तेस्रोलिंगीको आत्मसम्मानमा ठेस पुग्ने शब्द प्रयोग हुनु बिडम्वना

तेस्रोलिंगीको आत्मसम्मानमा ठेस पुग्ने शब्द प्रयोग हुनु बिडम्वना

काठमाडौं (पहिचान) माघ १६- यौनिक तथा लैगिंक अल्पसंख्यक समलिंगी तेस्रोलिंगीले आफूहरुको आत्मसम्मानमा चोट पुग्ने खालका अभिव्यक्तिको खण्डन गरिदिन संचारमाध्यमलाई अपिल गरेका छन् । राजनीतिक दलका नेता एवं कार्यकर्ताले समलिंगी तेस्रोलिंगीलाई गालि गलौज र निचा देखाउन तेस्रोलिंगी शब्दको प्रयोग गर्नु मानवअधिकारको हनन हो समलिंगी तेस्रोलिंगीले भनेका छन् ।

समलिंगी तेस्रोलिंगी समूदायको अधिकार प्राप्तिका अभियन्ता एवं पूर्व सभासद् सुनिलबाबु पन्तले प्रकाशन प्रसारण गर्ने संचारसंस्थाका सम्पादकहरुलाई अपिल लेखेर दलका नेता एवं कार्यकर्ताहरुका जुन सुकै समूदायको आत्मसम्मानमा चोट पुग्ने खालको अभिव्यक्ति आएमा त्यसलाई खण्डन गरिदिन आग्रह गरेका हुन् । पन्तले हालै मात्र पूर्वप्रधानमन्त्री तथा एकीकृत नेकपा माओवादीका नेता डाक्टर बाबुराम भट्टराईले सामाजिक संजाल फेसवुक मार्फत सभामुखलाई निचा देखाउन सिखण्डि शब्दको प्रयोग गरेकामा आफ्नो समूदायलाई दुख लागेको उल्लेख गरेका छन् ।

अधिकार प्राप्तिका अभियन्ता पन्तले भट्टराई लगायतका अरु वा राजनीतिक दलका कार्यकर्ताहरुले समेत आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न अरु नेता, राजनीतिक दल, कर्मचारी वा अन्य कसैलाई पनि निचा देखाउन तेस्रोलिंगी शब्द हेपाहा तरिकाले प्रयोग गर्ने वा तेस्रोलिंगी समूदायको आत्म सम्मानमा ठेस पुग्नेगरी प्रयोग हुनु मानवअधिकारको हनन हो भनेका छन् ।

हालै मात्रै संविधानसभाका अध्यक्षलाई निचा देखाउन सिखण्डि शब्दको प्रयोग सामाजिक संजाल फेसबुक मार्फत एकीकृत नेकपा माओवादीका नेता भट्टराईले गर्नु बिडम्वना छ पन्तले सम्पादकहरुलाई गरेको अपिलमा लेखिएको छ, यो प्रवृत्ती धेरै नेताहरुमा पाउनु विडम्वना समेत छ, जसले हामी तेस्रोलिंगीलाई मानसिक पीडा मात्र होइन कि समाजमा थप सिमान्तकृत समेत बनाएको छ । नत हामी तेस्रोलिंगीहरुको राज्य संयन्त्रमा कुनै पहुँच छ, न हाम्रा कारणले देशले संबिधान पाउन नसकेको हो पन्तले लेखेका छन्, फेरी हामीलाई गालि गरेर देशले निकास पाउने पनि होइन ।

पन्तले तेस्रोलिंगीलाई गालि गरेर देशलाई उपलब्धी केही नहुने भन्दै यसरी गालि गर्दा उत्पिडनमा परेका तेस्रोलिंगी माथि थप अन्याय मात्र हुन्छ भनेका छन् । पन्तले तेस्रोलिंगीलाई गालि गलौज र निचा देखाउन तेस्रोलिंगी शब्दको प्रयोग गरिएको समाचार संप्रेषण नगर्न पनि संचारमाध्यमलाई अनुरोध गरेका छन् ।

IMG_4990यसैबीच समलिंगी तेस्रोलिंगी समूदायको मातृ संस्था नील हिरा समाजको शाखा कार्यालय रुपन्देहीले अझै पनि समलिंगी तेस्रोलिंगीलाई कतिपय ठाउँमा हेप्ने चलन यथावत रहेको निष्कर्ष निकालेको छ । बैठकले तेस्रोलिंगीलाई हेप्ने चलन यथावत रहेका ठाउँमा सचेत हुँदै शिक्षा दिनु पर्ने र यसका लागि संचारमाध्यमको सहयोग महत्वपूर्ण हुने निष्कर्ष निकालेको रुपन्देहीबाट पहिचान सहकर्मी बिनोद विकले जनाएका छन् ।

बैठकले यौनिक तथा लैगिंक अल्पसंख्यक समलिंगी तेस्रोलिंगी समूदायलाई अन्तराष्ट्रिय दातृ निकायले मात्र नभइ स्थानीय एवं राष्ट्रिय सरोवाला निकायले पनि सहयोग गर्नु पर्ने धारणा व्यक्त भएको थियो । नेपाल सरकारले अरु महिला, आदिवासी जनजाति अपाङ्गता भएका, दलित लगायतका समूदायलाई जस्तै यौनिक तथा लैगिंक अल्पसंख्यक समलिंगी तेस्रोलिंगीलाई पनि सीप मुलक तालिम दिनु पर्ने बैठकले माग गरेको छ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.