कथाकार भारती गौतमद्वारा सिर्जित कृति ‘फरक फूल’ भित्र १६ उत्कृष्ट कथाहरू समेटिएका छन्। कथा सङ्गालोको भूमिका भने कथाकारका गुरु दयाराम श्रेष्ठले लेख्नुभएको छ। गुरुको भूमिकाले पुस्तकभित्रका कथाहरूको समग्रतालाई राम्ररी छोएको महसुस हुन्छ नै।
‘फरक फूल’ सन्दर्भ र संयोजनभित्रबाट “कथाहरू त्यस्ता ऐना हुन्, जहाँबाट हामी आफैँलाई भेट्छौँ अनि त्यस्ता झ्यालहरू हुन्, जहाँबाट हामी अरूलाई देख्छौँ।” कथाकारको यो प्रस्तुतिले वास्तवमै कथालाई सबल रूपमा प्रतिबिम्बमा उतारिएको आभासले पाठकका हृदयका झ्याल उघारिन्छन्।
प्रकाशकीय सन्दर्भमा समकालीन साहित्य प्रतिष्ठान बेलायतका अध्यक्ष कृष्ण बजगाईँले ‘कथा सङ्ग्रहमा नेपाली डायास्पोराका स्वादिला कथाहरू छन्। प्रस्तुत कथाले नेपाली मनलाई अमेरिकाको जीवनसँग जोड्ने प्रसङ्ग’ लाई चित्रित गरेका छन्। सङ्ग्रहमा समेटिएका कथाका सन्दर्भ, शिल्प, शैली, विशेषताका दृष्टिमा एक से एक उच्च कोटिका छन्। खासमा नेपालको भूगोलभित्रका धनकुटा, विराटनगर, काठमाडौँ अनि अमेरिकी समाज जोडिएका कथाको सङ्ग्रह हो भन्दा अन्यथा हुने छैन।
‘फरक फूल’ भित्रका कथा द्वैध मानसिकताबाट उठेको भावनाप्रधान, रहस्यात्मक, अलंकारिक, कारुणिक, संवेगात्मक, विद्रोहात्मक, आधिकारिक, तुलनात्मक ढङ्गले समाजशास्त्रीय, मानवशास्त्रीय, डायास्पोरिक एवं मनोवैज्ञानिक चिन्तनले गुथिएका छन्।
सम्झनाको पुरातात्त्विक सङ्ग्रहालयबाट पनि मेटिनै लागेकी ठूली फुपूसँग जबरजस्ती तुलना गर्न मन लाग्ने रुथबारे पनि अहिले ठूली फुपूको जस्तै रूपालाई चिन्ता लाग्छ। ढाड दुख्ने रोगले कुप्रिएर हिँड्ने ठूली फुपूसँग अझै रुथलाई दाँज्न मन लाग्छ। (ठूली फुपू जस्तै रुथ, पृष्ठ ११)
क्रिसको निर्देशनअनुसार अनि उसैले आग्रह गरेअनुसार अन्य वक्ताहरूले पनि क्रिसको जीवनका विविध पक्षमा प्रकाश पारे। सबैले क्रिसको सक्रिय र ऊर्जाशील जीवन उल्लेख गरेका थिए। जीवनको आखिरी घडीसम्म क्रिस आफू मात्र बाँचेको रहेनछ, बरु उसले थुप्रै मान्छेलाई बचाएको पनि रहेछ, मलाई लाग्यो। (जीवन उत्सव, पृष्ठ २२)
कस लागेर कालो भइसकेको हजुरआमाको वाँइलाई कागतीको रस र खरानीले टल्काएर जति पटक लगाए पनि कसैको आँखा परेन। पुरानो डिजाइनको त्यो पिन अचेल नपाइएजस्तै हजुरआमाको जस्तो वाँइ पनि अचेल पाइँदैन। तर कसलागेको वाँइ टल्किने पिन जस्तो कहिल्यै भएन। (मिसेस स्मिथ, सारी पिन र हजुरआमा, पृष्ठ २९)
सिलिया, डेभिड अनि डोरोथी मेरो जीवनका अतीत, वर्तमान अनि भविष्य भएर छरिएका थिए। डोरोथीले सिलिया मेटाउनु र नमेटाउनुसँग मेरो जीवनको ठूलो फैसला निर्भर थियो। सिलिया नमेटिनुको असरको तौल डोरोथीको परिवारको भन्दा हलौँ मेरो परिवारको पनि हुँदैनथ्यो। (डोरोथीको डेट, पृष्ठ ४३)
