमन्त्री ली छियाङले चिनियाँ विदेश मन्त्रालयलाई नेपाल सरकारसँग तत्काल सञ्चार र समन्वय गरी संयुक्त रूपमा उद्धार कार्य सम्हाल्न आदेश दिए। प्रधानमन्त्री लीको निर्देशनसँगै उपप्रधानमन्त्री झाङ गुओकिङको नेतृत्वमा विशेष टोली घटनास्थलतर्फ खटाइएको छ।
चिनियाँ सेना र राहत टोलीलाई सीमावर्ती क्षेत्रमा तीव्र रूपमा परिचालन गरिएको छ। नेपाल सरकारलाई आपत् विपद्मा परेका नागरिकको ज्यान बचाउन हम्मेहम्मे परेको छ। नेपाल सरकारलाई परेको आपत्कालीन अवस्थामा सहयोगका लागि छिमेकी देश भारत, चीन, दातृ निकायहरूले चासो व्यक्त गरेका छन्।
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आपतमा सबै ऐक्यबद्ध भएको सन्देश अन्तर्राष्ट्रिय जगतमा प्रवाह गर्न सक्षम हुने विश्वास व्यक्त गरे।
विपद्ग्रस्त नेपालका बाढीप्रभावितको उद्धार र पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्न भारत, चीन र विश्व बैङ्कले तत्काल समन्वय गरेका छन्। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग नेपाल हेर्ने विश्व बैङ्कका राष्ट्रिय निर्देशक डेविड सिस्लेनले विभिन्न स्रोतबाट आपत्कालीन सहयोगस्वरूप २५ अर्ब रुपैयाँ सहयोग गर्न सकिने जानकारी गराएका छन्।
दक्षिणी छिमेकी मित्रराष्ट्र भारतले बाढीपीडितका लागि तत्काल चाहिने राहत सामग्रीहरू के–के हुन् भनी सरकारसमक्ष सूची पठाउन आग्रह गरेको छ। रसुवाको गोसाईंकुण्ड गाउँपालिका–६ का वडा सदस्य विजय लामाले खोला किनारका कुनै पनि बजार बाँकी नरहेको र भौतिक संरचनासहित ठूलो मानवीय क्षति भएको बताएका छन्।
यो राष्ट्रिय सङ्कटको घडीमा नेपाली कांग्रेसको तर्फबाट सम्पूर्ण सहयोग रहने प्रतिबद्धता सभापति गगन कुमार थापाले जनाएका छन्। उनले पार्टीका पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रम स्थगित गरी सबैलाई खोज तथा उद्धार कार्यमा खटिन निर्देशन दिए।
कृषि, वन तथा पर्यावरण मन्त्रालयले रसुवा, भोटेकोशी र त्रिशूली नदी तल्लो तटीय क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि तत्काल खाद्यान्न र राहत सामग्री परिचालन गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घसंस्थालाई आह्वान गरेको छ।
मन्त्रालयअन्तर्गत कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन महाशाखाले सूचना जारी गर्दै खाद्य सुरक्षा क्लस्टरमा आबद्ध सबै साझेदार संस्थालाई यस्तो आग्रह गरेको हो।
तिब्बत क्षेत्रमा हिमपहिरो खसेपछि भोटेकोशी नदी थुनिएर बनेको अस्थायी बाँध फुट्दा ठूलो बाढी नेपाल प्रवेश गरेको हुन सक्ने चिनियाँ विज्ञ टोलीको प्रारम्भिक अनुमान छ।
