भोटेकोशी बाढी : उद्धारमा सकस, शव व्यवस्थापनमा संकट

भोटेकोशी बाढी : उद्धारमा सकस, शव व्यवस्थापनमा संकट

91
SHARES
तस्बिर नेपाली सेना

काठमाडौँ – भोटेकोशी बाढीले तहसनहस बनाएको प्रभावित क्षेत्रका नागरिकले तत्काल उद्धार र राहतको व्यवस्था गर्न माग गरेका छन्। सम्पर्कविहीन भएका आफन्तहरूले सरकारको काम प्रभावकारी नभएको आरोप लगाउन थालेका छन्।

राज्यका सम्पूर्ण संयन्त्र परिचालित भएर खोज तथा उद्धारसँगै जीवितहरूका लागि खाने–बस्ने व्यवस्थापन द्रुत रूपमा गरिरहेका छन्। राज्य संयन्त्र अहोरात्र खटिएको छ। जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूलाई बाहिर निकाल्ने प्रयास जारी छ। तर, आफन्तहरू भने तत्कालै सम्पर्क गर्न खोजिरहेका छन्। उनीहरू सरकारसँग रिसाएका छन्।

सम्पर्कविहीन भएका नागरिकको खोज तथा उद्धारसँगै बाढी प्रभावित नागरिकको खाने–बस्ने व्यवस्थापनमा समेत चुनौती देखिएको छ। राहत सामग्री बोकेर प्रभावित क्षेत्रमा पुग्नेहरूको लर्को लागेको छ।

प्रभावित क्षेत्रमा खटिएका जनशक्तिलाई भेटिएका शव व्यवस्थापन, सम्पर्कविहीनहरूको खोज तथा उद्धारमा भ्याइनभ्याई भएको छ। प्राथमिकताका आधारमा काम गरिरहेको नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले बताए।

निजी हेलिकप्टर प्रयोग गरेर भए पनि सम्पर्कविहीन भएकाहरूको उद्धार गर्ने काममा सरकारको अनुमति लिनुपर्ने उनले बताए। प्रभावित क्षेत्रमा गृहमन्त्री सुधन गुरुङ नै खटिँदा काममा हौसला बढेको अनुभूति प्रमुख जिल्ला अधिकारी रेग्मीले सुनाए।

बाढीले कतिपय परिवारमा रुवावासी चलेको छ। बालबालिकाले अभिभावक गुमाएका छन् भने अभिभावक बालबालिका गुमाउनुपरेको पीडामा छन्। उनीहरूको पीडा सुनिदिन राज्यका निकायलाई सकस परिरहेको छ।

बाढीले बगाएकाहरूको शव सङ्कलन, हराइरहेकाहरूको खोजी र सुरुङभित्र फसेकाहरूको उद्धारमा नै राज्य संयन्त्र परिचालित भएको छ। पीडा सुन्ने फुर्सद राज्य संयन्त्रले पाउन सकेको छैन।

राजनीतिक दलहरूले पनि राज्यलाई दिल खोलेरै सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। प्रभावित क्षेत्रमा पुगिरहेका छन्। स्थानीयको गुनासो सुनेर समाधानको पहल गरिरहेका छन्। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सोमबार प्रभावित क्षेत्रमा जान लागेको बताउँछन्।

बाढीमा ज्यान गुमाएकाहरूको शव धमाधम फेला पर्न थालेका छन्। आइतबार साँझसम्म ७ सय ९४ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। जसमध्ये रसुवामा १३ जना, नुवाकोटमा ५२ जना, धादिङमा ५० जना, चितवनमा २ सय ६४ जना, गोरखामा ६१ जना, तनहुँमा ३७ जना, नवलपरासी पूर्वमा १ सय ९७ जना र नवलपरासी पश्चिममा १ सय २० जना गरी ७ सय ९४ जनाको शव फेला परेको हो।

काठमाडौँको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालको शवगृह करिब–करिब भरिएको छ। त्रिवि शिक्षण अस्पतालका फोरेन्सिक विज्ञ डा. गोपाल चौधरीका अनुसार बाढीमा ज्यान गुमाएर ल्याइएका शवहरू अधिकांश कुहिएको र क्षतविक्षत अवस्थामा छन्। शव राख्ने ठाउँको पनि अभाव भएको छ।

परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रसचिव अमृतबहादुर राईले मृत शरीर व्यवस्थापनका लागि एयरटाइट ब्याग, फ्रिजर र डिएनए टेस्टिङ किट्सको आवश्यकता रहेको बताए।

सरकारले शव राख्नका लागि १ हजार फ्रिजर आवश्यक रहेको भन्दै विभिन्न देशसँग अनुरोध गरेको सचिव राईले जानकारी दिए।

शव व्यवस्थापनमै सरकारलाई सकस परेको छ। पहिचान हुन नसकेका शवहरू राख्ने ठाउँको अभाव भएको छ। समयमै सरकारले अन्तर्राष्ट्रिय सहयोग आह्वान नगर्दा गुनासो बढेको छ। जसको जवाफ दिनहुँ पत्रकार सम्मेलन गरेर परराष्ट्र मन्त्रालयले दिनु परेको छ।

पृथ्वी राजमार्ग पूर्णरूपमा अवरुद्ध

आइतबार बिहान आएको बाढीले धादिङको गल्छी गाउँपालिका वडा नं. ४, चिरौदी खोलाको छेउमा रहेका चार घर बगाएको छ। गल्छी गाउँपालिका–६, धादिङका वडाध्यक्ष दीपककुमार कार्कीले जानकारी दिए।

यस्तै, त्रिशूली नदीमा आएको बाढीले चिरौँदीमा रहेको झोलुङ्गे पुल बगाएको छ। बिहान त्रिशूली नदीमा आएको ठूलो बाढीले गोरखाको गण्डकी गाउँपालिका र धादिङको बेनीघाट रोराङ गाउँपालिका जोड्ने चिरौँदी झोलुङ्गे पुल बगाएको हो। बाढीले त्रिशूली नदीमाथि बनेको धवादीस्थित अर्को झोलुङ्गे पुलमा पनि क्षति पुर्‍याएको छ।

कृष्णभिरमा सडक भासिएपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। आइतबार बिहान त्रिशूली नदीमा आएको बाढीका कारण धादिङको बेनीघाट रोराङ गाउँपालिका कृष्णभिरमा सडक भासिएको हो। सडक भासिएका कारण अहिले यो सडकमा यातायात आवागमन पूर्ण रूपमा बन्द गरिएको छ।

सडक भासिएपछि चितवनतर्फबाट पृथ्वीराजमार्गतर्फ गुड्ने सवारीसाधनलाई सुरक्षित स्थानहरूमा रोकिएको चितवनका प्रहरी नायब उपरीक्षक सुवास भट्टले जानकारी दिए। काठमाडौँबाट गएका सवारीसाधन पनि बीचमै रोकिएका छन्।

यसअघि भोटेकोसी नदीमा पुनः बाढी आएको खबर फैलिएसँगै आइतबार बिहान ४ बजेपछि रोकिएको सडकमा ७ बजेदेखि गाडी चल्न थालेका थिए। अहिले पुनः सडक बन्द भएपछि यात्रुहरू बिचल्लीमा परेका छन्। नदीको बहाव बढ्दै गएपछि सडकको केही भाग कटानमा परेको छ। सडक भासिएपछि सडक विभागले मुग्लिन–काठमाडौँ सडकखण्डमा पर्ने कृष्णभिरमा भासिएको सडकको प्राविधिक अध्ययन थालेको छ।

राजधानी प्रवेश गर्ने मुख्य राजमार्ग नै बन्द भएपछि अत्यावश्यक सामग्री र पेट्रोलियम पदार्थको ढुवानी प्रभावित हुन नदिन नेपाल आयल निगमले आपूर्तिमा कुनै समस्या नहुने जनाएको छ।

धादिङ बेनीघाट रोराङ गाउँपालिकास्थित कृष्णभिर नजिकै त्रिशूली नदीले कटान गरेर सडक भासिएपछि मुग्लिन–काठमाडौँ सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएपछि अत्यावश्यक सामग्री अभाव हुने आशंकाबीच आयल निगमले आपूर्तिमा समस्या नहुने जनाएको हो।