घरभित्र बस्ने अलकाभन्दा घरबाहिर बस्ने सुचित्रा भाउजूको उपस्थिति अशोकको मनमा बढी भएजस्तो भान हुन थालेपछि अलकाले त्यो रात अशोकलाई सर्प्राइज गर्न खोजेकी थिइन्। सुचित्रा भाउजूको निरन्तरको फोन र बारम्बारको उपस्थितिले अलकालाई अशोकसँग नजिक हुने मौका नै दिँदैनथ्यो। (भाग्यमानी, पृष्ठ ६२)
कृत्रिम गर्भाधानबारे प्रशस्त अनुसन्धानपछि मात्र डायनाले जीवनको नियन्त्रण आफैँ लिने निर्णय गरेकी हुन्। त्यसपछि स्पर्म बैङ्कको ढोका ढकढकाउन पुगेका अरू थुप्रै साहसिला महिलाको पङ्क्तिमा डायना थप एक भएकी थिइन्। (डोनर नम्बर पैँतालीस, पृष्ठ ७५)
आमालाई गुमाएपछिका मेरा बाका पाँच वर्ष मेरा आँखामा टलपलाए। एन्थोनी बसेको मेचमा मेरा पिताजी बसेको देख्न थालेँ म। मैले बनाएको खाना एन्थोनीले चाटी–चाटी, थपी–थपी खाएको पनि आफ्नै बाले खाएको देख्न थालेँ। पुरोहितलाई पलङ दान दिएर पितृप्रति ढुक्क भएजस्तै आभास पनि हुन थाल्यो। (एक्लो एन्थोनी, पृष्ठ ९२)
“निशाको बिहे कोसँग हुने भयो” को उत्सुकता पटकै मेटिँदैन। काकाकाकीले टुङ्गो त गरिसक्नुभयो, अहिले बुझेर फरक नै के पर्छ र? स्वाभिमान अगाडि आउँछ। निशालाई नै फोन गरेर बुझ्न पनि मन सहज मान्दैन। यसको खास कारण पनि भेटिँदैन। कागजको निम्तो आउन्जेल पर्खिन पनि दिदीको ममताले मानेन। (बिहेको निम्तो, पृष्ठ १०३)
अर्लको छोराले अस्मिताको हातमा राखिदिएको खामभित्र अर्लको इच्छापत्र थियो। आफ्नो सम्पत्तिको एक तिहाइ अर्थात् एक लाख डलर उसले अस्मिताको नाममा लेखिदिएको रहेछ। बाँकी दुई तिहाइमा आधा मार्कका छोराछोरी जस्टिन र निकोलको पढाइका लागि छुट्याएको रहेछ। बाँकी जेथा आफू जाने गरेको चर्चका नाउँमा छोडेको थियो भनेर मार्कले बतायो। मार्कका नाममा एक पैसा पनि छैन अरे। (अर्लको इच्छापत्र, पृष्ठ ११५)
विगत ३० वर्षको फ्र्याङ्कसँगको दाम्पत्य जीवनप्रति पनि दिङ्मिङ लाग्न थाल्यो। क्याथीसँगको मित्रताले व्यङ्ग्य गरेजस्तो लाग्न थाल्यो। क्याथी र फ्र्याङ्कको निकटताका सबै क्षणहरू सजीव भएर नोराको आँखाअघि नाच्न थाले। मनमा क्रमशः ग्लानिको अग्नि दन्किन थाल्यो। (नोरा र नियति, पृष्ठ १२१)
“बाहिरबाट आउने आमाबाबुका छोरा र छोरीले पनि यहाँकै आमाबाबुबाट जन्मिएका केटाकेटीले जस्तै व्यक्तिगत स्वतन्त्रताको अनुभव गर्न सकून् भन्ने एउटै मेरो लक्ष्य हो।” इजवेलाको मुखबाट यो वाक्य निस्किँदा मेरो मुख सुक्यो। (इजवेलाको कथा, पृष्ठ १४१)
“तिमीले पूरा गर्न नपाएको वाक्य आमाले पूरै सुन्नुभयो, सिर्जना! हामीले नभनेको पनि आमाहरूले सुन्नुहुन्छ।” मीनाको बोली पनि उनको जत्तिकै रुन्चे भएको थियो। तर सिर्जनाको त्यो वाक्य मीनाको मनमा अझै गढिएर बसेको छ। अब त त्यो वाक्य साँच्चै कहिल्यै पूरा हुन सक्दैन भन्ने मीनालाई लागेको थियो। (अधुरो वाक्य, पृष्ठ १५६)
न्यान्सीको जीवनभरको आकाङ्क्षा क्रिस्टललाई पत्ता लगाएर भेट गर्नु थियो। क्रिस्टल पत्ता लागेको भए त स्कुल आउने होस् पनि न्यान्सीसँग रहन बाँकी रहने थिएन। मेरा मनमा अनुमानहरू पानीको फोहोराजस्तै उठ्दै र बस्दै गरे। (न्यान्सी र क्रिस्टल, पृष्ठ १६०)
