‘लेस्बियन सम्बन्ध’ तिर नेपाली मोडल तथा नायिकाहरु

‘लेस्बियन सम्बन्ध’ तिर नेपाली मोडल तथा नायिकाहरु

काठमाडौं(पहिचान)फागुन १२ -फिल्म लाइनमा लाग्ने युवतीहरु अधिकांश ‘कास्टिङ काउच’को शिकार हुने गरेको चर्चा छ । फिल्मको निर्माता, निर्देशक, अभिनेतासँगै सोहि फिल्डमा कलम चलाउँदै आएका मिडियाकर्मीहरु पनि विभिन्न बहानामा नायिकाहरुलाई यौनसम्बन्धको लागि अफर गर्ने गर्छन् । पुरुषसँगको रिलेशनमा सुरक्षित अनुभव नभएपछि ‘लेस्बियन रिलेशन’तर्फ आकर्षित भएको केही मोडल तथा अभिनेत्रीहरुले बताएका छन् । पछिल्लो समयमा नेपालमा झांगिएको नेपाली मोडल तथा अभिनेत्रीहरुको लेस्बियन सम्बन्धबारे रेम बिकको रिपोर्ट:

सामान्यतया महिला र पुरुषबीच हुने आकर्षण र उनीहरुबीचको सम्बन्धलाई समाजले सहजै स्वीकार्छ । मानिसको विपरित लिङ्गीप्रतिको आकर्षण स्वभाविक हो । तर, जुन आकर्षण र सम्बन्ध विपरित लिङ्गीबीच हुन्छ त्यस्तो आकर्षण एउटै लिङ्गीबीच हुने कुरालाई हाम्रो समाजले अझै पनि स्वीकार्न सकेको छैन् । अझ भनौ तेस्रो लिङ्गीका बारेमा सुन्दा कतिपय मान्छे अझै पनि अचम्मले जिब्रो टोक्छन् ।

तर, समाजमा केही खुलेआम त केही लुकिछिपी रुपमै भए पनि एउटै शारीरिक संरचना र उस्तै हाउभाउ देखाउने ब्यक्तिहरु आफनो सम्बन्ध स्थापित गर्न लागि परेका छन् । केही समय अगाडि मात्रै समलिङ्गी विवाहलाई कानुनी मान्यता दिन उनीहरुले नेपाल सरकारलाई दवाब समेत दिएका थिए ।

तेस्रो लिङ्गी तथा समलिङ्गीहरुको हक अधिकारको पक्षमा वकालत गर्दै आएको निल हिरा समाजमा विगतको तुलनामा अहिले नेपालका तेस्रो लिङ्गी तथा समलिङ्गीहरु आबद्ध हुने क्रम बढ्दो छ । सामान्य परिवारदेखि लिएर उच्च घरानियाँहरु समेत यो समुदायमा आफुलाई समाहित गराउँन थालेका छन् ।

कतिपय खुलेर आफनो भावनाहरु प्रस्तुत गर्छन् । परिचय दिन्छन् । कतिपय समाजको हेपाह नजरबाट बच्नका लागि चाहेर पनि खुलेर आउन सकेका छैनन् । पछिल्लो समय नेपालका ग्ल्यामर क्षेत्रमा पनि समलिङ्गी सम्बन्धहरु झाङ्गिदै गएको देखिएको छ ।

पछिल्लो समय त केही नेपाली नायिका र मोडलहरुको ‘लेस्बियन सम्बन्ध’को चर्चा नेपाली ग्लामर फिल्डमा ‘भुसको आगो’सरी फैलिएको छ । भलै, अहिलेसम्म ‘म लेस्बियन नै हुँ’ भनेर कुनै मोडल र नायिका पनि अगाडि आएका छैनन् । तर, ती मोडल नायिकाहरुको दैनिक उठबस् र सामाजिक सञ्जालमा देखिने आत्मियताले ‘हल्ला चलाउने’ मानिसहरुलाई ‘शंका पुष्टि’ गर्ने ठाउँ दिएको छ । हेर्दा असहज लाग्ने आत्मियता र नजिकपनले पनि शंकाको ठाउँ दिएको हो ।

ग्लामरवृत्तमा चलेको यस्तो खालको हल्लामा अगाडि आएका केही मोडल र नायिकाहरुको नामअनुसार उनीहरुलाई नै प्रश्न सोधेपछि यसबारे अझै विस्तारमा जानकारी आयो । सुरुमा हिच्किएका उनीहरु नाम सार्वजनिक नगर्ने शर्तमा मात्रै आफ्नो बारेमा केही बोले । खासगरी काठमाडांै र पोखराका केहि मोडल–नायिकाहरु ‘लेस्बियन रिलेशन’मा रमाइरहेको तथ्य पनि उनीहरुले खोले । उनी पीडा आफ्नै खालेको थियो ।

