यौनिक तथा लैगिंक अल्पसख्यक पत्रकारको सहभागितालाई पत्रकार महासंघले ध्यान दिने

यौनिक तथा लैगिंक अल्पसख्यक पत्रकारको सहभागितालाई पत्रकार महासंघले ध्यान दिने

काठमाडौं (पहिचान) कार्तिक १८- नेपाल पत्रकार महासंघले पत्रकारको क्षमता, व्यावसायिकता र नेतृत्व विकासका लागि विभिन्न योजनाहरुमा यौनिक तथा लैगिंक अल्पसंख्यक समूदायका पत्रकारको सहभागितालाई ध्यान दिने भएको छ । लमजुङको घले गाउँमा बसेको केन्द्रीय समितिको बैठकले यौनिक तथा लैगिंक अल्पसंख्यक समूदायका पत्रकारको सहभागितालाई ध्यान दिने घोषणा गरेको हो ।

महासंघले जारी गरेको १० बुँदे घले गाउँ घोषणा पत्रमा आम पत्रकारको क्षमता, व्यावसायिकता र नेतृत्व विकासका लागि नेपाल पत्रकार महासंघले विभिन्न योजनाहरुका साथ काम गर्ने उल्लेख छ । घोषणा पत्रमा विशेष गरी यस्त योजनामा महिला, जनजाति, दलित, मधेशी, पीछडिएका क्षेत्र, अल्पसंख्यक, यौनिक तथा लैगिंक अल्पसंख्यक, अपांगता क्षेत्रबाट प्रतिनिधित्व गर्ने पत्रकारहरुको सहभागितालाई ध्यान दिने लेखिएको छ । महासंघको घले गाउँमा बसेको बैठकले लैगिंकमैत्री संचार निर्देशिका २०७० र सञ्चार प्रतिष्ठानलाई समावेशी बनाउने सम्बन्धी कार्यदलको सुझाव कार्यान्वयनका लागि सरकारको ध्यानाकर्षण समेत गराएको छ ।

नेपाल पत्रकार महासंघले यसअघिनै यौनिक तथा लैगिंक अल्पसंख्यक समलिंगी तेस्रोलिंगीलाई अन्य उल्लेख गरेर सदस्यता लिने बाटो खुला गरिसकेको छ । तेस्रोलिंगी विष्णु अधिकारीले लिंगको महलमा अन्य उल्लेख गरेर अनलाइन पत्रकार संघबाट पत्रकार महासंघको सदस्यता लिइसकेका छन् । त्यस्तै त्यस्तै तेस्रोलिंगी भक्ती शाह नेपाल प्रेस युनियन ललितपुरको जिल्ला कार्य समिति सदस्य भइसकेका छन् । समलिंगी तेस्रोलिंगीहरुले महासंघको यो निर्णयको स्वागत गर्दै समलिंगी तेस्रोलिंगीलाई खुलेर पत्रकार महासंघको सदस्यता लिन र महासंघका विभिन्न योजनामा सहभागी हुन बाटो खुलेको प्रतिक्रिया दिएका छन् ।
तेस्रोलिंगीलाई मनोनित गर्ने कि ? 
नेपाल पत्रकार महासंघको विधान अनुसार केन्द्रीय सदस्यमा दुई जना मनोनित गर्नुपर्ने लेखिएको छ । महासंघको नयाँ नेतृत्व चयन भएको ६ महिना वितिसक्दा समेत दुई जना सदस्य मनोनित नभएको बैठकमा छलफल भयो । बैठकमा पार्टीगत बागबण्डा नमिलेर त होइन भन्ने कुरा उठिरहँदा त्यसो भए एक जना महिला र एक जना पुरुषलाई मनोनित गर्दा विवाद हुँदैन कि भन्ने भनाई आयो । यो भनाई आए लगत्तै तेस्रोलिंगीलाई मनोनित गर्दा अझ राम्रो । तेस्रोलिंगीलाई किन नगर्ने ? फेरी प्रश्न आयो तेस्रोलिंगी पत्रकार छन् र ? त्यसको पनि जवाफ आयो ः मनोनित गर्ने मात्रै भनौ न तेस्रोलिंगी पत्रकार कति आउँछन् अनि थाहा हुन्छ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.