पहिराले अवरुद्ध कर्णाली राजमार्ग खुल्यो, दुईतर्फी यातायात सञ्चालन

पहिराले अवरुद्ध कर्णाली राजमार्ग खुल्यो, दुईतर्फी यातायात सञ्चालन

45
SHARES
पहिरोले अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएपछि गन्तव्य तर्फ जाँदै सवारीसाधन । तस्बिर : मानबहादुर/पहिचान डटकम

कालीकोट – अविरल वर्षासँगै आएको पहिरो, हिलो र गेग्रानका कारण अवरुद्ध भएको कर्णाली राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आएको छ।

शनिवार बेलुका ७ बजेदेखि अवरुद्ध भएको कर्णाली राजमार्गअन्तर्गत कालीकोटको गगने खोला, एस मोड, सिम्ले खोला, सिम्ले मोड र पिली खण्ड दिउँसोदेखि दुईतर्फी रूपमा सञ्चालनमा आएको हो।

सडकमा थुप्रिएको हिलो, गेग्रान तथा पहिरो हटाउँदै सडक डिभिजन कार्यालय जुम्लाले उच्च प्राथमिकताका साथ काम गरेपछि राजमार्ग पुनः सञ्चालनमा सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख श्रवणकुमार महताराले जानकारी दिए।

अवरुद्ध सडक खुलाउन सडक डिभिजन, स्थानीय प्रशासन, प्रहरी तथा सम्बन्धित निकायबीच समन्वय र सहजीकरण गरिएको थियो।

यसअघि पहिरोका कारण कर्णाली राजमार्गको जुम्ला–मान्म खण्डका विभिन्न स्थानमा यातायात प्रभावित भएको थियो। सडक डिभिजन कार्यालयले सेरावाडा, सिम्ले र सिम्ले मोडलगायतका स्थानमा मेसिन तथा प्राविधिक टोली परिचालन गरी सडक खुलाउने काम गरेको थियो। पिली क्षेत्रमा समेत सडकमा क्षति पुगेपछि आवश्यक संरचना तथा मेसिन प्रयोग गरी आवागमन सञ्चालनमा ल्याइएको थियो।

विशेषगरी कालीकोटको गगने खोला कर्णाली राजमार्गमा वर्षायाममा पटक–पटक पहिरो जाने संवेदनशील क्षेत्रका रूपमा चिनिन्छ। पछिल्लो अवरोधमा समेत लगातार वर्षाका कारण लेदोसहितको पहिरो खसेपछि सडक पूर्ण रूपमा बन्द भएको थियो। पहिरोका कारण सुर्खेत, दैलेख, कालीकोट हुँदै जुम्ला जाने तथा जुम्लाबाट फर्किने यात्रुवाहक र मालवाहक सवारीसाधन बाटोमै रोकिएका थिए।

गगने खोलामा पहिरोको समस्या दीर्घकालीन रूपमा समाधान हुन नसक्दा वर्षा सुरु भएपछि पटक–पटक राजमार्ग अवरुद्ध हुने गरेको छ। यस क्षेत्रमा पहिरो रोकथामका लागि निर्माण गरिएको ग्याबिन पर्खालसमेत गत वर्षको पहिरोले बगाएको छ।

राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आएपछि कालीकोट, जुम्ला, मुगु, हुम्ला, बाजुरा लगायतका जिल्लातर्फ जाने तथा सुर्खेत, नेपालगन्ज र अन्य गन्तव्यतर्फ आउने–जाने सवारीसाधनलाई सहज भएको छ।

कर्णालीका हिमाली तथा पहाडी जिल्लालाई सुर्खेत र तराईका बजारसँग जोड्ने प्रमुख मार्ग भएकाले राजमार्ग सञ्चालनमा आउनुलाई स्थानीयवासी तथा व्यवसायीले राहतका रूपमा लिएका छन्।

यद्यपि अझै पुनः वर्षा हुने सम्भावना रहेकाले राजमार्गमा पहिरो, ढुङ्गा तथा लेदो खस्ने जोखिम कायमै छ। त्यसैले सडक पूर्ण रूपमा खुले पनि यात्रुले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न तथा जोखिमयुक्त स्थानमा विशेष सावधानी अपनाउन सम्बन्धित निकायले आग्रह गरेका छन्।

सडक सञ्चालनका लागि आवश्यक समन्वय तथा सहजीकरण गर्ने जिल्ला प्रशासन कार्यालय कालीकोट, जिल्ला प्रशासन कार्यालय जुम्ला, जिल्ला प्रहरी कार्यालय कालीकोट तथा सडक डिभिजन कार्यालय जुम्लालगायत सम्बन्धित निकायले वर्षायाममा जोखिम उच्च हुने भएकाले रातिको समयमा तथा जोखिमयुक्त स्थानमा अनावश्यक यात्रा नगर्न, सवारीसाधन सावधानीपूर्वक सञ्चालन गर्न र बाटोको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गरेका छन्।

कर्णाली राजमार्ग खुलेसँगै लामो समयदेखि बाटोमा रोकिएका यात्रु तथा मालवाहक सवारीसाधन आ–आफ्नो गन्तव्यतर्फ लाग्न थालेका छन्।

समाचार शेयर गर्नुहोस्
45
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.