किन उनीहरु लेस्वियन सम्बन्ध राख्न पुगे त ? यसबारे जिज्ञाशा राख्दा केही मोडेल र नायिकाहरुले अचम्मको जवाफ दिए । उनीहरुको भनाइ थियो, ‘अधिकांश पुरुषहरुले शारीरिक सम्बन्धकै लागि मात्र हेर्ने गर्छन्, भावनात्मक मायाको अभावले गर्दा पनि हामीहरु लेस्बियन सम्बन्ध राख्न बाध्य भएका हौं ।’

यस्तो कुरा गर्नेमा पोखराकै एक जना चर्चित मोडल पनि हुन्, उनलाई देख्नासाथ कसैले पनि लेस्वियन होलिन् भनेर पत्याउँदैन । त्यसैगरी काठमाडौंकी एक जना नाम कहलिएकी नायिकाले पनि आफू केटासाथीकै स्वार्थी प्रवृतिका कारण लेस्वियन जीवन अपनाउनु परेको पीडा पोखिन् । यद्यपि, उनीहरु दुबै जनाले आफ्नो नाम उल्लेख गर्न चाहेनन् ।

युवतीहरु अक्सर आफूले मन पराएको केटाले उसका भावनाहरु बुझने, माया दर्शाउने तथा आत्मियता देखाउँदै उसको ख्याल गरिदिओस् भन्ने चाहना राख्ने गर्दछन् । तर उनिहरुको चाहाना विपरित पुरुषहरुले यौनको दृष्टिकोणले मात्रै हेर्ने गर्नाले पनि उनीहरु विरक्तिएर लेस्वियन सम्बन्धलाई अंगीकार गरेको पनि हुन सक्छ ।

ग्लायमर्स क्षेत्रलाई अधिकांशले चासोको रुपमा हेर्ने गरेका हुन्छन् । यस क्षेत्रमा लाग्नेहरुले आफ्ना ब्यक्तिगत कुराहरु सकभर बाहिर ल्याउन चाहँदैंनन् । तर, पोखरा र काठमाडौंका केहि मोडल तथा नायिकाहरुल्ले भने नाम नबताउने शर्तमा आफ्ना नीजि जीवनका केहि सम्बन्धहरुका बरेमा खुलेरै बोलेका छन् ।

किन लेस्बियन रिलेशन त ?

पोखराकी एक मोडल र काठमाडांैका दुई नायिकालाई सोधिएको ‘लेस्बियन रिलेशन’को प्रश्नमा सबैले करिब उस्तै खाले उत्तर फर्काए । ‘यो फिल्डमा लाग्ने युवतीलाई पुरुष आँखाहरुले सधैं सेक्स रिलेशनका लागि हेर्ने परिपाटी छ,’ उनीहरुले भने, ‘जुन कुराले युवतीलाई निकै जोखिममा पारेको छ ।’ Ll

पुरुषसँगको रिलेशनमा सुरक्षित अनुभव नभएपछि आफुहरु ‘लेस्बियन रिलेशन’तर्फ आकर्षित भएको उनीहरुले बताए । सम्बन्धबारे सोध्दा एक नायिका भने अलिक बेसी नै खुलिन् । उनले आफ्नो सम्बन्ध रहेको अर्की नायिकाको बारेमा पनि केहि बताइन् । उनले बताएअनुसार उनीहरुबीच हुने भेटघाट, कुराकानी, च्याटिङ सम्पूर्ण कुराहरु प्रेमी जोडीकै जस्तो हुने गर्छ ।

उनले अगाडि भनिन्, ‘मैले यसभन्दा अगाडि धेरै पुरुषहरुसँग सम्बन्ध राखेकी छु, सबैले मलाई युज गरे । मैले पुरुषको पिटाई धेरै चोटी खाएकी छु । उनीहरुको एउटै ध्येय भनेको यौन सम्बन्ध हो । मैले आजसम्म जति पुरुषसँग सम्बन्ध राखेँ उनीहरुबाट मैले पाएको भनेको धोका मात्रै हो, त्यसैले म युवतीसँगै आकर्षित भएँ ।’ युवतीसँगको सम्बन्धबाट निकै सन्तुष्ट भएको उनको अनुभव छ ।