राजमार्ग अवरुद्ध भएलगत्तै निगमले वैकल्पिक मार्गमार्फत पेट्रोलियम पदार्थ र खाना पकाउने एलपी ग्यास काठमाडौँ ल्याउने वैकल्पिक मार्गको तयारी थालेको छ। निगमका कार्यकारी निर्देशक नागेन्द्र साहले सडक अवरुद्ध भएपछि मकवानपुर (हेटौँडा) को वैकल्पिक बाटो प्रयोग गरेर इन्धन भित्र्याइने जानकारी दिए।

साहका अनुसार इन्धन आपूर्तिको मुख्य ‘ब्याकअप’ अमलेखगन्ज डिपो हो, जहाँ पाइपलाइनबाट सिधै तेल आउने भएकाले काठमाडौँमा पेट्रोलियम पदार्थको समस्या हुँदैन।

१६ विद्यालयमा क्षति

भोटेकोसीमा आएको बाढीले तीन जिल्लामा १६ विद्यालयमा क्षति पुगेको छ भने २३८ विद्यार्थी र १३ शिक्षक सम्पर्कविहीन रहेका छन्। शिक्षा तथा खेलकुद मन्त्रालयका अनुसार शनिवारसम्म प्राप्त प्रारम्भिक विवरणमा तीन जिल्लाका १६ विद्यालयमा क्षति पुगेको छ। ती विद्यालयमा अध्ययनरत विद्यार्थी र शिक्षक गरी २५१ जना सम्पर्कविहीन भएको तथ्याङ्क आएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले लिएको प्रारम्भिक विवरणअनुसार रसुवाका चार, नुवाकोटका आठ र धादिङका चार विद्यालयमा पूर्ण, आंशिक र सामान्य क्षति पुगेको छ। रसुवाको उत्तरगया र गोसाईंकुण्ड गाउँपालिका, नुवाकोटको विदुर नगरपालिका, धादिङको गल्छी गाउँपालिका र नीलकण्ठ नगरपालिकाका विद्यालयमा क्षति पुगेको मन्त्रालयले जनाएको छ। यी स्थानीय तहका अधिकांश विद्यालय बगाएको छ। केहीका कक्षाकोठामा लेदो, बालुवा र माटोले पुरिएको मन्त्रालयले जनाएको छ।

रसुवाका चार विद्यालय पूर्णरूपमा नै क्षति भएका छन्। यस्तै, नुवाकोटका चार विद्यालयमा पूर्ण र चारमा आंशिक क्षति पुगेको छ। धादिङको एक विद्यालय पूर्ण क्षति भएको छ भने तीनमा आंशिक क्षति पुगेको मन्त्रालयले जनाएको छ।

पालिका प्रमुखहरूको गुनासो

बाढी प्रभावित क्षेत्रमा उद्धारमा ढिलाइ भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारसँग असन्तुष्टि बढ्न थालेपछि सभापति रवि लामिछानेले अग्रसरता लिएका छन्।

बाढीले तहसनहस पारेका तीन जिल्लाका बाढी प्रभावित पालिका प्रमुख र उपप्रमुखसँग उनले टेलिफोन संवाद गरेका हुन्। आइतबार बिहान लामिछानेले पार्टी कार्यालयमै बसेर बाढीग्रस्त रसुवा, धादिङ र नुवाकोटसहितका पालिका प्रमुख र रास्वपाकै जिल्ला सभापतिसँग पनि छलफल गरे। पालिका प्रमुखहरूले सरकारले प्रभावित क्षेत्रमा अहिलेसम्म उद्धार गर्न नसकेको गुनासो गरे।

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले राज्यको सामर्थ्यमाथि एकाधिकार जमाउँदा विपद् व्यवस्थापन र उद्धार कार्य प्रभावकारी हुन नसकेको टिप्पणी गरेका छन्।

आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा रसुवाको बाढी पहिरोसम्बन्धी स्थलगत अनुगमन प्रतिवेदन बुझ्दै अध्यक्ष ओलीले सरकारको कार्यशैलीप्रति आलोचना गरेका हुन्।

नेपाली कांग्रेसले बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा रु. एक करोड जम्मा गर्ने भएको छ। पार्टीको केन्द्रीय कार्यालयमा बसेको बैठकबारे जानकारी दिँदै प्रवक्ता देवराज चालिसेले एक करोड रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय भएको बताए।

कोशी प्रदेश सचिव निरौला टिमुरेमा

कोशी प्रदेश सचिव कोषहरि निरौलालाई सङ्घीय सरकारले शव व्यवस्थापनका लागि भन्दै रसुवाको टिमुरे खटाइएको छ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार मन्त्रीस्तरीय निर्णय गरेर उनलाई टिमुरे खटाउने निर्णय गरेको हो।

उनले शनिवार मात्रै फेसबुकमा ‘फोकटको सल्लाह’ भन्दै सरकारलाई लामो सुझाव लेखेका थिए। कोभिडको समयमा आफू मोरङको प्रमुख जिल्ला अधिकारी रहेको र त्यो बेला शव व्यवस्थापनबारे काम गरेको भन्दै फेसबुकमा अनुभव लेखेका थिए।

सोही क्रममा उनले शव गाड्नु उपयुक्त नहुने विचार राखेका थिए। आफ्नो धर्म, परम्पराअनुसार अन्तिम संस्कार गर्न पाउनुपर्ने तर्क राख्दै निरौलाले शव गाड्न नहुने विचार राखेकै भोलिपल्ट काजमा सरुवा गर्ने निर्णय गरिएको हो।

ठगी गर्ने युवक पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाममा नक्कली स्टेटमेन्ट बनाएर ठगी धन्दा चलाउने एक व्यक्तिलाई रामेछाप प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रामेछापले प्रेस विज्ञप्ति जारी गर्दै गोकुलगंगा गाउँपालिका–२, ठोसे बस्ने ३२ वर्षीय भगवान कार्कीलाई नियन्त्रणमा लिइएको जनाएको छ।

गत भदौ १० गते रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितका लागि सरकारले जारी गरेको उद्धार कोषमा आफूले १ लाख २० हजार रुपैयाँ जम्मा गरेको भन्दै कार्कीले कृत्रिम बौद्धिकताको प्रयोग गरी नक्कली भौचर तथा स्टेटमेन्ट तयार पारेका थिए।

त्यसपछि उक्त नक्कली स्टेटमेन्टसँगै आफ्नै व्यक्तिगत क्यूआर कोड राखेर सामाजिक सञ्जालमा पोस्ट गरी सर्वसाधारणबाट रकम सङ्कलन गर्ने प्रयास गरेको पाइएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

केरुङमा हराइरहेका १०४ जना नेपाली

भदौ १० को बाढीमा चीनतर्फ १०४ जना नेपाली बेपत्ता भएको चिनियाँ पक्षले जनाएको छ। सीमा क्षेत्रको केरुङ नाका बाढीले छोप्दा हालसम्म चीनतर्फ १६ जनाको ज्यान गएको पुष्टि भएको छ।

उद्धार कार्यमा खटिएका अधिकारीहरूले आइतबार दिएको जानकारीअनुसार सो क्षेत्रबाट अझै ५४६ जना हराइरहेका छन्। त्यसमध्ये २६१ जना विदेशी हुन्। २६१ विदेशीमध्ये १०४ जना चाहिँ नेपाली भएको चिनियाँ अधिकारीहरूको भनाइ छ।

नेपालस्थित चिनियाँ दूतावासले नेपाली पक्षसँगको समन्वयमा उद्धार कार्य चलिरहेको जनाएको छ। बाढीपछि नेपालतर्फ फसेका ९४ जना चिनियाँ नागरिकलाई उद्धार गरेर चीन फर्काइएको दूतावासलाई उद्धृत गर्दै चिनियाँ सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सले जनाएको छ।

समाचार शेयर गर्नुहोस्
91
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.