समलिंगी तेस्रोलिंगीले पहिचान अनुसार एमआरपी लिन पाउने

समलिंगी तेस्रोलिंगीले पहिचान अनुसार एमआरपी लिन पाउने

काठमाडौं (पहिचान) असोज २६ -सरकारले समलिंगी तेस्रोलिंगीको पहिचान अनुसार राहदानी (एमआरपी) दिने भएको छ । राहदानी (पहिलो संशोधन) नियमावली, २०७१ मा समलिंगी तेस्रोलिंगीलाई पहिचान अनुसार राहदानी दिने व्यवस्था गरेको राहदानी विभागले जनाएको छ । समलिंगी तेस्रोलिंगीको मातृ संस्था नील हिरा समाजको निरन्तरको दवाव पछि सरकारले समलिंगी तेस्रोलिंगीलाई पहिचान अनुसार राहदानी दिन लागेको हो । पहिचान अनुसारको राहदानी दिने निर्णय भएर नियमावली संसोधन गरिएको विभागका महानिर्देशक लोक बहादुर थापाले पहिचान अनलाईनलाई बताए । निर्णय गरेर नियमावली संसोधन भयो थापाले भने, कहिले देखि दिने र लिंगको महलमा अन्य या एक्स के उल्लेख गर्ने भनेर अध्ययन भइरहेको छ ।

थापाले अन्तराष्ट्रिय नागरिक उड्डयन प्राधिकरण आइकाओसँग छलफल गरेर समलिंगी तेस्रोलिंगीलाई पहिचान अनुसार एमआरपी वितरण गर्ने बताए । नील हिरा समाजले पहिचान अनुसारको राहदानी पाउनु पर्ने माग राहदानी विभागका तत्कालिन महानिर्देशक रमेशप्रसाद खनालसँग गरेको थियो । महानिर्देशक खनालको सकारात्मक सोच र पहलका कारण समलिंगी तेस्रोलिंगीले पहिचान अनुसार राहदानी पाउने भएका हुन् । राहदानी (पहिलो संसोधन) नियमावलीको नियम ८ को उपनियम ५ मा निवेदकले नियम ७ बमोजिम दिएको निवेदनमा राहदानीको लिङ्ग सम्बन्धी महलमा महिला वा पुरुष बाहेक अन्य लिङ्ग उल्लेख गरेको भएमा र सम्बन्धित निवेदकको नागरिकताको प्रमाणपत्रमा समेत त्यस्तो व्यहोरा उल्लेख भएको पाइएमा सोही बमोजिमको लैङ्गिक पहिचान उल्लेख गरी राहदानी जारी गरिनेछ ।” लेखिएको छ ।

अहिलेसम्म जारी भएका राहदानीमा पुरुष वा महिला मध्ये एकको मात्र लिंग खुलाइने गरिएको छ । विभागका महानिर्देशक थापाले समलिंगी तेस्रोलिंगीलाई दिने राहदानीमा लिंग छुट्ट्याउने कुन संकेत राख्ने भन्ने निर्णय नभएको बताए । अहिलेसम्म अष्ट्रेलिया, न्यूजिल्याण्ड, अर्जेन्टिना र जर्मनीले समलिंगी तेस्रोलिंगीलाई लिंगको महलमा अंग्रेजी वर्णमालाको एक्स उल्लेख गरेर राहदानी दिदै आएका छन् । भारतमा तेस्रोलिंगीलाई लिंगको महलमा इ उल्लेख गरेर राहदानी दिने गरिएको छ ।

सर्वोच्च अदालतको आदेशपछि सरकारले समलिंगी तेस्रोलिंगीलाई पहिचान अनुसार अन्य उल्लेख गरेर नागरिकता भने दिन थालिसकेको छ । पहिलेनै नागरिकता लिएका समलिंगी तेस्रोलिंगीले भने अहिले पनि पहिचान अनुसार अन्य उल्लेख गरेर नागरिकता लिन पाएका छैनन् । रुपन्देहीमा तेस्रोलिंगी आनिक रानालाई अन्य उल्लेख गरेर नागरिकता लिन जादाँ डाक्टर प्रमाणपत्र ल्याउनु भनेपछि नील हिरा समाजले सर्वोच्च अदालतमा रिट दायर गरेको छ । तर नयाँ लिन चाहनेलाई भने केही जिल्ला प्रशासन कार्यालय बाहेकले अन्य उल्लेख गरेरै नागरिकता दिइरहेका छन् । नागरिकता अन्य उल्लेख गरेर दिए पनि राहदानीमा भने महिला र पुरुष मात्रै भनेर दिने व्यवस्था थियो ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.