अमेरिका- “मैले पटक–पटक सुनेको छु कि आन्दोलनविरोधी तत्त्वहरूले मलाई मार्ने योजना बनाइरहेका छन्। यदि मेरो मृत्युले भुटानमा लोकतन्त्र स्थापना हुन्छ भने, म यही क्षण पनि मर्न तयार छु। तर मेरो अन्तिम सास रहुन्जेल म एकताबद्ध लोकतान्त्रिक आन्दोलनका लागि निरन्तर सङ्घर्ष गरिरहनेछु।” (आर.के. बुढाथोकी) – हत्या हुनुभन्दा करिब पन्ध्र मिनेटअघि, ९ सेप्टेम्बर २००१।
बोल्न पाउने स्वतन्त्रता हरण हुँदा बुढाथोकी देश निकालामा परेका थिए। आन्दोलनले शरणार्थी बनायो। देश फर्कन नपाई शरण लिएकै ठाउँमा हत्या भयो। स्वर्गीय राजकुमार (आरके) बुढाथोकी भुटानमा लोकतन्त्र, मानव अधिकार, सामाजिक न्याय र राष्ट्रिय एकताका लागि जीवन समर्पित गर्ने अग्रणी नेता थिए।
भुटानको साम्ची जोङ्खाअन्तर्गत सिब्सु डुङ्खागको बाणा गाउँमा २६ जुलाई १९५७ मा स्वर्गीय टेकबहादुर बुढाथोकी र हरीमाया बुढाथोकीको जेठो सुपुत्रका रूपमा उनी जन्मेका थिए।
प्रारम्भिक शिक्षा बाणा प्राथमिक विद्यालयबाट सुरु गरेका उनले गेलेफु र पछि फुन्टछोलिङस्थित खारबन्दी टेक्निकल स्कुलबाट आईसीएससी (कक्षा दस) उत्तीर्ण गरे। सन् १९७६ मा भुटान सरकारको दूरसञ्चार विभागबाट सरकारी सेवा सुरु गरेका आरके बुढाथोकीले भिजिलेन्स अदालतमा वरिष्ठ एसओ र पछि बजेट ब्युरोमा सहायक निर्देशकको जिम्मेवारी सम्हाले।
सरकारी छात्रवृत्तिमा भारतको पुणे विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गरे। राजस्व तथा भन्सार विभागमा सहायक निर्देशकका रूपमा काम गरे। २४ फेब्रुअरी १९७८ मा जसोदा कट्टेल (बुढाथोकी)सँग विवाह गरे। आकाश, आनन्द र आशिष गरी तीन सन्तान छन् आरके बुढाथोकीका।
अध्ययन, चिन्तन र सत्यको खोजीमा समर्पित व्यक्ति थिए बुढाथोकी। भारतीय स्वतन्त्रता आन्दोलन, लोकतन्त्र र मानव अधिकारका सिद्धान्तबाट उनी प्रभावित थिए। राजनीतिक चेत भारतको लोकतान्त्रिक व्यवस्था र भुटानको निरङ्कुश शासनबीचको भिन्नताले खुलायो।
उनले आफ्नै देशका नागरिकलाई शासकको आदेशमा अनागरिक बनाएर अर्को देशमा शरण लिन बाध्य बनाएको सन् १९८५ को नागरिकता ऐन संशोधनको पीडा देखे। दक्षिणी भुटानमा नेपालीभाषी नागरिकमाथि बढेको विभेद, नागरिकता खोस्ने प्रक्रिया, दमन र निष्कासनले उनी मौन बस्न सकेनन्। राज्य संयन्त्रभित्र अन्यायको साक्षी बसेनन्। सुरक्षित सरकारी जीवन त्यागे। लोकतन्त्र, मानव अधिकार र नागरिक स्वतन्त्रताको सङ्घर्ष रोजे। सन् १९८९ मा मातृभूमि भुटान छोड्न बाध्य भए।
भुटानी लोकतान्त्रिक आन्दोलनलाई सङ्गठित गर्ने ऐतिहासिक भूमिका निर्वाह गरे आरके बुढाथोकीले। सन् १९९० जुन २ मा भुटान पिपल्स पार्टी (बीपीपी) स्थापना भयो। उनी त्यसको संस्थापक अध्यक्ष बने। उनले लोकतन्त्र र मानव अधिकारका लागि शान्तिपूर्ण आन्दोलनको नेतृत्व गरे। संवैधानिक राजतन्त्रसहितको बहुदलीय संसदीय लोकतन्त्रका पक्षधर थिए उनी। लोकतन्त्र केवल शासन परिवर्तन होइन, न्याय, समानता, मानव गरिमा र जनउत्तरदायित्वमा आधारित राष्ट्र निर्माणको आधार थियो।
