“कर्मभूमिको साथ, जन्मभूमिको पीडामा मल्हम”

“कर्मभूमिको साथ, जन्मभूमिको पीडामा मल्हम”

68
SHARES

भाद्र १० गते भोटेकोशी बाढीले आफ्नो किनाराको सीमा मात्र भत्काएन, उसले धेरै नेपाली परिवारका सपना, भरोसा र वर्षौँको मेहनत समेत बगाएर लग्यो। बाढी पहिरोले घर, पुल भत्कायो, बाटो लग्यो, बस्ती उजाड्यो; तर त्यसले छोडेको पीडा भौतिक क्षति भन्दा निकै गहिरो छ। आज पनि कतिपय घरका आँगन सुनसान छन्, कतिपय आँखामा आँसु रोकिएका छैनन् र कतिपय परिवार सामान्य जीवनमा फर्किने प्रतीक्षामा छन्।

प्रकृतिको प्रकोपलाई मानिसले रोक्न सक्दैन। तर विपत्तिले दिएको पीडामा मानिसले मानिसको हात समात्न सक्छ। आँसु पुछ्न सक्छ। ढाडस दिन सक्छ र आफू टाढा भए पनि ‘तिमी एक्ला छैनौ’ भन्ने अनुभूति दिलाउन सक्छ।

हामी नेपालीका लागि नेपाल केवल एउटा भूगोल होइन। नेपाल हाम्रो जन्मभूमि हो, हाम्रो पहिचान हो, हाम्रो स्मृति हो र हाम्रो भावनाको पहिलो जन्म घर हो। जीवनका बाध्यताले हामीलाई हजारौँ किलोमिटर टाढा पुर्‍याए पनि मनभित्रको त्यो माटो कहिल्यै टाढा हुँदैन।

दुबई हाम्रो कर्मभूमि हो। यही भूमिले हामीलाई रोजगारी दिएको छ, पसिना बगाउने अवसर दिएको छ र आफ्ना सपना पूरा गर्ने बाटो खोलिदिएको छ। यहीँ कमाएको श्रमले कतिपयका घर चलेका छन्, छोराछोरी पढेका छन् र भविष्यका सपनाहरूले आकार लिएका छन्। त्यसैले दुबईप्रति हाम्रो सम्मान र कृतज्ञता स्वाभाविक छ।

तर कर्मभूमिले दिएको अवसरको अर्थ जन्म भूमिप्रतिको जिम्मेवारी समाप्त हुनु होइन। बरु, जीवनले हामीलाई जहाँ पुर्‍याए पनि आफ्नो माटोको दुःखमा उभिन सक्नु नै हाम्रो संस्कारको वास्तविक परीक्षा हो।

भोटेकोशी बाढी पहिरोपछि दुबईबाट जन्मभूमिका पीडितहरूका लागि राहत तथा सहयोग पठाइयो। अहिले फेरि उद्धार टोली जन्मभूमितर्फ फर्किएको छ। हेर्दा यो राहत, सहयोग र उद्धारको सामान्य प्रक्रिया जस्तो लाग्न सक्छ। तर यसको गहिराइमा एउटा ठूलो भावना लुकेको छ तर भौतिक दूरीले नेपाली मनलाई विभाजित गर्न सक्दैन।

हजारौँ किलोमिटर पर बसेर कसैले पठाएको सहयोग केवल रकम होइन। त्यो पीडित परिवारका लागि आशा हो। कसैले पठाएको एक बोरा सामग्री केवल सामान होइन, त्यो ‘तिम्रो दुःखमा हामी पनि छौँ’ भन्ने सन्देश हो। उद्धारका लागि आफ्नो समय, श्रम र जोखिम समर्पण गर्ने प्रत्येक व्यक्ति केवल स्वयंसेवक होइन;ऊ मानवताको पक्षमा उभिएको एउटा संवेदनशील नेपाली हो।

यतिबेला यूएईमा तीजका विभिन्न कार्यक्रमहरू भइरहेका छन्। तीज हाम्रो संस्कृति, हाम्रो परम्परा र नेपाली हिन्दु नारीहरूको भावनासँग जोडिएको पर्व हो। तर जन्मभूमिमा विपत्ति परेको बेला उत्सवको अर्थ पनि संवेदनासँग जोडिन पुग्छ। यही कारण कतिपय सङ्घसंस्थाले कार्यक्रम स्थगित गरेका छन् भने कतिपयले कार्यक्रमलाई निरन्तरता दिँदै त्यसबाट सङ्कलित रकम विपत्तिमा परेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको राहतमा समर्पित गरेका छन्।

यही संवेदना नै हाम्रो नेपाली मौलिक पन हो। हाम्रो समाजमा ‘आफूलाई पर्दा मात्र होइन, अरूलाई पर्दा पनि साथ दिनुपर्छ’ भन्ने संस्कार पुस्तौँदेखि हालसम्म जीवित छ। २०७२ सालको भूकम्प या कोरोना महामारी वा अहिलेको बाढी पहिरो,विपत्तिका हरेक क्षणमा नेपाली भौगोलिक, आर्थिक र सामाजिक दूरी बिर्सेर एक अर्काको साथमा परदेशमा उभिएका छन्।

