कांग्रेसभित्र गगनको विद्रोह अनुमोदन, रूपान्तरण र एकताको चुनौती

कांग्रेसभित्र गगनको विद्रोह अनुमोदन, रूपान्तरण र एकताको चुनौती

73
SHARES

काठमाडौँ – नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन्। पार्टीभित्रको आन्तरिक विवाद र नेतृत्व परिवर्तनको मागकाबीच थापा सभापतिमा निर्वाचित भएसँगै जेनजी आन्दोलनपछि कांग्रेसमा सुरु भएको विद्रोहले वैधानिकता पाएको छ।

अब उनीसामु विद्रोहबाट प्राप्त नेतृत्वलाई पार्टीको वास्तविक रूपान्तरण, सङ्गठनात्मक एकता र राजनीतिक उपलब्धिमा बदल्ने चुनौती थपिएको छ। नियमित १५औँ महाधिवेशनबाट थापाले अत्यधिक मत प्राप्त गर्दै पार्टीको नेतृत्व सम्हाल्ने जिम्मेवारी पाएका हुन्।

मतगणनामा थापाले ६ हजार ५८४ मत प्राप्त गरे। सभापतिका अर्का उम्मेदवार श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरे भने ५४ मत बदर भएको निर्वाचन समितिले जनाएको छ। पार्टी सभापतिसहित विभिन्न २३१ पदका लागि ८११ जनाले उम्मेदवारी दिएका थिए।

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, महिला उपसभापतिमा पुष्पा भुसाल र काठमाडौँ उपत्यकाको महिलातर्फ केन्द्रीय सदस्यमा अमिता प्रधान शाक्य निर्विरोध निर्वाचित भए। अन्य पदाधिकारीको मतगणना चलिरहेको छ। १५औँ महाधिवेशनअन्तर्गत शुक्रवार मतदान भएको थियो।

विशेष महाधिवेशनबाट सर्वसम्मत सभापति बनेका थापाको नियमित महाधिवेशनबाट पनि सर्वसम्मत सभापति बन्ने चाहना भने पूरा हुन सकेन। पार्टीभित्रको मतभेदका बीच भएको निर्वाचनमा थापाले अत्यधिक मत भने प्राप्त गरे। नेतृत्वका पक्षमा देखिएको बलियो समर्थनलाई पार्टीभित्रको एकता र सामूहिक जिम्मेवारीमा बदल्नु उनका लागि महत्त्वपूर्ण हुनेछ।

सभापतिमा निर्वाचित भएपछि थापाले नेपाली कांग्रेसलाई नयाँ बनाउने सङ्कल्प गरेका छन्। चमत्कार नै गर्न नसके पनि पार्टीलाई रूपान्तरण गर्न इमानदार प्रयास गर्ने उनले बताए।

नेपाली कांग्रेस दास र लासको पार्टी होइन भन्दै थापाले अघि बढाएको विद्रोह अन्ततः पार्टीको नियमित महाधिवेशनबाट अनुमोदित भएको छ। लामो समयदेखि नेतृत्व परिवर्तन र पुस्तान्तरणको पक्षमा आवाज उठाउँदै आएका थापा अब आफूले उठाएका मुद्दा कार्यान्वयन गर्ने तहमा पुगेका छन्।

परिवर्तनको पक्षमा उठेको आवाजलाई पार्टीको नीति, निर्णय र कार्यशैलीमा रूपान्तरण गर्ने जिम्मेवारी पनि अब उनकै काँधमा आएको छ। नेतृत्व परिवर्तन हुनु मात्रै रूपान्तरण होइन। पार्टीको सङ्गठन सञ्चालन, निर्णय प्रक्रिया, राजनीतिक प्राथमिकता र जनताप्रतिको जबाफदेहितामा समेत परिवर्तन देखिनुपर्नेछ।

यो महाधिवेशन औपचारिकताका लागि मात्र नभएको राजनीति, भूराजनीति तथा अन्तर्राष्ट्रिय सम्बन्ध मामिलाका जानकार गेजा शर्मा वाग्लेले बताए। उनका अनुसार नेतृत्व परिवर्तनसँगै कांग्रेसले विगतमा उठाइएका राजनीतिक र सङ्गठनात्मक मुद्दालाई कार्यान्वयनमा लैजानुपर्नेछ।

अब कांग्रेसले आन्तरिक विवाद र गुटबन्दीबाट मुक्त हुँदै जनसरोकारका विषयमा केन्द्रित हुनुपर्नेछ। सङ्गठनलाई एकताबद्ध, बलियो र ऊर्जावान बनाउँदै जनताका दैनिक समस्यासँग जोड्नु नयाँ नेतृत्वको प्राथमिक जिम्मेवारी हुनेछ।

सुशासन, लोकतान्त्रिक मूल्य–मान्यता र जनताका समस्याबारे पार्टीले आफ्नो दृष्टिकोण भाषणमा मात्र होइन, व्यवहार र कामबाट समेत देखाउनुपर्नेछ। भ्रष्टाचार नियन्त्रण, सार्वजनिक जबाफदेहिता, रोजगारी सिर्जना र नागरिकका आधारभूत समस्यामा पार्टीको स्पष्ट दृष्टिकोण र कार्ययोजना आवश्यक हुनेछ।

