भोटेकोशी बाढी : आवश्यकता खाद्यान्नको, राहतमा पानीका बोतल

भोटेकोशी बाढी : आवश्यकता खाद्यान्नको, राहतमा पानीका बोतल

93
SHARES
तस्बिर : प्रदीप राज वन्त

काठमाडौँ – भोटेकोशी बाढी प्रभावितहरूको बिचल्ली भएको छ। सहयोग गर्नेहरू भने पानीका बोतल बोकेर गएको पाइएको छ। रसुवामा पानी बोकेर सहयोग गर्न गइरहेका छन्। रसुवामा पानीभन्दा पनि खाद्यान्न सहयोगको आवश्यकता रहेको प्रभावितहरू बताउँछन्।

बाढीले कहालीलाग्दो अवस्था बनाएको छ। प्रचारका लागि सहयोग गर्ने देखावटी पाराको भने आलोचना भएको छ। गोसाईंकुण्ड मेलामा सहभागी भएर फर्किएका एक तीर्थयात्रीले रसुवामा पानी बोकेरसमेत सहयोग गर्नेहरूको ताँती लागेको बताए।

‘१ लाख सहयोग जुटाएर ५–१० हजार पानीका बोतल गाडीमा हालेर सहयोग गर्न जानेहरू पनि देखिए,’ती तीर्थयात्रीले पहिचानसँग भने,‘आवश्यकता एकातिर, सहयोग अर्कोतिर भएको देखिन्छ।’ उनले रसुवामा तत्कालको आवश्यकता विद्युत् रहेको बताए।

अफ भएका मोबाइल चार्ज हुने र लोकेसन ट्र्याक गर्न सहजता आउन सक्ने उनले बताए। सम्पर्कविहीन भएका व्यक्तिहरूको उद्धार हुन सक्ने उनले सुनाए। उनका अनुसार गोसाईंकुण्ड मेलामा गएकाहरू वैकल्पिक मार्ग प्रयोग गरेर फर्किए।

गोसाईंकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले पालिका भवन नै बगाएको जानकारी दिए। पालिका उपाध्यक्ष, २ जना वडा अध्यक्षसहितका कर्मचारीलाई बाढीले बगाएको उनले बताए।

तर, गोसाईंकुण्ड मेला भर्न पुगेका तीर्थयात्रीहरूको वैकल्पिक मार्ग प्रयोग गरेर उद्धार भएको उनले जानकारी दिए। उनका अनुसार गाउँमा कोही बस्न नमान्ने अवस्था सिर्जना भएको छ। सबैमा डर र त्रासको वातावरण छ।

पालिका अध्यक्ष तामाङले जुनसुकै बेला बाढी आउन सक्ने त्रासमा रहेका नागरिकले काठमाडौँमा बस्ने बास मागेका बताए। ‘वर्षाको समयमा बस्नै सकिँदैन, हिउँदमा डर छैन भन्ने उहाँहरूको माग छ। सबैलाई काठमाडौँ लगेर राख्ने ठाउँ छैन,’ उनले पहिचानसँग भने, ‘तत्काल खाद्यान्न आवश्यकता छ। सडक सञ्जाल अवरुद्ध छ। खाद्यान्न पुर्‍याउन हेलिप्याड नै चाहिन्छ।’

खोज तथा उद्धारसँगै राज्य संयन्त्र प्रभावितहरूलाई सहयोग गर्न अहोरात्र खटिएको छ। सम्पर्कविहीन भएका व्यक्तिका परिवार छटपटिएका छन्। बाढीले बगाएका, ज्यान जोगाउन भागेकाहरू जो सम्पर्कमा छैनन्, उनीहरूका आफन्त साइन बोर्डमा टाँसिएका नाम खोजिरहेका छन्।

भाद्र १४ गते ७ बजेसम्म २६९७ जनालाई उद्धार गरिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ। निर्देशनालयका अनुसार टिमुरे, स्याफ्रुवेशी, धुन्चे तथा मैलुङ इलाकाहरूबाट विदेशी नागरिक २१६, भारतीय १२१, जर्मन ४, चिनियाँ ७२, अमेरिकन २, इटालियन २, ओमान १, कोरियन १५ जनासहित २४९७ जना र स्थल उद्धार २०० जना गरी जम्मा २६९७ जनाको उद्धार गरिएको छ। प्रभावित जिल्लाहरूमा नेपाली सेनाको करिब ८ हजार ३ सयभन्दा बढी फौज खटिई समन्वयात्मक रूपमा कार्य गरिरहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।

तस्बिर : प्रदीप राज वन्त
विभिन्न उपकरणहरूको प्रयोग गरी त्रिशूली हाइड्रो पावरको थ्री ए टनेलको प्रवेशद्वार पत्ता लगाउन रातभर भइरहेको कार्य राति २ बजेपछि ठूलो वर्षात् र खोलाको सतह बढी खाडलमा समेत पानी भरिएकोले केही समय रोकिएको थियो।

