दुबई – यूएईमा पहिलोपटक नेपाली समुदाय स्तरीय बक्स क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। यूएई नेपाली क्रिकेट एसोसिएसन (यूएनसिए) को आयोजनामा ‘यूएनसिए बक्स क्रिकेट च्याम्पियनसिप २०२६’’ शनिवार र आइतबार दुबईमा हुने भएको हो।
प्रतियोगितामा नेपाली समुदायका आठ टोलीले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ। प्रतियोगितामा युएनसिए गोर्खाज, अर्घाखाँची एभेन्जर्स, एनपिएएफ रोयल्स, एनपिएएफ लायन्स, डी एनआईजी क्रिकेट टिम, निमस् दाई लेजेन्ड्स, एभरेस्ट वुल्भ्स क्रिकेट क्लब र माछापुच्छ्रे क्रिकेट क्लब सहभागी हुनेछन्।
नकआउट प्रणालीमा सञ्चालन हुने प्रतियोगितामा पराजित टोली तत्कालै प्रतियोगिताबाट बाहिरिनेछ। उत्कृष्ट प्रदर्शन गर्ने टोलीहरू सेमिफाइनल हुँदै ग्रान्ड फाइनलमा पुग्नेछन्।
प्रतियोगिताको विजेताले २ हजार यूएई दिराम तथा उपविजेताले १ हजार यूएई दिराम नगद पुरस्कार पाउनेछन्। यसका साथै उत्कृष्ट ब्याट्सम्यान, सर्वाधिक विकेट लिने खेलाडी र उत्कृष्ट फिल्डर लगायत विभिन्न विधामा पुरस्कार तथा सम्मान प्रदान गरिने आयोजकले जनाएको छ। प्रतियोगितामा आकर्षक सर्प्राइज पुरस्कारको समेत व्यवस्था गरिएको आयोजकले बताएको छ।
‘यूनिटी,प्राइड क्रिकेट ‘भन्ने नाराका साथ आयोजना हुन लागेको प्रतियोगिताले यूएईमा रहेका नेपाली समुदायबीच आपसी एकता, भाइचारा र खेलकुदको भावना विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्ने आयोजकले अपेक्षा गरेको छ।
आयोजकका अनुसार प्रतियोगितालाई लाइफ लाइन ह्यूमन रिसोर्सले मुख्य प्रायोजन गरेको छ भने लेबास फेसनले जर्सी प्रायोजन गरेको छ। त्यस्तै, प्रतियोगिता भर खेलाडीहरूको प्राथमिक स्वास्थ्य उपचारका लागि निको पोलीक्लिनिकले स्वास्थ्य सहयोग गर्ने आयोजकले जनाएको छ।
यूएनसिएले यूएईमा रहेका नेपाली क्रिकेटप्रेमी, खेलाडी तथा समर्थकहरूलाई प्रतियोगितामा सहभागी भई खेलाडीहरूको हौसला बढाउन र प्रतियोगितालाई सफल बनाउन अपिल गरेको छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.