"/>

‘शासक फेरिए, सामन्ती चरित्र फेरिएन’

‘शासक फेरिए, सामन्ती चरित्र फेरिएन’

253
SHARES

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टी नेकपाकी सांसद पार्वती विकले शासक फेरिए पनि सामन्ती चरित्र नफेरिएको बताएकी छन्। पहिलो संविधान सभा सदस्य सुनिल बाबु पन्तले लैङ्गिक तथा यौनिक अल्पसंख्यक जिएसएम समुदायको राजनीतिक समावेशिता सम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गरेको कार्यक्रममा बोल्दै सांसद विकले जबजब शासकहरूको उदय हुन्छ, सामन्ती चरित्रले शासन लाद्न खोज्ने गरेको बताइन्।

उनले सामन्ती चरित्रले शासन लाद्न खोज्दा राज्यमा रहेका नागरिकहरू राज्यको पहुँचभन्दा बाहिर रहने र सत्ताको पहुँचभन्दा बाहिर रहेका नागरिकहरूले आफ्नो अधिकारका लागि सङ्घर्ष गर्नुपर्ने अवस्था आउने बताइन्।

‘जबजब शासकहरूको उदय हुन्छ, सामन्ती चरित्रले शासन लाद्न खोज्छन्। त्यसपछि त्यो राज्यमा रहेका नागरिकहरू राज्यको पहुँचभन्दा सत्ताको पहुँचभन्दा बाहिर रहन्छन्, सत्ताको पहुँचभन्दा बाहिर रहेका नागरिकहरूले अधिकारका लागि सङ्घर्ष गर्नुपर्छ। तपाईँ हाम्रो सङ्घर्ष यतिले पुगेको छैन। अझ हामीले धेरै गर्नपर्छ,’ उनले भनिन्।

सांसद विकले समाजमा एकपछि अर्को विभिन्न वर्ग, समुदाय, जातजाति र विभिन्न लिङ्गका आफ्नै शक्तिहरू देखा परिरहेको बताइन्। हिजो एउटा प्रकारको शक्ति देखा परेको र आज अर्को ढङ्गले शासन गरेको उल्लेख गर्दै उनले जुन वर्गलाई दबाइयो, त्यही वर्ग आफ्नो अधिकार प्राप्त गर्न आफ्नो पहिचानसहित अगाडि बढिरहेको बताइन्।

‘एकपछि अर्को यो समाजमा विभिन्न वर्ग, समुदाय जातजाति, विभिन्न लिङ्गको आफ्नै शक्तिहरू देखा परिरहेका छन्। हिजो एउटा प्रकारको शक्ति देखा पर्‍यो, आज अर्को ढङ्गले शासन गर्‍यो। जुन वर्गलाई दबायो, त्यो फेरी आफ्नो अधिकार प्राप्त गर्नका निमित्त आफ्नो पहिचान सहित अगाडि बढिरहेको स्थिति छ। यो राम्रो पक्ष हो,’ उनले भनिन्।

उनले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायसँग काम गर्ने अवसर पाएको उल्लेख गर्दै समुदायले भोग्नुपरेको पीडा चानचुने नरहेको बताइन्। एक्काइसौँ शताब्दीमा नेपाली समाज निकै अगाडि बढेको भनिए पनि विभिन्न आन्दोलनबाट स्थापित अधिकार कार्यान्वयनका लागि निरन्तर सङ्घर्ष गर्नुपर्ने अवस्था रहेको उनको भनाइ थियो।

तर, अधिकारका लागि समुदायले निरन्तर सङ्घर्ष गरिरहँदा आफूहरूले निरन्तर साथ दिन नसकेकोमा कमजोरी भएको महसुस हुने उनले बताइन्। आफ्नो पार्टीको घोषणापत्रमा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको अधिकार प्राप्तिका लागि पूर्ण रूपमा साथ दिने कुरा स्पष्ट रूपमा उल्लेख गरिएको र आफ्नो दलले निरन्तर त्यो विषय उठाउँदै आएको उनले बताइन्।

लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायले भोग्नुपरेको पीडा चानचुने नभएको बताउँदै उनले महिलाहरू र दलित समुदायले पनि आफ्नो अधिकार स्थापित गर्न निरन्तर सङ्घर्ष गर्नुपरेको बताइन्।

‘उहाँहरूले भोग्नु परेको पीडा चानचुने छैन। उहाँहरुमात्र होइन, सिङ्गै ५१ प्रतिशत जनसंख्या ओगटेको महिलाहरूले पनि अधिकारका लागि लड्नु नै परिरहेको छ। १३ प्रतिशत जनसंख्या ओगटेको दलित समुदायले पनि अधिकार स्थापित गर्न लड्नु परेको छ।’

सांसद विकले प्राप्त भएका अधिकारलाई सही ढङ्गले सदुपयोग गर्दै सृजनशील काममा लगाउनुपर्ने बताइन्। सबै एउटै उमेर समूहका नभएको र समुदायमा बच्चाहरू पनि रहेकाले उनीहरूलाई सधैँ विद्रोह र सङ्घर्षभन्दा नयाँ–नयाँ कुरा खोज्ने तथा सृजनशील कामतर्फ अघि बढाउनुपर्ने उनको भनाइ थियो।

उनले अधिकारलाई सही ढङ्गले प्रयोग गर्न बच्चाहरूलाई सृजनशील काम, विकास निर्माणका काम तथा देशको असल नागरिक कसरी बन्न सकिन्छ भन्ने पहिचान दिनुपर्ने बताइन्।

सांसद विकले अहिले देशमा अराजकता बढेको बताइन्। हजारौँको सङ्ख्यामा मानिस बेपत्ता रहेको र लाखौँको सङ्ख्यामा मानिस प्रभावित भएको अवस्थामा मृतकको शवबाट समेत सामान निकाल्ने घटनाले समाजको अवस्था देखाएको उनको भनाइ थियो।

‘अहिले हेर्नुहुन्छ भने हाम्रो देशमा कम्ती अराजकता बढेको छ। मान्छे हताहत भएको छ, हजारौँको सङ्ख्यामा मान्छे बेपत्ता छन्। लाखौँको सङ्ख्यामा मान्छे प्रभावित छन्। त्यस्तो अवस्थामा मरेको लाशलाई लाठीले घोचेर सुन निकाल्ने देशका भनेपछि कस्तो समाजसँग हामी हातेमालो गरिरहेका छौँ।’

उनले यस्तो घटनाले समाजमा रहेको घृणित सोचलाई पनि उजागर गरेको बताइन्। त्यस्तो सोचलाई समेत पार गरेर अघि बढ्ने अवस्थामा आफूहरू रहेको भन्दै उनले चेतनालाई गुनासोमा मात्र सीमित नराखी सृजनशीलतालाई अगाडि बढाउनुपर्ने बताइन्।

उनले प्राप्त गरेको अधिकारलाई सही ढङ्गले प्रयोग गरेर अघि बढ्नुपर्ने बताउँदै लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको अधिकार स्थापित गर्न आफ्नो दल साथमा रहेको बताइन्।

‘प्राप्त गरेको अधिकारलाई सही ढङ्गले प्रयोग गरेर जानुपर्छ। तपाईँहरूको साथमा हामी छौँ। हाम्रो साथमा तपाईँहरू हुनुहुन्छ। हातेमालो गरेर एकअर्काको अधिकारलाई स्थापित गर्न र प्राप्त गर्नका निमित्त हामी, हाम्रो दल तपाईँहरूको साथमा छ।’

समाचार शेयर गर्नुहोस्
253
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.