राष्ट्रिय शोकमा दीप प्रज्वलन गरेर गाईजात्रालाई निरन्तरता

राष्ट्रिय शोकमा दीप प्रज्वलन गरेर गाईजात्रालाई निरन्तरता

193
SHARES

काठमाडौँ – दिवङ्गत लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका सदस्य तथा भोटेकोशीमा आएको भीषण बाढीका कारण ज्यान गुमाएका सम्पूर्ण व्यक्तिहरूको सम्झना र सम्मानमा दीप प्रज्वलन गरिएको छ। लैङ्गिक तथा यौनिक अल्पसंख्यक जिएसएम समुदायले बसन्तपुरमा दीप प्रज्वलन गर्दै दिवङ्गत आत्माहरूको चिरशान्तिको कामना गरेको छ।

लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायले गाईजात्रा पर्व मनाउन थालेको २४ वर्ष भएको छ। विगत वर्षहरूमा सञ्चयकोषको भवन अगाडिबाट र्‍याली निकाल्ने गरिएको थियो। तर, यस वर्ष राष्ट्रिय शोक परेको हुनाले र्‍याली ननिकालिएको मायाको पहिचान नेपालले जनाएको छ। मृत्यु भएकाहरूको स्मृतिमा दीप प्रज्वलन भने गरिएको छ।

राजा प्रताप मल्लले पुत्र वियोग भएकी रानीलाई खुसी पार्न गाईजात्रा सुरु गरेको किंवदन्ती छ। किंवदन्ती अनुसार आफ्नो परिवार गुमाएका सदस्यहरूलाई गाई बनाएर दरबार अगाडिबाट ल्याउनु, रानीले हेरुन् र रानीलाई आफू मात्र होइन, अरूले पनि आफन्त गुमाउँछन् भन्ने लागोस् भनेर गाईजात्रा सुरु भएको हो।

छोरा मान्छेहरू छोरी बन्ने चलन त्यतिबेलादेखिकै भएको संविधान सभा सदस्य एवं मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिल बाबु पन्तले बताए। अरूको त परिवारले सम्झिन्छ, हाम्रो त सम्झिँदैन भन्ने भएपछि लैङ्गिक, यौनिक अल्पसंख्यक परिवार हौँ, मृत्यु भएकाहरूको सम्झनामा गाईजात्रा निकालौँ भन्ने चलन लिएर आएको पन्तले बताए।

“यसपालि पनि यो समुदायका साथीहरू, चिनेकाहरू, हामीसँग खुलेकाहरू दिवङ्गत हुनु भएको छ। उहाँहरूको सम्झनामा र्‍याली निकाल्न नसके पनि दीप प्रज्वलन गरेका छौँ। उहाँहरूको दिवङ्गत आत्माले शान्ति पाओस् भन्ने कामना छ,” पन्तले भने, “त्यो बाहेक अज्ञात रहेका, नचिनेका यो समुदायका नेपालभित्र–बाहिर जहाँका भए पनि उहाँहरूको आत्माले शान्ति पाओस्।”

भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूको आत्माले शान्ति पाओस् भनेर दीप प्रज्वलनसहित कामना गरिएको पन्तले बताए। भोटेकोशीमा आएको बाढीले नेपाल र तिब्बत दुवैतर्फ ठूलो मानवीय क्षति गराएको छ र खोज तथा उद्धार कार्य जारी छ।

पन्तले भने, “गाईजात्रा मृत्यु भएकाहरूलाई सम्झँदै मनाउने पर्व हो। यस वर्ष कुनै परिवारले व्यक्ति गुमाएको होइन, राष्ट्र नै शोकमा भएको हुनाले रमाइलो कार्यक्रम गर्न मनदेखि नै मानेनौँ। यसपालि शोककै पर्वका रूपमा गाईजात्रा मनायौँ।”

“हरेक वर्ष यस्तै हुन्छ भन्ने छैन। अर्कोसाल रमाइलो साथ मनाउने अवसर प्राप्त होस् नेपाललाई। यस्तो खालको दुःखहरू नआओस् भनेर यसपालि कामना पनि गरेका छौँ,” पन्तले भने।

लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायले अधिकारकर्मी पन्तको नेतृत्वमा सन् २००२ अर्थात् २०५९ सालदेखि सामूहिक रूपमा गाईजात्रा मनाउन सुरु गरेका हुन्।

समाचार शेयर गर्नुहोस्
193
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.