विशेष महाधिवेशनका बेला समय अभाव, सङ्गठनात्मक कमजोरी र पार्टीभित्रको गुट–उपगुटका कारण अपेक्षाअनुसार परिणाम आउन नसकेको भन्दै अब जिम्मेवारीबाट पन्छिने ठाउँ नयाँ नेतृत्वसँग छैन। विगतका कमजोरी सच्याउँदै पार्टीलाई जनताको अपेक्षाअनुसार अघि बढाउनु नेतृत्वको प्रमुख दायित्व हुनेछ।

चारवर्षे कार्यकालका लागि सभापतिमा निर्वाचित थापासमक्ष कांग्रेसलाई नयाँ राजनीतिक दिशामा अघि बढाउने अवसरसँगै चुनौती पनि थपिएको छ।पार्टीभित्रको गुटगत राजनीति, पुरानो नेतृत्वको प्रभाव, खुम्चिएको जनमत र बदलिँदो राजनीतिक परिस्थितिकाबीच कांग्रेसको साख फर्काउनु उनका लागि सहज हुने छैन।

लामो समयदेखि पुस्तान्तरणको माग गर्दै पुरानो नेतृत्व र कार्यशैलीको आलोचना गर्दै आएका थापाका लागि अब आफ्नै प्रतिबद्धता व्यवहारमा उतार्ने समय आएको छ। नेतृत्व परिवर्तनलाई पार्टीको वास्तविक रूपान्तरणमा बदल्नु नै उनको पहिलो परीक्षा हुनेछ। पुरानो नेतृत्वको प्रभाव र नयाँ नेतृत्वका आकांक्षाबीच सन्तुलन कायम गर्न नसके पार्टीभित्रको विवादले थापाको चारवर्षे कार्यकाललाई प्रभावित गर्न सक्छ। सभापति थापा यसप्रति सचेत देखिएका छन्।

१५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित भएसँगै थापाको पार्टीभित्रको नेतृत्वगत हैसियत थप बलियो भएको छ। तर, नेतृत्वको वैधानिकता बलियो हुँदैमा पार्टीभित्रको गुटगत विवाद स्वतः अन्त्य हुने अवस्था छैन।

पूर्वसभापति शेरबहादुर देउवा पक्ष छुट्टै महाधिवेशनको तयारीमा जुटेको छ भने शेखर कोइराला समूह पनि सक्रिय छ। यस्तो अवस्थामा पार्टीलाई एकताबद्ध बनाउने, पुराना र नयाँ पुस्ताबीचको दूरी घटाउने तथा आगामी निर्वाचनका लागि सङ्गठनलाई तयार पार्ने जिम्मेवारी थापाकै काँधमा आएको छ।

थापाले लामो समयदेखि उठाउँदै आएको पुस्तान्तरण र रूपान्तरणको मुद्दालाई व्यवहारमा उतार्नु अबको मुख्य चुनौती रहेको राजनीति, भूराजनीति तथा अन्तर्राष्ट्रिय सम्बन्ध मामिलाका जानकार गेजा शर्मा वाग्लेले बताए। उनका अनुसार पार्टीको नेतृत्व परिवर्तनसँगै सङ्गठन, कार्यशैली र राजनीतिक प्राथमिकतामा समेत परिवर्तन देखिन आवश्यक छ।

सभापति थापाले कांग्रेसले गलत व्यक्तिको पक्षमा नबोल्ने र कसैको अनुचित भार नबोक्ने स्पष्ट पारेका छन्। कानुन सबैका लागि समान हुने उल्लेख गर्दै उनले कुनै व्यक्तिले गल्ती गरे त्यसको जबाफदेहिता सम्बन्धित व्यक्तिले नै लिनुपर्ने बताए।

यो अभिव्यक्तिलाई व्यवहारमा कार्यान्वयन गर्नु पनि नयाँ नेतृत्वका लागि महत्त्वपूर्ण हुनेछ। भ्रष्टाचार, अनियमितता र गलत कामका विषयमा पार्टीभित्र र बाहिर समान मापदण्ड अपनाउनुपर्नेछ। आफ्ना नेता तथा कार्यकर्ताले गल्ती गर्दा संरक्षण गर्ने र अरूका हकमा मात्र जबाफदेहिताको कुरा गर्ने प्रवृत्ति अन्त्य गर्न सके मात्रै कांग्रेसले सुशासनप्रतिको प्रतिबद्धतालाई व्यवहारमा पुष्टि गर्न सक्नेछ।

युवा पुस्तामा बढ्दो असन्तुष्टि, रोजगारीको अभाव, भ्रष्टाचार र सुशासनका प्रश्नलाई सम्बोधन गर्दै कांग्रेस जनताको दैनिकीसँग जोडिनुपर्नेछ। जनताका समस्या पहिचान गर्ने, तिनको समाधानका लागि स्पष्ट नीति बनाउने र कार्यान्वयनको परिणाम देखाउने जिम्मेवारी नयाँ नेतृत्वमाथि छ। केवल नेतृत्वमा नयाँ अनुहार ल्याएर मात्रै पार्टी रूपान्तरण सम्भव हुँदैन।

पार्टीभित्रको विद्रोहलाई वैधानिक नेतृत्वमा रूपान्तरण गर्न सफल भएका थापाका लागि अब त्यसलाई सङ्गठनात्मक एकता र राजनीतिक परिणाममा बदल्नु मुख्य जिम्मेवारी बनेको छ। उनले उठाउँदै आएको पुस्तान्तरण, सुशासन र रूपान्तरणका मुद्दा व्यवहारमा कति कार्यान्वयन हुन्छन् भन्ने कुराले नै उनको नेतृत्वको सफलता मापन गर्नेछ।

समाचार शेयर गर्नुहोस्
73
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.