पुस्तक

अमेरिका: धेरै सपना र थोरै बिपना

अमेरिका: धेरै सपना र थोरै बिपना

91
SHARES

आवरण विम्बमा पशुपतिनाथको मन्दिर, नेपालको नक्सा, अमेरिका (न्युयोर्क) स्थित स्वतन्त्रताको प्रतीक, मानिसका साना समूहले नभको दृश्य ताक्दै गरेको चित्र आकर्षक लाग्दछ। घरदेश र परदेशको परिवेशमा रुमल्लिई गुम्सिएका स्मृतिका स्पन्दनहरू जुन विस्मृत नभएका संस्मरणका पोका स्रष्टाले पाठकसामु इमानदारीका साथ फुकाउनु भएको छ।

स्रष्टा कमल रिजालको ‘तन परदेशमा मन घरदेशमा’ शीर्षक आफैँमा काफी छ। साथै, प्रा.डा. गोविन्दराज भट्टराईको पुस्तकीय भूमिका “एक अकिञ्चन नेपाली विद्वानका कठोर सङ्घर्ष र अमूल्य प्राप्तिका” मार्फत गुरुप्रतिको श्रद्धाभावसँगै कृतिको प्रसङ्गलाई केन्द्रित गरी कृतिको महत्त्व र गरिमा उल्लेख भएको छ।

भूमिकापछि विषय सूचीमा ४२ शीर्षकका भौतिक एवम् वैज्ञानिक वैभवले सम्पन्न पाताल देश अमेरिकाका अनेकन् विम्बका वर्णनात्मक संस्मरणहरू समेटिएको ३९६ पृष्ठको पुस्तक ओल्टाइपल्टाई गर्दा आकर्षक लाग्दछ। अधिकांश नेपालीको मनलाई अमेरिकाप्रतिको मोह र सपनाले दुःखपछिको सुख खोज्न डोर्‍याउने हुँदा, बिपनामा अमेरिका पुगेका नेपाली स्वदेश आउन चाहन्छन्, तर सक्दैनन्। तिनले नेपाल आफ्नो जन्मभूमि नसम्झेको दिन छैन। नेपालको सपना नदेखेको रात छैन भन्छन्। ए, किन भयो हाम्रो यस्तो नियति?

स्रष्टा वैभवले भरिपूर्ण अमेरिका जस्तो मुलुकमा जाने सपनामा मात्र नभएर बिपनामै पुगेकाले विद्यावारिधिको डिग्री हासिल गर्नु, आफ्ना सन्तानको शिक्षादीक्षा साथै भविष्य निर्माणको सुअवसर पाएकोले स्रष्टाको चार दशक बढीको बसाइ उतै निरन्तर रहेको छ।

स्रष्टाका अनुसार “यो मेरो अनुभूति हो। त्यही अनुभूति अनुसार मेरा विचार पोखेको हुँ। अमेरिका बस्ने अरू नेपालीको अनुभूति भिन्दै हुन सक्छ र भिन्दै विचार हुन सक्छन्।” आफ्नो जन्मस्थान, बाल्यकाल, शिक्षा आरम्भ, गाउँले परिवेश, खेतीकिसानी, विद्यालय परिवेश, साथीसंगी, एसएलसी गर्दासम्मका कैरन अर्थात् नालीबेलीले उसबेलाको गाउँ समाजको चित्रण झल्किएका छन्।

एसएलसी परीक्षा उत्तीर्ण भएपछिको पढाइको तीव्र इच्छाले घर छाड्नु। जेटिए तालिम खुलेको थाहा पाएर काठमाडौँ पुगेर तालिम लिनु। जागिर सुरु गर्नु, त्रि.चन्द्र कलेजमा पढाइ थाल्नु। अनायास या भाग्यवश बेलायत जाने अवसर पाउनु र अमेरिका जाने सपनाले छोपेकाले यथार्थमा बिपनामै अमेरिका पुगेको सन्दर्भले स्रष्टालाई विद्यावारिधिको डिग्रीले लोभ्याएको छ।