परदेशमा रहेका नेपालीका लागि यो भावना अझ विशेष छ। किनकि हामीले दूरीको पीडा बुझेका छौँ। चाडपर्वमा घर सम्झिएका छौँ। आमाको हातको खाना सम्झिएका छौँ। गाउँको बाटो, आफ्नो आँगन र आफ्ना मानिसहरू सम्झिएका छौँ। त्यसैले जब त्यही जन्मभूमिमा विपत्ति आइपर्छ, त्यसको पीडा समाचारमा मात्र सीमित रहँदैन; त्यो पीडा हाम्रो आफ्नै मनभित्र आइपुग्छ।

विपत्तिको समयमा पीडितलाई केवल आर्थिक सहयोगको आवश्यकता हुँदैन। उसलाई भरोसा चाहिन्छ। उसलाई साहस चाहिन्छ। उसलाई आफ्नो दुःख बुझ्ने र सम्झिने मान्छे चाहिन्छ। कहिलेकाहीँ एउटा सानो सहयोगले पनि ठूलो आशा जगाउन सक्छ। एउटा फोनले पनि कसैलाई आफू एक्लो नभएको अनुभूति गराउन सक्छ। एउटा हातले अर्को हात समातिदिँदा विपत्तिको अँध्यारो कुनाबीच मानवताको उज्यालो देखिन सक्छ।

त्यसैले दुबईबाट जन्मभूमितर्फ उठेका सहयोगका प्रत्येक हातलाई केवल सहयोगको रूपमा हेर्नु पर्याप्त हुँदैन। ती हातहरू कर्मभूमि र जन्मभूमिबीचको सम्बन्धका सेतु हुन्। ती हातहरूले प्रमाणित गरिरहेका छन् की नेपाली मनको दूरी किलोमिटरले नाप्न सकिँदैन।

आज हामी दुबईमा सुरक्षित छौँ। काम गरिरहेका छौँ। परिवारको भविष्य निर्माण गरिरहेका छौँ। तर हाम्रो जीवनको कुनै कुनामा नेपाल अझै उस्तै छ! हामी जन्मिएको ठाउँ, हामी हुर्किएको ठाउँ, हामीले पहिलोपटक सपना बुनेको, देखेको ठाउँ।

अहिले त्यही माटो रोइरहँदा हामी कसरी पूर्ण रूपमा खुसी हुन सक्छौँ? त्यही घर उजाडिँदा हामी कसरी पूर्ण रूपमा निश्चिन्त रहन सक्छौँ? त्यही परिवार पीडामा हुँदा हाम्रो मन कसरी अछुतो रहन सक्छ?

सायद यही प्रश्नको उत्तर हो”कर्मभूमिको जन्मभूमिप्रतिको धर्म”!

हामीले जन्मभूमिबाट धेरै कुरा पाएका छौँ- पहिचान, भाषा, संस्कृति, संस्कार, सम्बन्ध र जीवनको पहिलो पाठ। आज हामी संसारको जुनसुकै कुनामा पुगे पनि ती सबैको ऋण बोकेर हिँडिरहेका छौँ। त्यो ऋण पैसाले तिर्न सकिँदैन। तर दुःखमा साथ दिएर, विपत्तिमा सहयोग गरेर र आवश्यक पर्दा आफ्नो समय, श्रम र सामर्थ्य समर्पण गरेर त्यसप्रतिको कर्तव्य अवश्य निभाउन सकिन्छ।

त्यसैले दुबई हाम्रो कर्मभूमि हो। नेपाल हाम्रो जन्मभूमि हो। कर्मभूमिले हामीलाई बाँच्ने अवसर दिएको छ; जन्मभूमिले हामीलाई ‘हामी को हौँ’ भन्ने परिचय दिएको छ। त्यसैले कर्मभूमिबाट जन्मभूमिको पीडामा उठ्ने प्रत्येक सहयोगको हात केवल कर्तव्य होइन- यो हाम्रो संस्कार हो, हाम्रो जिम्मेवारी हो र सबैभन्दा माथि, हाम्रो मानवीय धर्म हो।

भोटेकोशी बाढी पहिरोबाट प्रभावित सम्पूर्ण परिवारप्रति हार्दिक सहानुभूति व्यक्त गर्दछु। आफ्ना प्रियजन गुमाउनुभएका परिवारप्रति गहिरो समवेदना प्रकट गर्दछु। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु। आफ्नो घर, सम्पत्ति र जीवनयापनको आधार गुमाउनुभएका सबैप्रति ऐक्यबद्धता व्यक्त गर्दछु।

यस विपत्तिको घडीमा राहत तथा उद्धारका लागि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा खटिनुहुने सम्पूर्ण व्यक्ति, सङ्घसंस्था, स्वयंसेवक, सहयोगदाता तथा उद्धार टोलीप्रति उच्च सम्मान सहित हार्दिक नमन गर्दै भोटेकोशी बाढीमा परी दिवङ्गत हुनुभएका व्यक्तिहरूको सम्झना, घाइते हुनुभएकाहरुको शीघ्र स्वास्थ्यलाभ एवं हराइरहनु भएका व्यक्तिहरूको सकुशलताको कामना व्यक्त गर्न दुबईको नेपाली महावाणिज्यदूतावास परिसरमा द्वीप प्रज्वलन समेत गरिएको छ।

समाचार शेयर गर्नुहोस्
68
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.