विभिन्न राजनीतिक समूहबीच बढेको विभाजनले आन्दोलन कमजोर भएको महसुस उनले गरेका थिए। एकतालाई आफ्नो राजनीतिक अभियानको केन्द्र बनाए। सन् १९९४ मा आन्दोलन एकीकरणको माग गर्दै १२६ घण्टे आमरण अनशन बसे। उनको यो दबाबले लोकतान्त्रिक शक्तिबीच सहकार्यको वातावरण निर्माण भयो। उनले भुटानी कोलिसन फर डेमोक्रेटिक मुभमेन्ट (बीसीडीएम), युनाइटेड फ्रन्ट फर डेमोक्रेसी (युएफडी) तथा भुटानी शरणार्थी प्रतिनिधि स्वदेश फिर्ता समिति (बीआरआरसी) मार्फत आन्दोलनलाई एकीकृत र प्रभावकारी बनाउन निरन्तर प्रयास गरे।
निर्वासित भुटानीहरूको सुरक्षित, सम्मानजनक र मर्यादापूर्ण स्वदेश फिर्ती उनको प्रमुख लक्ष्य थियो। शरणार्थीहरूलाई मनोमानी, कपोलकल्पित कृत्रिम श्रेणीमा वर्गीकरण (भुटानी, गैरभुटानी, बसाइँसरुवा र आतङ्ककारी) गर्ने प्रक्रियाको उनले विरोध गरे।
भुटानमा मानव अधिकार स्थापना गर्न अन्तर्राष्ट्रिय समर्थन जुटाउने सिलसिलामा उनले एसिया र युरोपका विभिन्न देशहरूको भ्रमण गरे। भारतबाट भुटानतर्फ स्वैच्छिक स्वदेश फिर्ता पैदल यात्राको आयोजना गर्दा उनी पटक–पटक गिरफ्तारसमेत भए। तर पनि उनले लक्ष्य कमजोर बनाएनन्।
नियतिले आन्दोलनका लागि सबैभन्दा पीडादायी क्षण सुरक्षित राखेको रहेछ
९ सेप्टेम्बर २००१ मा उनी शरणार्थी प्रमाणीकरण प्रक्रिया र भुटान–नेपाल वार्ताबारे सहकर्मीहरूसँग छलफल गरिरहेका थिए। समय दिनको ३:१५ बजेको हुनुपर्छ। खुकुरीसहित आपराधिक समूहले बुढाथोकीमाथि आक्रमण गरे। शरणार्थी शिविरभित्रै घुसेका समाजविरोधी अपराधी तत्त्वहरूले योजनाबद्ध आक्रमण गरी उनको हत्या गरे। उनको हत्या एउटा नेताको जीवनको अन्त्य मात्र थिएन, भुटानी लोकतान्त्रिक आन्दोलनका लागि अपूरणीय क्षति थियो।
बुढाथोकीले देखेको भुटान शान्तिपूर्ण, लोकतान्त्रिक, समावेशी, न्यायपूर्ण र समृद्ध राष्ट्र थियो। देशमा जाति, भाषा, धर्म, संस्कृति वा क्षेत्रका आधारमा (दक्षिण र उत्तर भुटानी), जोङ्खा र नेपालीभाषी कसैमाथि विभेद नहोस्, प्रत्येक नागरिकले समान अधिकार, अवसर र सम्मान पाओस् भन्ने उनी सुनाउँथे। लोकतन्त्र संविधानका कागजी पानामा मात्र नभई जनजीवनको संस्कार बनोस् भन्थे उनी।
विज्ञान प्रविधि, शिक्षा, अनुसन्धान, कृषि, उद्योग र उद्यमशीलतामा प्रगति गरेको आत्मनिर्भर भुटान उनको परिकल्पना थियो। युवाले आफ्नै देशमा भविष्य देखुन्, विविध संस्कृति र भाषाको सम्मान होस् तथा राजनीतिक प्रतिस्पर्धाभन्दा राष्ट्रिय हित माथि रहोस्। उनी हिंसा, घृणा र प्रतिशोधभन्दा संवाद, सहिष्णुता, मेलमिलाप र राष्ट्रिय एकतामा विश्वास गर्थे। भुटानमा शासन गर्न जुनसुकै वंशको उदय भए पनि भुटान एक सार्वभौम, स्वतन्त्र राष्ट्र रहिरहनुपर्छ भन्ने उच्चतम चिन्तन उनमा थियो।
