नुवाकोट केन्द्रीय कारागारमा तेस्रोलिङ्गी कैदीका लागि छुट्टै कक्ष बनाइने

नुवाकोट केन्द्रीय कारागारमा तेस्रोलिङ्गी कैदीका लागि छुट्टै कक्ष बनाइने

काठमाडौं (पहिचान) कार्तिक २४ – सरकारले पहिलोपटक समलिङ्गी तेस्रोलिङ्गी कैदीका लागि भनेर अलग हिरासत कक्ष वनाउने भएको छ ।  नुवाकोटको विदुर नगरपालीकामा निर्माण प्रारम्भ हुन लागेको नयाँ केन्द्रिय कारागारमा समलिङ्गी तेस्रोलिङ्गी कैदी बन्दीहरुका लागि तीनवटा कोठा छुट्टाउने तयारी भएको कारागार व्यवस्थापन विभागका महानिर्देशक शंभू कोइरालाले जानकारी दिए ।

“यौनिक तथा लैँगिक अल्पसङ्ख्यकको मानवअधिकारको सम्मान गर्दै उनीहरुको सहजताका लागि नयाँ केन्द्रीय कारागारमा समलिङ्गी तेस्रोलिङ्गीका लागि अलग हिरासत कक्ष बनाउने निर्णय भएको हो,” महानिर्देशक कोइरालाले भने । अहिलेसम्म नेपालका कारागारहरुमा महिला र पुरुषहरुका लागि मात्रै छुट्टा छुट्टै कक्ष रहँदै आएको छ । नुवाकोट केन्द्रिय कारागार मुलुककै पहिलो लैँगिकमैत्री कारागार बन्ने भएको छ ।

महानिर्देशक कोइरालाका अनुसार ६००० कैदी क्षमता रहने उक्त कारागार मुलुककै पहिलो अन्तराष्ट्रियस्तरको नमुना कारागार हुनेछ । १० वटा ब्लक रहने केन्द्रीय कारागारमा जघन्य अपराधमा संलग्न, मानसिक विरामी तथा २१ बर्षभन्दा माथी र सो भन्दा कम उमेरका कैदीहरुका लागि समेत अलग अलग कक्ष रहनेछन् । यस्तै कैदी बन्दीको प्रजनन अधिकारको रक्षाका लागि दम्पत्ति भेटघाट कक्ष समेत रहनेछ जहाँ विवाहित कैदीले आफ्नो लोग्ने वा स्वास्नीसित एक हप्ता सँगै रही प्रजनन् अधिकारको उपभोग गर्न पाउनेछन् ।

श्रोत र साधनले भ्याएसम्मका अन्तराष्टिय मापदण्ड समेट्ने उद्देश्य रहेको छ, कोइरालाले थपे । काम सुरु भएको मितिले ५ बर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको उक्त कारागारको पूर्वाधार नक्साँकनको काम अन्तिम चरणमा पुगेको छ । महानिर्देशक कोइरालाका अनुसार पुसको अन्तिम सातातिर कारागार निर्माणका लागि टेण्डर प्रक्रिया शुरु हुनेछ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.