"/>

एमजी हेक्टर टोमहक ईभी नेपाली बजारमा, पहिलो ५० ग्राहकलाई चार लाख छुट

एमजी हेक्टर टोमहक ईभी नेपाली बजारमा, पहिलो ५० ग्राहकलाई चार लाख छुट

65
SHARES

काठमाडौँ – गो अटोमोबाइल्सले सात सिट क्षमताको विद्युतीय एसयूभी एमजी हेक्टर टोमहक ईभी नेपाली बजारमा सार्वजनिक गरेको छ।

यो विद्युतीय एसयूभीमा चालकसहित सात जनाले यात्रा गर्न सक्छन्। गाडीको लम्बाइ चार हजार ७४५ मिलिमिटर, चौडाइ एक हजार ८५० मिलिमिटर र उचाइ एक हजार ७७० मिलिमिटर छ। यसको ग्राउन्ड क्लियरेन्स २३० मिलिमिटर रहेको छ।

एमजी ग्रुपका सिनियर सेल्स अफिसर क्रिन्जल मिश्रले हेक्टर टोमहक एक्साइट विद्युतीय गाडीका विशेषता, मूल्य, ब्याट्रीको टिकाउपन, रेन्ज, खरिद प्रक्रिया र बिक्रीपछिको सेवाबारे जानकारी दिएका छन्।

मिश्रका अनुसार यो गाडीमा १५० किलोवाट क्षमताको मोटर र ६९.२ किलोवाट घण्टा क्षमताको ब्याट्री रहेको छ। कम्पनीले एकपटक पूर्ण चार्ज गर्दा ५१७ किलोमिटरसम्म चल्ने दाबी गरेको छ। व्यावहारिक रूपमा भने करिब ४५० किलोमिटरसम्मको दूरी प्राप्त गर्न सकिने उनको भनाइ छ।

ठूलो परिवारलाई लक्षित गरी ल्याइएको सात सिटे गाडीको श्रेणीमा हेक्टर टोमहक एक्साइट ठूलो आकारको गाडीमध्ये एक रहेको मिश्रले बताए। यसको ग्राउन्ड क्लियरेन्स २३० मिलिमिटर रहेको छ। उनका अनुसार यो ग्राउन्ड क्लियरेन्स यस श्रेणीका गाडीमध्ये उत्कृष्टमध्ये एक हो। नेपालको विभिन्न सडकमा चलाउन सकिने गरी गाडी तयार गरिएको उनको भनाइ छ।

गाडीको भित्री भागबारे जानकारी दिँदै मिश्रले यसमा ३२.१ सेन्टिमिटरको इन्फोटेनमेन्ट प्रणाली रहेको बताए। उक्त प्रणालीमा विभिन्न सुविधा र फरक–फरक थिम उपलब्ध छन्।

सात सिट क्षमता भए पनि आवश्यकताअनुसार सिट फोल्ड गरेर पाँच सिटका रूपमा समेत गाडी प्रयोग गर्न सकिन्छ। सिट फोल्ड गर्दा सामान राख्ने ठाउँ अर्थात् बुट स्पेस बढाउन सकिने सुविधा पनि यसमा छ। सात सिटमा यात्रु राखेर चलाउन वा सिट फोल्ड गरेर थप सामान राख्न सकिने भएकाले यसलाई पूर्ण आकारको एसयूभीका रूपमा प्रस्तुत गरिएको मिश्रको भनाइ छ।

मिश्रले पहिचानसँग भने, “यो गाडी सेभेन सिटर सेग्मेन्टमा वन अफ द लार्जेस्ट कार छ। यो नेपालको एकदमै ठूलो छ। प्लस यसको ग्राउन्ड क्लियरेन्स २३० एमएमको ग्राउन्ड क्लियरेन्स छ। यो गाडीमा इन्टेरियरको कुरा गर्नु पर्दा ३२.१ सीएमको इन्फोटेनमेन्ट सिस्टम आउँछ, जसमा फिचर्सहरू धेरै इन्क्लुडेड छ, प्लस डिफरेन्ट थिम्सहरू पनि आउँछ। फुल साइज एसयूभी छ, गाडीको कुरा गर्नु पर्दा एकदमै ठूलो गाडी पनि छ, पावरफुल पनि छ। जुनसुकै बाटोमा पनि जान्छ, नेपालको हरेक बाटोमा जाने खालको गाडी छ। सो, एकदमै पावरफुल गाडी छ।”