पचासवटा राज्य मिलेर बनेको संयुक्त राज्य अमेरिका अर्को महादेशमा पर्ने हुँदा उता रात हुन्छ। फरक महादेश हुन्। नेपालबाट हवाईजहाजमा उड्दा युरोपेली मुलुकहरूमा पुग्न र अमेरिका पुग्नमा ठूलै फरक पर्दछ।

एक्काइसौँ शताब्दीको उत्तरार्धमा आइपुग्दा समयले कोल्टे फेरिसकेको छ। इतिहासमा बेलायती साम्राज्यको अधीनमा भएको अमेरिका। आजको विश्वपरिवेशमा आइपुग्दा आधुनिकी र वैज्ञानिक उत्कर्षले उचालिएको अमेरिका आज युवा पुस्ताका सपनामा सलबलाउँछ। दिनकै दिवासपना अनि बिपनाले ब्युँझाउँदै छ। स्रष्टालाई जस्तै गरी–घरदेशको मायाले।

स्रष्टाको सपना थियो। अमेरिकाको कुनै एउटा राम्रो विश्वविद्यालयबाट विद्यावारिधि गर्ने, अतः उहाँले युनिभर्सिटी अफ अस्टिन, टेक्सास रोज्नुभयो।

विश्वविद्यालयको पीएचडी कक्षामा अन्य मुलुकबाट आएका पच्चीस–तीस उमेर हाराहारीका सहपाठीहरू माझ आफू उमेर ढल्किन लागेको हीनताबोधले गिज्याउँदछ। तापनि अध्ययनमा तल्लीन रही डिग्री हासिल गर्नु भएको उदाहरणीय कर्म बनेको छ।

हो, कानुनी रूपमा अमेरिकामा बस्न पाउनेहरूका लागि अवसरै अवसर छन्। तर जुन खतरा मोलेर दलालको फन्दामा युरोप र अमेरिकाको सपनाको तानावानाबाट ज्यान गुमाउने, बल्लबल्ल बाँच्न सकेकाहरूको हृदयविदारक कथाले आङ सिरिङ हुन्छ नै।

स्रष्टाका साथीहरू सहयोगी छन्? अमेरिकीहरू मिलनसार हुँदा रहेछन्। अमेरिका पुगेपछिको सङ्घर्ष दोस्रो ठूलो टेक्सास राज्यको राजधानी अस्टिनको विश्वविद्यालय द युनिभर्सिटी अफ टेक्सास एट अस्टिनले दिएको अवसरले स्रष्टाको धोको पूरा गरिदिएकाले, सफलताको दैलो क्रमशः उघारिँदै गरेको बोध हुन्छ।

स्रष्टाको आदर्श परिवारका पाँचैजना सदस्य युनिभर्सिटीका विद्यार्थी। पाँचमध्येमा कान्छा छोराले अमेरिकाको प्रसिद्ध कोलम्बिया युनिभर्सिटीमा छात्रवृत्तिसँगै भर्ना पाउनु शुभ सङ्केत मानिन्छ।

अमेरिका विशाल एवम् वैभवशाली महादेश, जहाँ संसारभरका मानिस अटाएका छन्। जुनसुकै मुलुकबाट पुगेता पनि आ–आफ्ना धर्म, संस्कारलाई सँगै च्यापेरै बसेका छन् भन्ने बुझाइ पाठकसामु प्रस्तुत गरिएको बोध गर्न सकिन्छ। तर बदलिँदो सांसारिक चालढाल भने अर्कै छ। आधुनिकी परिवेशले गर्दा अमेरिका त के नेपालमै पनि हिजोआजका गतिविधिअनुसार बाबुआमाले खोजेका वा हेरेका (रोजेका) केटाकेटीसँग विवाह गर्न छाडे भने अमेरिकाको त कुरा गर्ने नै र।