आरके बुढाथोकी शारीरिक रूपमा छैनन्। तर उनका विचार, त्याग र लोकतान्त्रिक आदर्श जीवित छन्। उनीप्रतिको सच्चा श्रद्धाञ्जली केवल स्मरण गर्नु होइन, उनले देखेको न्यायपूर्ण, लोकतान्त्रिक र मेलमिलापयुक्त भुटान निर्माणका लागि निरन्तर प्रयत्न गर्नु हो। उनको जीवन समाप्त भयो, तर उनका सपना जीवित छन् र त्यही सपनासँग उनी भुटानी जनताको हृदयमा अमर रहिरहनेछन्।
भुटान पिपल्स पार्टी (बीपीपी)का तर्फबाट स्वर्गीय नेता आरके बुढाथोकीले पार्टीको सभापतिको हैसियतमा सन् १९९० सेप्टेम्बर १९ मा भुटानी राजा जिग्मी सिङ्गी वाङ्च्छुकसित १३ सूत्रीय माग राखेका थिए।
उनले राजनीतिक बन्दीहरूको विनाशर्त रिहाइ हुनुपर्ने माग राखेका थिए। जुन माग हालसम्म पनि भुटानी शासकले पूरा गरेको छैन। एकाधिकार राजतन्त्रबाट संवैधानिक राजतन्त्रमा परिणत, न्यायपालिकामा व्यापक सुधार, नागरिकता ऐनमा संशोधन, संस्कृति, पोसाक, भाषा र लिपिको अधिकार, धार्मिक स्वतन्त्रता, प्रेस, वाक् तथा अभिव्यक्ति स्वतन्त्रता, सङ्घ, संस्था तथा राजनीतिक दल गठन गर्ने स्वतन्त्रता, व्यापार तथा पेसा व्यवसायको स्वतन्त्रता, सम्पत्ति तथा कोषको न्यायोचित वितरणको अधिकार, सार्वजनिक रोजगारीका क्षेत्रमा समानताको अधिकार, शिक्षाको अधिकार र शोषणविरुद्ध अधिकारका उनले माग राखेका थिए।
तेह्र सूत्रीय मागहरूमा कुनै पनि बुँदाले राजसिंहासन ताकेका छैनन्। भुटानी राजनीतिमा शताब्दीयौँ पहिलादेखि जरा गडेर बसेको दीर्घ रोग नै प्रतिपक्षको संहार र भौतिक रूपमै निर्मूलीकरण हो। आफ्नो देश कसैको गुलाम नबन्न, देशको सीमा सुरक्षित राख्न, समयसापेक्ष विकासको बाटो तय गर्न र अनियमिततालाई नियन्त्रण गर्न प्रतिपक्षको अहं भूमिका रहन्छ भन्ने चेतना भुटानी शासकहरूमा प्रायः शून्य नै रहेको अवस्थामा राजा जिग्मी सिङ्गी वाङ्चुकका लागि आरके बुढाथोकी र उनलाई साथ दिने सम्पूर्ण भुटानी नागरिकहरू विदेशी र आतङ्ककारी ठहरिए। यस कारण एक लाखका हाराहारी देशभक्त भुटानी नागरिकहरूले आफ्नो मातृभूमिबाट सधैँका लागि अलग्गिनु पऱ्यो।
भुटान सरकारबाट लखेटिनुपरेका भुटानीहरू माझ आज नेता बुढाथोकी भौतिक रूपमा छैनन्। टिकाउ शासन प्रणालीको मुख्य कडी नै सरकार सत्तापक्षको र सदन प्रतिपक्षको हो भन्ने सामान्य लोकतान्त्रिक नियम थाहा हुनु जनपक्षीय नेताको न्यूनतम चेतनाको विषय हो। जुन विषय भुटानी शासकमा आजसम्म पाइँदैन। तैपनि ऊ आफूलाई लोकतन्त्रको हिमायती ठान्दछ।
समय बलवान हुन्छ र समयले नै सबैलाई पाठ पढाउँछ। असमझवादी कुतत्वहरूको पतन सुनिश्चित छ। नेता बुढाथोकी र भुटानी नागरिकहरूका उच्चतम विचारहरू मानव सभ्यताका अपरिहार्य र जीवनपद्धतिका आधुनिक मार्गहरू सधैँ समयसापेक्ष भएर रहिरहने अटल अडानहरूले भुटानी शासकलाई सधैँ झकझक्याइरहनेछ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.