बेपत्ता हुनेको संख्या नै यकिन हुन सकेको छैन। बाढी आउने पूर्वसूचनाअनुसार भागेर ज्यान जोगाएकाहरू पनि अहिले खाने गाँस र बस्ने बासको समस्यामा परेका छन्। बाढीले घर, सम्पत्ति र जीविकोपार्जनका स्रोत बगाएपछि प्रभावितहरू सुरक्षित स्थानमा आश्रय लिएर बस्न बाध्य भएका छन्।

तत्काल खाद्यान्न, अस्थायी बसोबासको व्यवस्था गर्नुपर्ने उनीहरूको माग छ। जङ्गलमा घाँस काट्न जाँदा बाढी आएपछि भागेर ज्यान जोगाएकी इन्द्रमाया डङ्गोलले अनलाइन खबरका पत्रकार दिनेश गौतमसँगको कुराकानीमा ठूलो मानवीय क्षति भएको बताइन्।

बाढी आउँदैछ भनेर जानकारी दिँदै खोला हेर्न गएका व्यक्तिलाई समेत बाढीको पहिलो भेलले अब कहिल्यै नफर्कने गरी बगाएको छ। बाढीको भेलमा परेकाहरूलाई बचाउन नसकिएको बाढी प्रभावित क्षेत्रका स्थानीय सन्तमान लामा बताउँछन्।

खोज तथा उद्धार चलिरहेको भए पनि धेरै व्यक्ति सम्पर्कविहीन रहेकाले उद्धार कार्यलाई थप तीव्रता दिनुपर्ने प्रभावितहरूको माग छ। सम्भावित जोखिममा रहेका स्थान, सुरुङ तथा बाढीले पुरिएका क्षेत्रमा खोजीलाई प्राथमिकता दिन उनीहरूले आग्रह गरेका छन्। बाढी प्रभावित क्षेत्रका स्थानीयलाई सशस्त्र प्रहरीले राज्य संयन्त्र खोज तथा उद्धारमा खटिएकाले नआत्तिन आग्रह गरेको छ।

सरकारले बाढी गएलगत्तै सचेतनामूलक सन्देश जारी गरिरहेको छ। मोबाइलको रिङ टोनमा सम्पर्कविहीन भएकाहरूको जानकारी प्राप्त भएमा पैसा नलाग्ने नम्बरमा खबर गरिदिनेसम्मको सन्देश प्रवाह भएको छ।

बाढी प्रभावित क्षेत्रमा प्रधानमन्त्रीदेखि मन्त्रीहरू पुगिरहेका छन्। सबैलाई एकै पटक खोज तथा उद्धार चाहिएको छ। त्यसले कठिनाइ भएको छ। गृहमन्त्री गुरुङले गुनासो गर्ने प्रभावितहरूसँग सरकारलाई काम गर्न दिन भनेका छन्।

भोटेकोशी नदीमा आएको भीषण बाढीले राष्ट्रिय मानवीय सङ्कट निम्त्याएको छ। बाढीका कारण ठूलो मानवीय क्षति भएको छ। कैयौँ व्यक्ति बेपत्ता छन्। घर, सम्पत्ति र जीविकोपार्जनका स्रोतसमेत गुमेका छन्।

सडक सञ्जाल विच्छेद हुँदा प्रभावित बस्तीमा राहत सामग्री पुर्‍याउनसमेत कठिनाइ भएको छ। बाढीपीडितहरू अहिले राहतको पर्खाइमा छन्। तत्काल खाद्यान्न, औषधि तथा बसोबासको व्यवस्था गर्नुपर्ने अवस्था रहेको स्थानीय जनप्रतिनिधिको भनाइ छ।

राज्यले विदेशी सहयोग लिन ढिलो गर्दा सुरुङमा सयौँको जीवन जोखिममा रहेको गुनासो आएको छ। नेपालले उपलब्ध सबै विश्वसनीय उद्धार तथा राहत सहयोग तत्काल स्वीकार गर्नुपर्ने माग भएको छ।

बाढी प्रभावित क्षेत्रमा पुगेका अर्थमन्त्री स्वर्णिम वाग्लेसँग विदेशी विपद् सहायता लिन ढिलो हुनुको कारण पीडितले सोधेका छन्। नेपालले मात्र उद्धार गर्न नसक्ने देखिएकाले तत्काल अन्तर्राष्ट्रिय सहयोग माग्न उनीहरूले आग्रह गरे।

परराष्ट्रमन्त्री शिशिर खनालले विदेशी उद्धार टोलीको सहायता प्रस्ताव अस्वीकार गरिएको भन्ने कुरा गलत रहेको बताएका छन्। शनिवार परराष्ट्र मन्त्रालयमा पत्रकार सम्मेलन गरी आवश्यकता अनुसार विशेष प्रकृतिको सहयोगका लागि मित्र राष्ट्रहरूसँग आग्रह गरिरहेको उनले बताए।

‘यो कसले सहयोग प्रस्ताव गरिरहेको छ भनेर सोध्ने समय भने होइन। यो त त्यो सहयोगले कति धेरै जीवन बचाउन सक्छ भनेर हेर्ने समय हो। सबैले आ–आफ्नो क्षमता प्रयोग गरेर सहयोग गरौँ।’

समाचार शेयर गर्नुहोस्
93
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.