विभिन्न मुलुकमा भएका राजनीतिक प्रपञ्च र उथलपुथलका कारणले देश छाडेर शरण लिन जाने मुलुक अमेरिका हो। र, शरणार्थीबाहेक अन्य मुलुकका विद्यार्थीहरू पनि अमेरिकाको विभिन्न राज्यमा पुग्दछन्।

विद्यार्थीहरू प्रायः नै त्यतै स्थापित हुन्छन्। अवसरको खेती गर्नेले नाम, दाम, दुवै कमाएका छन्। तर अहिले अमेरिकाले शरणार्थीलाई स्वीकार्दैन। अमेरिका पुगेका जुनसुकै मुलुकका मानिस, जसले मिहिनेत गर्छ, उसले अवसर पाउँछ। अर्थात् अमेरिकामा सीप र जाँगर भएकाका लागि सयौँ अवसर छन् भन्ने स्रष्टाले सूचित गर्नु भएको छ।

हो, कानुनी रूपमा अमेरिकामा बस्न पाउनेहरूका लागि अवसरै अवसर छन्। तर जुन खतरा मोलेर दलालको फन्दामा युरोप र अमेरिकाको सपनाको तानावानाबाट ज्यान गुमाउने, बल्लबल्ल बाँच्न सकेकाहरूको हृदयविदारक कथाले आङ सिरिङ हुन्छ नै।

अन्य प्रसङ्गहरूमा विमानमा बिरामी हुँदा एयरलाइन्सका कर्मचारीले गरेको सहयोग, छोरी भेट्न जाँदा उत्तरी भेगका राज्यहरू न्यु ह्याम्पसायर र भरमोन्टका सहरहरू घुम्दाका प्रसङ्गहरू रमाइला छन्।

आफू (स्रष्टा) सुरुका दिन झन्डै ४० वर्षअघि अमेरिका छिर्दाको प्रसङ्गसँग हाल ड्यालसमा आफ्ना भतिजा–भतिजीको टोल बनिसकेको परिवेशले समयको फड्कोको मापन मनले केलाएको लाग्दछ।

परदेशमा आफ्नो मुलुकका र आफ्नै भाषा बोल्ने मानिस भेट्दाको खुसीसँग अतीतलाई खोतल्ने जर्मकोमा त्रि–चन्द्र कलेज, त्यहाँका सहपाठीहरूको प्रसङ्गले जो–कोही पाठकका अतीत मानसपटलमा सलबलाउँछन्। विद्यार्थी जीवनको झझल्को आँखाअगाडि सजीव बन्छन् नै।

ह्वाइट हाउसको कार्यक्रममा इन्टरप्रेटर (दोभाषे) को प्रसङ्गसँगै टेक्सास, न्यूयोर्क र वासिङ्टनमा बसोबास गर्ने नेपालीहरू, समयसापेक्ष रूपमा आवश्यक प्राविधिक सीप र योग्यता भएका नेपालीले जागिर पाएका र कसै–कसैले त ठूला–ठूला उद्योग खोलेका सन्दर्भहरू पढ्न पाइन्छन्।

छिमेकी ल्यारी सहयोगी भएको प्रसङ्ग, साथै सन् १९८६/८७ को आर्थिक मन्दी, कामको महत्त्व, अमेरिकीहरू कुकुर पाल्नमा सोखिन हुन्छन् र नेपालका जस्ता दुर्गम गाउँहरू अमेरिकामा पनि रहेछन्। ती गाउँले नेपालको झल्को दिन्छन्।

अमेरिकाले प्राकृतिक सम्पदाको जगेर्ना गर्न जानेर महत्त्व दिएकोले पर्यटन मौलाएको सन्दर्भले नेपालको सम्पदाहरू कसरी लथालिङ्ग भएको छ भन्ने झस्का पाठकमा लाग्दछ।