विपद् विज्ञ वसन्तराज अधिकारीका अनुसार चिनियाँ वैज्ञानिकहरूले तिब्बत क्षेत्रमा भएका भौगर्भिक गतिविधिको नजिकबाट विश्लेषण गरिरहेका छन्। उनी एक सम्मेलनको सिलसिलामा अहिले चीनमै छन्।
चिनियाँ टोलीसँग नजिक रहेर गतिविधिबारे जानकारी लिएका अधिकारीका अनुसार हिमपहिरो खसेपछि तिब्बत क्षेत्रमा भोटेकोशी नदी थुनिएको र त्यसबाट बनेको अस्थायी बाँध फुट्दा ठूलो बाढी रसुवा हुँदै नेपाल प्रवेश गरेको हुन सक्ने अनुमान गरिएको हो।
उनले भने, “पहिरोपछि खोला थुनिएर बनेको ड्याम फुटेर बाढी आएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।”
बाढीको वास्तविक कारण पत्ता लगाउन विज्ञहरू स्याटलाइट तस्बिरहरूको खोजी तथा मिलानमा सक्रिय छन्। अधिकारीका अनुसार प्रभावित क्षेत्रको जमिनको अवस्थासम्बन्धी तस्बिर प्राप्त गर्ने प्रयास भइरहेको छ।
“ठ्याक्कै ग्राउन्डको तस्बिर निकाल्न कसरत भइरहेको छ। यकिन तस्बिर प्राप्त हुन नसक्दा बाढीको पक्का कारण थाहा हुन सकेको छैन,” उनले भने।
रसुवा बाढीका कारण त्रिशूली नदीका १९ भन्दा बढी पुलमा क्षति पुगेको छ। सडक विभागका प्रवक्ता शुभराज न्यौपानेले हालसम्म कम्तीमा १९ वटा पुलमा क्षति पुगेको बताए।
बुधवार बिहान चीनको सिमानाबाट आएको बाढीका कारण ४० किलोमिटर सडक अवरुद्ध भएको छ। प्रवक्ता न्यौपानेका अनुसार सडक विभागले बाढी प्रभावित क्षेत्रमा आवश्यक मेसिन तथा उपकरण परिचालन गरेको छ।
बाढीले ४३१ मेगावाट विद्युत् आयोजनामा क्षति
बुधवार बिहान आएको बाढीले सात वटा विद्युत् आयोजनामा क्षति पुर्याएको छ। ऊर्जा मन्त्रालयका अनुसार ४३१.१ मेगावाट बिजुली क्षतिका कारण प्रणालीबाट बाहिर गएको छ।
रसुवागढी विद्युत् आयोजनाको १११ मेगावाट क्षति पुगेको छ। चिलिमेको २२, लाङटाङको २०, अप्पर त्रिशूली ३ एको ६०, त्रिशूली विद्युत् आयोजनाको २४, देवीघाटको १४ र विद्युत् प्राधिकरणको सोलार प्रणालीको २५ मेगावाट गरी कुल ४३१.१ मेगावाट विद्युत् प्रणालीबाट बाहिर रहेको मन्त्रालयले जानकारी गराएको छ।
विभिन्न वितरण संरचनाहरू समेत क्षतिग्रस्त भएकोले विद्युत् आपूर्ति अवरुद्ध हुन गएको मन्त्रालयले जनाएको छ।
‘प्राधिकरणले विद्युत् आपूर्ति नियमित गर्न हरसम्भव प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्दै आपूर्ति नियमित नहुन्जेलसम्म धैर्य गरिदिई सोहीबमोजिमको सूचना प्रवाह गरिदिनु हुन समेत सम्बन्धित सबैमा प्राधिकरण हार्दिक अनुरोध गर्दछ,’ ऊर्जा मन्त्रालयको विज्ञप्तिमा भनिएको छ।
रसुवा जिल्लाको भोटेकोशी खोलामा एक्कासि आएको बाढीका कारण नेपाल भित्रिन तयार अवस्थामा रहेका सयौँ गाडी बगेका छन्। आज बिहान आएको बाढीबाट ३०० सयभन्दा बढी विद्युतीय गाडी र ट्रकहरू बगेको रसुवा भन्सार कार्यालय टिमुरेले जानकारी दिएको छ।
