भोटेकोशीले बगाएका शव भारतमा फेला, डीएनएका लागि नमुना दिन आग्रह

भोटेकोशीले बगाएका शव भारतमा फेला, डीएनएका लागि नमुना दिन आग्रह

92
SHARES

काठमाडौँ — रसुवा बाढीका मृतकको संख्या ९ सय ५१ पुगेको छ। नेपाल प्रहरीका अनुसार रसुवामा ३२ जनाको शव सङ्कलन भएको छ।

नुवाकोटमा ९५ जना, धादिङमा ५६ जना र चितवनमा २ सय ८२ जनाको शव सङ्कलन भएको प्रहरीले जनाएको छ। गोरखामा ६५ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २ सय १६ जना, नवलपरासी पश्चिममा १ सय ६३ जना र भारतमा ४ जना गरी ९ सय ५१ जनाको शव फेला परेको हो।

भोटेकोशीमा आएको बाढीले बगाएका शवहरू भारतसम्म पुगेको र भारतमा समेत ४ वटा शव फेला परेको प्रहरीले जनाएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार तीन हजार ९२५ जना सम्पर्कविहीन रहेका छन्। प्राधिकरणले हालसम्म २७९ जना घाइते रहेको जनाएको छ। जसमध्ये १६८ जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन्। नेपाली सेनाले दुई हजार ७०० जनाको उपचार गरेको पनि प्राधिकरणले जनाएको छ।

भोटेकोशीमा आएको बाढीले बगाएका ७२ वटा शव चितवन राष्ट्रिय निकुञ्जको नारायणी नदीबाट सेनाले निकालेको छ। श्री नयाँ गोरख गणले ७१ शव नदीबाट निकालेको हो।

शव निकालेपछि मुचुल्काका लागि प्रहरीलाई बोलाएर जिम्मा लगाउने गरिएको सेनाले बताएको छ। निकुञ्ज क्षेत्र भएकाले जो–कोहीले प्रवेश पनि नपाउने भएकाले यी क्षेत्रहरूमा नेपाली सेनाको टोलीले नै शव निकाल्ने काम गर्दै आएको छ। बोटमार्फत नदी वारपार गर्दै निकै जोखिम मोलेर शव निकालिएको सेनाले बताएको छ।

रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वका प्रभावित क्षेत्रहरूमा नेपाली सेनाका ८ हजार ९ सय भन्दा बढी फौज प्रत्यक्ष रूपमा खटिई समन्वयात्मक रूपमा घाइतेहरूको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, अवरुद्ध सडक सुचारु एवम् आपत्कालीन उपचार कार्य गरिरहेको सेनाले जनाएको छ।

डीएनएका लागि रगतको नमुना दिन आग्रह

नेपाल प्रहरीले भोटेकोशी बाढीका कारण सम्पर्कविहीनहरूको परिवारलाई डीएनए परीक्षणका लागि रगतको नमुना उपलब्ध गराउन आग्रह गरेको छ।

बाढीपछि बेपत्ता भएका स्वदेशी तथा विदेशी नागरिकहरूको परिवारलाई डीएनए परीक्षणका लागि रगतको नमुना उपलब्ध गराउन प्रहरीले आग्रह गरेको हो।

बाढी प्रभावित क्षेत्रबाट फेला परेका शव तथा शरीरका अङ्गको वैज्ञानिक परीक्षण गरी बेपत्ता व्यक्तिसँग मिलान गरेर पहिचान गर्ने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। नेपाल प्रहरीले पहिचान प्रक्रिया सहज बनाउन बेपत्ता व्यक्तिका आफन्तमध्ये बाबु, आमा, छोरा वा छोरीलाई डीएनए नमुना उपलब्ध गराउन आग्रह गरेको छ।

नेपालमा रहेका आफन्तले ताजा रगतको नमुना (फ्रेस ब्लड) उपलब्ध गराउन दुई प्रति पासपोर्ट साइजको फोटोसहित नेपाल प्रहरी अस्पताल, महाराजगन्जस्थित प्याथोलोजी ल्याब वा नजिकको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ।

त्यस्तै, विदेशमा रहेका बेपत्ता व्यक्तिका प्रथम श्रेणीका आफन्तले सम्बन्धित देशको आधिकारिक फरेन्सिक प्रयोगशालामा डीएनए प्रोफाइलिङ गराउनुपर्नेछ। त्यसरी प्राप्त डीएनए प्रोफाइलको सफ्ट कपी तुलना तथा पहिचानका लागि नेपाल प्रहरीको आधिकारिक इमेलमा पठाउन प्रहरीले आग्रह गरेको छ।

प्रहरीका अनुसार डीएनए प्रोफाइल पठाउँदा सम्बन्धित व्यक्तिको पूरा नाम र राष्ट्रियता, पासपोर्ट वा परिचयपत्रको विवरण, बेपत्ता भएको मिति र स्थान (थाहा भएसम्म), आधिकारिक फरेन्सिक ल्याबबाट प्राप्त डीएनए प्रोफाइल रिपोर्ट तथा डीएनए नमुना दिने व्यक्ति र बेपत्ता व्यक्तिबीचको नाता खुल्ने विवरण समावेश गर्नुपर्नेछ।

समाचार शेयर गर्नुहोस्
92
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.