२७ जिल्लामा खाद्य जोखिम

२७ जिल्लामा खाद्य जोखिम

  • सोमबार, कार्तिक २० २०६९

पहिचान/ काठमाडौं, कार्तिक २० – यो वर्ष २७ जिल्लामा खाद्य जोखिम हुने देखिएको छ । जनसंख्यालाई धान्ने भन्दा कम मात्रै उत्पादन भएपछि २७ जिल्लाले खाद्यान्नका लागि अरुसँग भर पर्नुपर्ने देखिएको हो । सुदूरपश्चिमका ७, मध्यपश्चिमाञ्चलका ६, पश्चिमाञ्चलका ३ जिल्लामा यो वर्ष खाद्यान्न जोखिम हुने कृषि मन्त्रालयले जनाएको छ ।

यस्तै काठमाडौं, ललितपूर, भक्तपूर सहित मध्यमाञ्चलका ९ र पूर्वाञ्चलका दुई जिल्लाले पनि खाद्यान्नका लागि अरुमा निर्भर हुनुपर्ने देखिएको छ । यो वर्ष मुख्य खाद्यान्न धान र मकै उत्पादनमा गिरावट आएकाले यस्तो अवस्था आएको मन्त्रालयको भनाई छ ।

मन्त्रालयको तथ्यांक अनुसार यो वर्ष धान उत्पादनमा १४ दशमलव २ प्रतिशत र मकैमा १० प्रतिशत कमी आएको छ । मल, बिउ, मनसुन, पर्याप्त सिंचाई लगायतको अभावका कारण यो वर्ष खाद्यान्न उत्पादनमा कमी आएको र २७ जिल्लाको उत्पादनले आफ्नो आवश्यकता पूरा नगर्ने कृषि मन्त्रालयका प्रवक्ता डाक्टर प्रभाकर पाठकले उज्यालोलाई जानकारी दिनुभयो ।

गएको वर्ष ४४ लाख ६० हजार २ सय ७८ मेट्रिक टन उत्पादन भएको धान यो वर्ष भने ७ लाख २० हजार मेट्रिक टन कम उत्पादन भएको छ ।

१५ लाख २६ हजार हेक्टर खेतियोग्य जमिनमध्ये यो वर्ष १ लाख ४० हजार हेक्टर जमिनमा भने खेति हुन सकेको थिएन ।
गएको वर्ष २० लाख ६७ हजार ५ सय २२ मेट्रिक टन उत्पादन भएको मकैमा १० प्रतिशत कमी आएको पाठकले जानकारी दिनुभयो ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.