पहिलो ५० ग्राहकलाई चार लाख रुपैयाँ छुट

गाडीको मूल्यबारे जानकारी दिँदै मिश्रले कम्पनीले तोकेको अधिकतम खुद्रा मूल्य ६१ लाख ९९ हजार रुपैयाँ रहेको बताए। सुरुवाती ५० ग्राहकलाई ५७ लाख ९९ हजार रुपैयाँमा उपलब्ध गराइएको उनले जानकारी दिए।

विद्युतीय गाडी खरिद गर्दा ब्याट्रीको आयु र वारेन्टीलाई ग्राहकले महत्त्व दिने गरेका छन्। हेक्टर टोमहक एक्साइटको ब्याट्रीको टिकाउपनबारे जानकारी दिँदै मिश्रले यसको आयु २५ वर्षभन्दा बढी हुने दाबी गरे। कम्पनीले ब्याट्रीमा आठ वर्षको वारेन्टी उपलब्ध गराइरहेको उनले बताए।

उनका अनुसार यस गाडीमा सेल ब्याट्री प्रविधि प्रयोग गरिएको छ। ब्याट्रीका सबै भाग फेर्नुपर्ने अवस्था आउनुभन्दा कुनै एउटा सेलमा समस्या देखिएमा सम्बन्धित सेल मात्र फेरेर पनि समस्या समाधान गर्न सकिने उनको भनाइ छ।

मिश्रले भने, “ब्याट्रीको लाइफ अराउन्ड ट्वेन्टी फाइभ इयर्स प्लस नै हुन्छ। तर वारेन्टी अराउन्ड एट इयर्सको प्रोभाइड गरिरहेका छौँ। त्यो भनेको हाम्रो सेल ब्याट्री हो। कुनै एउटा सेलमा प्रब्लम आयो भने सेल मात्र रिप्लेस गरे पनि पुग्छ, अरू बनाए मात्र पनि पुग्छ। होल ब्याट्री रिप्लेस गर्नु जरुरी हुँदैन। सो, ब्याट्री लङ टर्मसम्म टिक्छ।”

गाडीको रेन्ज अर्थात् एकपटकको चार्जमा कति दूरी चलाउन सकिन्छ भन्ने विषयमा मिश्रले कम्पनीको दाबी र वास्तविक सडकमा प्राप्त हुन सक्ने दूरीबारे जानकारी दिए।

कम्पनीका अनुसार यस गाडीले एकपटक पूर्ण चार्ज गर्दा ५१७ किलोमिटरसम्मको रेन्ज दिन्छ। वास्तविक प्रयोगमा भने करिब ४५० किलोमिटरसम्म चलाउन सकिने उनले बताए।

मिश्रले भने, “फुल चार्ज ५१७ किलोमिटरको रेन्ज यसले क्लेम गरेको छ भने रियल वर्ल्डमा अराउन्ड ४५० सम्मको रेन्ज यसले प्रोभाइड गर्छ।”

तीन तहको रिजेनेरेटिभ प्रणाली

विद्युतीय गाडीमा ओरालो झर्दा ब्याट्रीमा ऊर्जा पुनः प्राप्त हुने र उकालो चढ्दा त्यस्तो सुविधा कम हुने हो कि भन्ने जिज्ञासामा मिश्रले गाडीमा तीन तहको रिजेनेरेटिभ प्रणाली रहेको जानकारी दिए।

उनका अनुसार ओरालो झर्दा गाडीको गतिबाट ऊर्जा पुनः प्राप्त गरी ब्याट्रीमा सञ्चित गर्न सकिन्छ। यसबाट ब्याट्रीको केही ऊर्जा पुनः प्राप्त हुने र गाडीको रेन्ज बढाउन सहयोग पुग्ने उनको भनाइ छ।