रसुवा भन्सार कार्यालयका प्रमुख राजेन्द्र ढुङ्गानाले बाढीबाट भन्सार क्षेत्र पूरै तहसनहस भएको जानकारी दिए। उनका अनुसार ३०० सयभन्दा बढी विद्युतीय गाडी र ट्रकहरू भन्सार जाँच पास हुने क्रममा थिए। ‘त्यो सबै बगाएको छ। टिमुरे बजार र रसुवागढी नाकातर्फ ठाउँ ठाउँमा रोकेर राखिएका गाडीको हिसाबकिताब नै छैन। बाटैभरि गाडी थिए’, उनले भने।
वुलिङ, एमजी, आर्कफक्स, जेटोर, बेइक, बीवाईडी, नामी, ओमोडा एन्ड जेकोलगायतका विद्युतीय गाडी रसुवागढी भन्सारबाट आउने गरेका छन्।
बुधवार बिहान आएको भोटेकोशी खोलाको बाढीले रसुवाको टिमुरे भन्सार कार्यालयको यार्डमा राखिएका २५० हाराहारीको संख्यामा मालवाहक कन्टेनर बगेका छन्।
नेपाल हिमालय सीमापार वाणिज्य सङ्घका अध्यक्ष रामहरि कार्कीले २२० देखि २५० वटासम्म मालवाहक कन्टेनर बगेको जानकारी दिए। उनले भने, ‘बाढीपछिको क्षति अनुमान गर्न हाम्रो सङ्घको बैठक बसेका थियौँ। यसअनुसार २५० वटासम्मको संख्यामा मालवाहक कन्टेनर बगेको अनुमान छ।’
त्यसैगरी सङ्घसँग जोडिएका व्यवसायी, चालक, सहचालकलगायत सम्पर्कविहीनको नाम टिपिरहेको उनको भनाइ छ। हालसम्म ८० जनाको नाम टिपिएको छ।
कार्कीका अनुसार उनीहरू स्थानीयबाहेकका हुन्। अझैसम्म हराउनेहरूको यकिन विवरण नआइसकेको उनले जानकारी दिए।
प्राधिकरणको निर्देशन
नेपाल नागरिक उड्डयन प्राधिकरणले प्राकृतिक विपद्को विषम परिस्थितिमा हालको हवाई भाडादर नबढ्ने गरी टिकट उपलब्ध गराउन हवाई सञ्चालकहरूलाई निर्देशन दिएको छ।
प्राधिकरणले हवाई भाडादरको उच्चतम दरभन्दा कम र हालको परिस्थितिलाई मध्यनजर गर्दै हालको भाडादर नबढ्ने गरी टिकट उपलब्ध गर्ने/गराउने व्यवस्था गर्न निर्देशन दिएको हो।
तिब्बततर्फबाट आएको बाढीका कारण यतिबेला राजधानी काठमाडौँबाट बाहिरिने कतिपय राजमार्ग असुरक्षाका कारण बन्द गरिएका छन्।
अकस्मात् आएको बाढीले रसुवामा मात्र सीमित नरही भोटेकोशी र त्रिशूली हुँदै तल्लो तटीय क्षेत्रमा समेत जोखिम बढाएको छ।
उद्धार, खोज, उपचार, राहत, सडक तथा विद्युत् पूर्वाधारको पुनःस्थापना र प्रभावित नागरिकलाई सुरक्षित स्थानमा सार्न राज्यका विभिन्न संयन्त्र एकैसाथ परिचालन हुनुपर्ने अवस्था आएको छ। यही कारण रसुवाबाट सुरु भएको यो विपद् तत्कालीन रूपमा गम्भीर राष्ट्रिय सङ्कटका रूपमा देखा परेको छ।
सम्बन्धित निकायहरूले नदी तटीय क्षेत्रका नागरिकलाई थप सतर्क रहन, जोखिमयुक्त स्थानमा नबस्न र आधिकारिक सूचना पालना गर्न आग्रह गरेका छन्।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.