कालीकोट – हाडजोर्नी तथा नशारोगसम्बन्धी समस्या आएपछि उपचारका लागि जुम्ला वा सुर्खेत पुग्नुपर्ने कालीकोटवासीको बाध्यता अब कम हुने भएको छ। जिल्ला अस्पताल कालीकोटमा भदौ ११ गतेदेखि हाडजोर्नी तथा नशारोग विशेषज्ञ सेवा नियमित रूपमा सुरु भएपछि सामान्यदेखि जटिल प्रकृतिका हाडजोर्नीसम्बन्धी बिरामीले जिल्लामै विशेषज्ञ उपचार सेवा पाउने भएका हुन्।
विशेषज्ञ सेवा सुरु भएको केही दिनमै जिल्ला अस्पताल कालीकोटमा सोमबार तीन वर्षीया बालिकाको कुहिनोको हड्डी भाँचिएको जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ। तिलागुफा नगरपालिका–६ की बालिकाको कुहिनोको हड्डी भाँचिएपछि जिल्ला अस्पतालमै शल्यक्रिया गरिएको हो।
हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा. सागर ढकालको नेतृत्वमा भएको शल्यक्रियामा एनेस्थेसिया सहायक विकास न्यौपाने र स्क्रब नर्स कविता शाहीले उपचारमा सहयोग गरेका थिए।
जिल्लामै हाडजोर्नीसम्बन्धी गम्भीर प्रकृतिको शल्यक्रिया सफल भएपछि कालीकोटको स्वास्थ्य सेवामा विशेषज्ञ उपचारको दायरा विस्तार हुने अपेक्षा गरिएको छ। यसअघि हाडजोर्नी तथा नशारोगसम्बन्धी समस्या भएका बिरामीले विशेषज्ञ उपचारका लागि जिल्लाबाहिर जानुपर्ने अवस्था थियो।
कालीकोट जिल्ला अस्पतालमा हाडजोर्नी तथा नशारोगसम्बन्धी विशेषज्ञ चिकित्सकको दरबन्दी भए पनि चिकित्सक उपलब्ध नहुँदा सेवा नियमित सञ्चालन हुन सकेको थिएन। विशेषज्ञ सेवा आवश्यक पर्ने बिरामीलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला वा प्रदेश अस्पताल सुर्खेत पुग्नुपर्ने बाध्यता रहँदै आएको थियो।
कहिलेकाहीँ जुम्लाबाट शुक्रवार जिल्ला अस्पताल कालीकोटमा विशेषज्ञ चिकित्सक आउने व्यवस्था भए पनि त्यसले जिल्लाका सबै बिरामीको आवश्यकता पूरा गर्न कठिन हुने गरेको थियो। विशेषज्ञ चिकित्सक आउने जानकारी पाएपछि हाडजोर्नीसम्बन्धी समस्या भएका बिरामीको भीड लाग्ने गरेको थियो। एकै दिनमा धेरै बिरामी उपचारका लागि आउने, आवश्यक उपकरण तथा सेवा सीमित हुने र कतिपय बिरामीलाई थप उपचार आवश्यक पर्ने भएकाले पुनः जुम्ला वा सुर्खेत रिफर गर्नुपर्ने अवस्था रहँदै आएको थियो।
जिल्लाबाहिर उपचारका लागि जानुपर्दा बिरामी तथा आफन्तले यातायात, बसाइँ र खानपानमा अतिरिक्त खर्च गर्नुपर्ने अवस्था थियो। दुर्गम भूगोलका कारण सामान्य उपचारका लागि समेत लामो दूरी पार गर्नुपर्ने बाध्यता कालीकोटवासीका लागि स्वास्थ्य सेवाको पुरानै समस्या हो।

अब जिल्लामै विशेषज्ञ सेवा
प्रदेश अस्पताल सुर्खेतबाट सरुवा भएर आएका हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा. सागर ढकालले जिल्ला अस्पताल कालीकोटमा सेवा सुरु गरेपछि हाडजोर्नीसम्बन्धी उपचार जिल्लामै नियमित हुन थालेको हो।
जिल्ला स्वास्थ्य सेवा व्यवस्थापक डा. रत्नवीर सुनारका अनुसार हाडजोर्नी तथा नशारोगसम्बन्धी उपचार सेवा जिल्ला अस्पतालबाट नियमित रूपमा सुरु भएको छ। यससँगै त्यस्ता समस्या भएका बिरामीलाई उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता कम हुने उनको भनाइ छ।
“अब सामान्य हाडजोर्नी तथा नशारोगसम्बन्धी समस्या भएका बिरामीलाई सम्भव भएसम्म जिल्ला अस्पतालबाटै उपचार गरिनेछ,” डा. सुनारले भने।