आफ्नो मनको स्वीकृतिभन्दा पनि आमाबुबाको अनुहारबाट विषादका केही चाउरी घटाउन रमला अमेरिका आएकी अरे। हो, तिम्री साथी रमला नै हिजोकी रञ्जीता हुन्। प्रभाको अनुहारमा अलिकति विषाद देखियो। यहाँ आएर रमला र रञ्जीता उही भएको औपचारिक पुष्टि हुन्छ। (रमला कि रञ्जीता, पृष्ठ १८४)
अञ्जुलाई सबैभन्दा मनपर्ने रातो साडीको रङसँग मिल्ने गरी १००% पस्मिना लेखेको रातो पस्मिनाको खास्टो थियो। यो पहिलो पटक समीरले आफैँ किनेको उपहार थियो। अञ्जुले देख्छिन् भनेर उनले आफ्नो अफिसको झोलामा लुकाएर राखेका थिए। (रातो पस्मिना, पृष्ठ २०७)
सुजताको दमित मातृत्वको प्रस्फुटन हुने सीमा आजै नाघेछ। असनमा देखेको त्यो बालक डोर्याउने आमाबाट खोसेर आफ्नो अँगालामा बेर्ने तीव्र रहर जागेको थियो। छातीबाट छुटिन नसक्ने गरी टाँसी राख्ने प्यास लागेको थियो। आमासँग थुतेर घरमा ल्याई काखबाट उम्किनै नदिऊँ जस्तो लागेको थियो। धित मरुन्जेल वात्सल्य खन्याउन औडाहा भएको थियो। (मातृत्व कोसँग, पृष्ठ २१५)
एवम् रीतले ‘फरक फूल’का अधिकांश कथाहरू अतीत र वर्तमानबाट फेरि अतीततर्फ मोडिएका छन्। कथाका विशेषतामा भने नारी पात्रहरूलाई विविध विम्ब र पक्षको भूमिकामा सफलतापूर्वक उतारिएको छ। अर्थात्, विषयवस्तुमा अधिक नारी उपस्थितिको पार्थक्यका चरित्रप्रधान कथाले आजको विश्व परिवेशको लैङ्गिक अवधारणालाई झकझकाउँदै नवजागृति गराउन प्रेरित गरेका छन्।
प्रस्तुत १६ वटा कथाहरूमा खास गरी नेपाली अमेरिकी र अमेरिकी नेपाली समाजका संस्कार, संस्कृतिभित्रका विविध पक्षलाई उजागर गरिएको छ। अतः त्यसमा पनि ती नै समाजका वृद्धवृद्धाहरूका कथा–व्यथासँगै नयाँ पुस्ताका दाम्पत्य जीवनजस्ता विषयवस्तुमा नवीनता थपिएका डायास्पोरिक सन्दर्भहरू जोडिएका छन्।
मार्मिक, कारुणिक, संवेदनात्मक एवम् लैङ्गिक अवधारणाभित्र मनोवैज्ञानिकताको दृष्टिकोणले घटनालाई रहस्यात्मक ढङ्गले प्रस्तुत गरिएका कथाहरूले पाठकलाई भावुक बनाउने हुँदा समग्रतामा भावना प्रधान छन्। र, कथाहरू आधुनिक समाज परिवेशमा हुर्कँदै गरेको नयाँ पुस्ताका निमित्त सन्देशमूलक त अवश्य छन् नै। कथाहरू उच्च कोटिका लाग्दछन्।
यति गहन शिल्प र शैलीले भरिएको ‘फरक फूल’ कथा सङ्ग्रहको पुस्तक उपलब्ध गराई लेख्न प्रेरित गर्नुहुने गुरु प्रा.डा. गोविन्दराज भट्टराईप्रति आभार व्यक्त गर्दछु। कथाहरूलाई श्रेणीमा वर्गीकरण गर्न सकिन्न, सबै कथाले आफ्नो मूल्य र मान्यताको महत्त्व दर्शाएकै छन्।
नेपाल, अमेरिका अनि अमेरिकी नेपाली समाज परिवेशलाई विविध विम्बका शीर्षकमार्फत भावनात्मक, तुलनात्मक, संस्मरणात्मकजस्ता शिल्प र शैलीमा प्रस्तुत गर्ने वरिष्ठ कथाकार भारती गौतमको लेखन शिल्प प्रशंसनीय छ, अनुकरणीय छ।
दमक–१, झापा
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.