काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा गगन थापा सर्वसम्मत रूपमा सभापति चुनिने प्रयास असफल भएको छ। अन्ततः सभापतिका लागि निर्वाचन हुने भएको छ।
गत पुसमा सम्पन्न विशेष महाधिवेशनमा सर्वसम्मत भएका थापा नियमित महाधिवेशनमा पनि सर्वसम्मत हुनेमा विश्वस्त देखिएका थिए। तर, अन्तिम समयमा श्यामकृष्ण खड्गीले उम्मेदवारी फिर्ता नलिएपछि सभापतिका लागि निर्वाचन हुने भएको हो।
असोज १८ गतेदेखि खुलामञ्चमा जारी महाधिवेशनमा सहभागी प्रभावशाली नेताहरूले थापाविरुद्ध उम्मेदवारी नदिने मनस्थिति बनाएका थिए। पूर्वसहमहामन्त्री किशोरसिंह राठौरले भने आफ्नो व्यवस्थापन नभए सभापतिमा उम्मेदवारी दिने सन्देश थापासम्म पुर्याउन भनेका थिए।
थापाले वास्ता गरेपछि राठौरले सभापतिमा उम्मेदवारी दर्ता गराए। राठौरले उम्मेदवारी दर्ता गरेपछि गगनसँग संवाद भयो। संवादपछि उम्मेदवारी फिर्ता लिएको राठौरले बताए। अबको सभापतिमा गगन थापा नै निर्वाचित हुने र पार्टीलाई मिलाएर लैजानुपर्ने राठौरले बताए।
राठौरको उम्मेदवारी अन्तिम समयमा फिर्ता हुने बुझेरै थापालाई सर्वसम्मत हुन नदिन समानान्तर महाधिवेशन अगाडि बढाएको शेरबहादुर देउवा समूह सक्रिय रहेको पाइएको छ। विगतमा कांग्रेस राजनीतिमा एउटा शक्तिकेन्द्र मानिने चाक्सीबारीस्थित प्रकाशमान सिंहको निवासमा बनेको योजनाअनुसार थापाविरुद्ध श्यामकृष्ण खड्गीको उम्मेदवारी परेको दाबी गरिएको छ।
कांग्रेस नेता प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाको योजनामा कांग्रेस काठमाडौँका पूर्वसभापति भीमसेनदास प्रधाननिकट खड्गी थापाविरुद्ध सभापतिको उम्मेदवार बनेको दाबीलाई खड्गीले अस्वीकार गरेका छन्। उनले नियमित महाधिवेशन र विशेष महाधिवेशनको कुरा उठाएका छन्। व्यक्ति प्रधानभन्दा विधानअनुसार पार्टी चलाउन आफूले सभापतिमा उम्मेदवारी दिएको खड्गीले बताए।
खड्गी १३औँ र १४औँ महाधिवेशनमा काठमाडौँ–६ को क्षेत्रीय सभापतिमा निर्वाचित भएका थिए। सुरुमा देउवा समूहका खड्गी महाधिवेशनको मुखमा थापा नेतृत्वको कांग्रेसमा आएका थिए।
सभापतिका उम्मेदवार थापाको शिक्षक बताउने खड्गीले राजनीतिमा पनि आफू सिनियर भएको बताएका छन्। नेता प्रकाशमान सिंहले पनि खड्गीलाई अगाडि सारेको साङ्केतिक अभिव्यक्ति दिएका छन्। तर, आरोप अदृश्य शक्तिले कांग्रेसको महाधिवेशन गराएको लगाएका छन्।
खड्गीको उम्मेदवारी थापालाई सर्वसम्मत हुन नदिनकै लागि भएको देखिएको छ। अब कांग्रेसको सभापति थापा नै निर्वाचित हुने र युवाहरूको समेत कांग्रेसमा आकर्षण बढेको ललितपुर महानगरपालिकाका मेयर एवं नेपाली कांग्रेसका नेता चिरीबाबु महर्जनले बताए।
नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार हुने भनिएको मतदानमा ढिलाइ भएको छ। मतपत्र छाप्न ढिलाइ हुनुका साथै आवश्यक प्राविधिक तयारी पूरा नभएकाले बिहीबार मतदान हुन नसकेको हो। निर्वाचन समितिका सदस्य सचिव राजु कटवालका अनुसार कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि शुक्रवार बिहान ७ बजेदेखि मतदान हुनेछ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशन एक दिन लम्बिएपछि असहजमा परेका महाधिवेशन प्रतिनिधिका लागि आवास र भोजनको थप व्यवस्था गरिने भएको छ। पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार महाधिवेशन एक दिन सर्दा आवास र खानामा परेको असरलाई ध्यानमा राखेर आवश्यक व्यवस्थापन गरिने भएको हो।
आवासको आवश्यकता भएका प्रतिनिधिले आफ्नो क्षेत्रका क्षेत्रीय सभापतिमार्फत शुक्रवार बिहान केन्द्रीय कार्यालयमा रहेको डेस्कमा सम्पर्क गरेपछि आवश्यक व्यवस्था गरिने दुलालले जारी गरेको सूचनामा उल्लेख छ।
महाधिवेशनमा सहभागी सात हजार २५५ जना महाधिवेशन प्रतिनिधिले नयाँ केन्द्रीय कार्यसमिति चयन गर्न मतदान गर्नेछन्।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.