जिल्लामा उपलब्ध जनशक्ति, उपकरण र उपचार क्षमताले भ्याउने बिरामीलाई अनावश्यक रूपमा अन्यत्र रिफर गर्नुपर्ने अवस्था नआउने अस्पतालको अपेक्षा छ।
तर जटिल प्रकृतिका बिरामीलाई भने आवश्यकताअनुसार थप उपचारका लागि सुविधासम्पन्न अस्पतालमा पठाउनुपर्ने हुन सक्छ। हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा. ढकालका अनुसार सामान्य समस्या भएका बिरामीले विशेषज्ञ चिकित्सक देखाउनकै लागि अब जुम्ला वा सुर्खेत पुग्नुपर्ने अवस्था अन्त्य भएको छ।
सोमबार गरिएको तीन वर्षीया बालिकाको कुहिनोको सफल शल्यक्रियालाई जिल्ला अस्पतालमा सुरु भएको नयाँ विशेषज्ञ सेवाको महत्त्वपूर्ण सुरुवातका रूपमा हेरिएको छ। यसअघि यस्तै प्रकृतिका समस्या लिएर बिरामी अस्पताल पुग्दा विशेषज्ञ सेवा र आवश्यक पूर्वाधारको अभावमा जिल्लाबाहिर पठाउनुपर्ने अवस्था थियो। अहिले भने विशेषज्ञ चिकित्सककै नेतृत्वमा जिल्ला अस्पतालमा शल्यक्रिया सम्भव भएको छ।
यसले जिल्लाका नागरिकमा स्थानीय स्वास्थ्य संस्थाप्रतिको विश्वास बढाउने अपेक्षा गरिएको छ। अस्पतालमै विशेषज्ञ सेवा उपलब्ध हुँदा उपचारका लागि बाहिर जानुपर्ने समय र खर्चसमेत घट्ने विश्वास गरिएको छ।

जुम्लाबाट अब मानसिक र छालारोगका विशेषज्ञ मात्रै आउने
कालीकोट जिल्ला अस्पतालमा हाडजोर्नी तथा नशारोगसम्बन्धी विशेषज्ञ चिकित्सक नहुँदा यसअघि जुम्लाबाट विशेषज्ञ चिकित्सक आउने गरेका थिए। तर कालीकोटमै हाडजोर्नी तथा नशारोगसम्बन्धी विशेषज्ञ सेवा सुरु भएपछि जुम्लाबाट विशेषज्ञ चिकित्सक बोलाउनुपर्ने अवस्था पनि कम हुने भएको छ।
जिल्ला अस्पताल कालीकोटका प्रमुख डा. रत्नवीर सुनारका अनुसार अब जिल्लामा उपलब्ध नभएका विशेषज्ञ सेवामध्ये विशेषगरी मानसिक तथा छालासम्बन्धी समस्याका बिरामीका लागि आवश्यकताअनुसार जुम्लाबाट चिकित्सक आउने व्यवस्था रहनेछ।
यसले जिल्लामा उपलब्ध विशेषज्ञ सेवाको दायरा विस्तार गर्दै हरेक स्वास्थ्य समस्याका लागि जिल्ला बाहिर जानुपर्ने अवस्थालाई क्रमशः घटाउने अपेक्षा गरिएको छ।
चुनौती अझै बाँकी
विशेषज्ञ चिकित्सक जिल्ला पुग्नु उपलब्धि भए पनि सेवा नियमित र दीर्घकालीन रूपमा सञ्चालन गर्नु अर्को चुनौती रहेको स्थानीयको भनाइ छ। दुर्गम जिल्लामा विशेषज्ञ चिकित्सकको दरबन्दी भए पनि चिकित्सक नपुग्ने वा लामो समयसम्म टिक्न नसक्ने समस्याका कारण नागरिकले विशेषज्ञ स्वास्थ्य सेवाबाट वञ्चित हुँदै आएका छन्।
कालीकोटमा पनि हाडजोर्नी तथा नशारोग विशेषज्ञको दरबन्दी भए पनि चिकित्सक अभावकै कारण लामो समयसम्म सेवा सञ्चालन हुन सकेको थिएन। त्यसैले अहिले सुरु भएको सेवा निरन्तर राख्न चिकित्सक, आवश्यक उपकरण, औषधि तथा शल्यक्रियाका लागि आवश्यक जनशक्ति व्यवस्थापनमा ध्यान दिनुपर्ने सरोकारवालाहरूको सुझाव छ।
डा. ढकालले पनि दुर्गम क्षेत्रमा विशेषज्ञ चिकित्सकको सेवा विस्तारसँगै चिकित्सकलाई दुर्गम क्षेत्रमा टिकाइराख्ने नीति आवश्यक रहेको बताए।
वर्षौँदेखि हाडजोर्नी तथा नशारोगसम्बन्धी सामान्य उपचारका लागि समेत बिरामीलाई जिल्लाबाहिर रिफर गर्नुपर्ने अवस्था रहेको जिल्ला अस्पतालमा अब विशेषज्ञ चिकित्सककै उपस्थितिमा उपचार र शल्यक्रिया सम्भव हुन थालेको छ। यससँगै जिल्ला अस्पताल कालीकोट बिस्तारै ‘रिफर अस्पताल’को पहिचानबाट ‘उपचार गर्ने अस्पताल’ बन्ने दिशामा अघि बढिरहेको देखिएको छ ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.