मिश्रले भने, “रिजेन भन्ने हुन्छ। यसमा थ्री लेभलको रिजेन पाउन सक्नु हुन्छ। थ्री लेभलमा उकालोमा गए, ओरालोमा गइराख्नु भएको छ भने सर्टेन पर्सेन्टसम्म ब्याट्री पनि रिकभर हुन्छ। सो, रेन्जको प्रब्लम त केही पनि हुँदैन। यति धेरै रेन्ज छ यो गाडीमा, प्लस यत्रो ठूलो गाडी छ भने नेपालको जुनसुकै बाटोमा जानु भयो भने पनि प्रब्लम हुँदैन।”

थापाथलीबाट खरिद गर्न सकिने

हेक्टर टोमहक एक्साइट खरिद गर्न चाहने ग्राहकले एमजी मोटर नेपालसँग सम्पर्क गर्न सक्ने मिश्रले बताए। कम्पनीको सोरुम काठमाडौँको थापाथलीमा रहेको उनले जानकारी दिए।

काठमाडौँ बाहिरका ग्राहकलाई लक्षित गर्दै कम्पनीको सेवा सञ्जाल देशभर विस्तार भइरहेको पनि उनले बताए। ग्राहकले कम्पनीमा सम्पर्क गरेपछि आफ्नो क्षेत्रको डिलरसँग जोडिदिने र त्यसमार्फत गाडी खरिद गर्न सक्ने उनको भनाइ छ।

मिश्रले भने, “खरिद गर्न चाहनु हुन्छ भने एमजी मोटर नेपाल छ, त्यसमा नै सम्पर्क गर्न सक्नु हुन्छ। हाम्रो सोरुम थापाथलीमा छ। त्योबाहेक आउटस्टेसनबाट हेर्दै हुनुहुन्छ, काठमाडौँ बाहिरबाट हेर्दै हुनुहुन्छ भने पनि हाम्रो सर्भिस नेटवर्कहरू अल ओभर नेपाल नै छ। हामीलाई कनट्याक्ट गर्नु भयो भने हामी डिलरसँग हजुरलाई कनट्याक्ट गराइदिन्छौँ। सो, कनेक्ट गरेर लिन सक्नु हुन्छ।”

बिक्रीपछिको सेवामा प्राथमिकता

गाडी बिक्री गरेपछि ग्राहकलाई उपलब्ध गराइने सेवा सुविधाबारे जानकारी दिँदै मिश्रले कम्पनीले देशभर सेवा केन्द्र विस्तार गरिरहेको बताए। काठमाडौँको धोबीघाटमा पनि सेवा केन्द्र उपलब्ध रहेको उनले जानकारी दिए।

उनका अनुसार कम्पनीले स्पेयर पार्ट्सका मूल्यसमेत सार्वजनिक गरिसकेको छ। आवश्यक स्पेयर पार्ट्स सहज रूपमा उपलब्ध गराउने र ग्राहकले किफायती मूल्यमा सेवा प्राप्त गर्न सक्ने व्यवस्था मिलाइने उनले बताए। सेवा लिन लामो समय कुर्नुपर्ने अवस्था नआओस् भन्नेमा कम्पनीले ध्यान दिएको उनको भनाइ छ।

मिश्रले भने, “यस्तो छ, हाम्रो सर्भिस स्टेसनहरू पनि अल ओभर नेपाल नै खुल्दै छ। काठमाडौँमा पनि हाम्रो धोबीघाटमा सर्भिस सेन्टरहरू छ। स्पेयर पार्ट्सको प्राइसेसहरू पनि हामीले पब्लिक गरिसकेका छौँ। पछिसम्म पनि स्पेयर पार्ट्सहरूको अवेलेबिलिटीमा, प्राइसेसहरूमा कुनै पनि कम्प्रोमाइज हुँदैन। छिटै अवेलेबल पनि हुन्छ, अफोर्डेबल वेमा पनि पाउन सक्नु हुन्छ। धेरै कुर्नु पनि पर्दैन, मजाले सर्भिस लिन सक्नु हुन्छ। हाम्रो मेन प्रायोरिटी नै सर्भिस छ यो पालि, सो सर्भिसमा केही पनि कम्प्रोमाइज गर्नु पर्दैन।”

समाचार शेयर गर्नुहोस्
65
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.