स्रष्टाले आफू अमेरिका छिर्नुभन्दा अगाडि त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गर्दाका आफ्ना दुई प्रिय विद्यार्थीहरू, जो सधैँ नजिक थिए। एकजना जयराज अवस्थी एवम् गोविन्दराज भट्टराईको सन्दर्भ यस कृतिमा उल्लेख गर्नु भएको छ।

स्रष्टा आफू बिहान बाथरुममा हुँदा “गोविन्दराज भट्टराईले फोन गर्नु भएको छ” भनिन् मेरी श्रीमती मीनाले। उहाँ मेरो पुरानो विद्यार्थी, उहाँ अहिले नेपालको धेरै माथिल्लो साहित्यकार मानिनु हुन्छ।

आफ्ना सुयोग्य शिष्यहरूको उन्नति प्रगतिप्रति गर्व महसुस गर्ने गुरु एवम् शिष्यहरूको निश्छल पवित्र सम्बन्धको मानक महत्त्व दर्शाएको भाव प्रा.डा. गोविन्दराज भट्टराईले आफ्नो कृति ‘नयाँ भुटानको छायाचित्र’ (पृष्ठ १२३) मा आफू अमेरिका गएका बेला गुरु गृहमा भेट्न गएको प्रसङ्ग जोड्नु भएको छ।

अमेरिकाको प्रेम कथा (प्रेम डान्स) प्रेमजोडीको प्रतीक भएको प्रसङ्ग, विवाह वर्षगाँठ, नेपाली संस्कार, व्रतबन्ध, ढाका टोपी उपहार, नेपाल र अमेरिकाबीचको कूटनैतिक सम्बन्धको ७५ औँ वर्षगाँठ, नेपालबाट आफ्ना नातिनातिना भेट्न अमेरिका पुगेका बाजेबजैका गुनासा, राम्रा र नामी डाक्टर भएता पनि औषधि उपचारार्थ अमेरिकामा सहजता नभएको इमानदारीका साथ उल्लेख गर्नु भएको छ।

अमेरिकामा पनि माग्ने र घरविहीन मानिसको संख्या कम छैन रहेछ। र त्यहाँ मानिसको वृद्धावस्था निराशाजनक भएको, पश्चिमी संस्कारभन्दा हाम्रो पूर्वीय संस्कार राम्रो रहेछ भन्ने तुलनात्मक निर्णय गरिएको छ।

अमेरिकामा बन्दुकको जगजगी कानुनी मान्यताले अधिकार पाए तापनि त्यसले दुःखद घटना निम्त्याएका उदाहरणहरू प्रशस्तै छन्।

नेपालमा जस्तै गरी अमेरिकामा पनि त्यहाँको धर्म–संस्कृतिअनुसारका चाडपर्व मनाइन्छन्। सिङ्गो अमेरिकाको पश्चिमको सान फ्रान्सिस्को, मध्य भागको सिकागो र पूर्वको देशकै राजधानी वासिङ्टन डिसी र न्यूयोर्क सहरको प्रसङ्ग जोडिएकाले पनि अमेरिकाले गौरव दर्शाएको महसुस गर्न सकिन्छ। अतः त्यहाँ हेर्न लायकका प्राकृतिक, धार्मिक, सांस्कृतिक, ऐतिहासिक साथै मानव निर्मित अनेकन् वैभवका प्रसङ्गहरू प्रस्तुत ग्रन्थमा जोडिएका छन्।

स्रष्टाले अमेरिकामा चार दशक बढी बस्दाका निजी अनुभव र अनुभूतिलाई समेटी नयाँ पुस्तालाई उपहारका रूपमा पठनीय तथा मननयोग्य पुस्तकको रचना गर्नुभएको छ। वर्णविन्यासका राँटा त छन् नै, तथापि यो कृति रोचक छ।

समाचार शेयर गर्नुहोस्
91
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.