अर्की नायिकाले बताएअनुसार पछिल्लो समय फिल्म लाइनमा लाग्ने युवतीहरु अधिकांश ‘कास्टिङ काउच’को शिकार हुन्छन् । फिल्मको निर्माता, निर्देशक, अभिनेतासँगै सोहि फिल्डमा कलम चलाउँदै आएका मिडियाकर्मीहरु पनि विभिन्न बहानामा नायिकाहरुलाई यौनसम्बन्धको लागि अफर गर्ने गर्छन् । चर्चा र शिखरमा पुग्ने लक्ष्यसहित यो फिल्डमा छिर्ने युवतीहरुका लागि बारम्बार यस्ता खाले अफरहरु आइरहन्छन् ।

कति यस्तै कारणले पलायन हुन्छन् भने कति निरन्तर यस्तै खाले ‘कास्टिङ काउच’को शिकार बनिरहन्छन् । यस्ता कुराहरु कुनै पनि हालतमा नायिका वा मोडल बनेरै छाड्ने रहर भएका युवतीहरुमा बढि लागु हुने गरेको उनले सुनाइन् ।

‘साँच्चिकै रहरले डुबाउँदो रै’छ,’ उनले अगाडि थपिन्, ‘नत्र त आफूमा दृढ संकल्प र आत्मविश्वास भएन भने यहाँ धेरै स्यालहरु कुरेर बसेका छन् लुछ्नका लागि ।’ उनले अगाडि सुझाइन्, ‘सम्पूर्ण रुपमा फिट भएर मात्रै यो लाइनमा आएपछि अरुले सिधै यस्तो उस्तो गर्न पाउँदैनन् । नत्र केहि कमजोरी मात्रै भेट्नुपर्छ चर्चित नायिका मोडल बन्छु भनेर आउनेहरुलाई यिनिहरुले ओछ्यानमा मात्रै सिमित बनाइदिन्छन् ।’

ग्लामर फिल्डका अधिकांश वरिष्ठदेखि कनिष्ठ व्यक्तिहरुको सोँच भनेको नायिका वा मोडलसँग यौन सम्बन्ध राख्ने हुने गरेको उनले बताइन् । यस्ता खालका पुरुषहरुसँगको सम्बन्धका कारण बिच्किएर आफुले लेस्बियन रिलेशन राखेको उनले प्रस्ट्याइन् ।

दुई नायिकासँग कुराकानी भइरहँदा उनीहरुले आफुहरुसँगै अरु नायिकाको लेस्बियन रिलेशनको बारेमा पनि बताए । उनीहरुका अनुसार करिब दर्जन बढी नायिकाहरु यतिबेला लेस्बियन रिलेशनमा रमाइरहेका छन् । पोखराकी एक मोडल यतिबेला लेस्बियन विवाह नै गर्ने तयारीमा छिन् । उनी आफ्नो सम्बन्धको बारेमा खास खुल्न चाहिनन् ।

के हो लेस्बियन सम्बन्ध ?

महिलाप्रति आकर्षित हुने महिलालाई महिला समलिंगी अर्थात ‘लेस्बियन’ भन्ने गरिन्छ । नेपालको कानुनले यस्तो खालको सम्बन्धलाई ‘अप्राकृतिक’ नमाने पनि समाजले भने ‘अप्राकृतिक’ नै मान्दै आएको छ ।

नेपालको हकमा कुरा गर्दा केहि वर्ष अगाडि राजधानीमा पहिलो पटक पत्रकार सम्मेलन गरेर ‘मितिनी नेपाल’ले उपत्यकाका १२ सय लेस्बियन महिलाहरु आफ्नो सम्पर्कमा आएको जानकारी दिएको थियो । जसमा शिक्षा, खेलकुद, फिल्म, संगीत, साहित्य आदि धेरै क्षेत्रका महिला रहेको ‘मितिनी नेपाल’को दाबी थियो । खासमा सबै खुलेर आउँनै चाहँदैनन् । किनभने आफू समलिंगी भएको कुरा खोलेपछि उनीहरूले घर–परिवार र समाजको अपहेलना सहनुपर्ने हुन्छ ।

अमेरिकी मनोरोग चिकित्सा संघ तथा विश्व स्वास्थ्य संगठनले पुष्टी गरेअनुसार समलिंगी यौन सम्बन्धलाई प्राकृतिक नै मानेको छ । तर, कतिपयले यो कुरा मान्न अझै तयार छैनन् । खासगरी धार्मिक मान्यताअनुसार यो एउटा यस्तो अवस्था हो जुन प्राकृतिक नभई एउटा गम्भीर मानसिक समस्या हो ।

धार्मिक, सांस्कृतिक एवं जैविक आधारमा महिला र पुरुषबीच मात्र यौनिक र वैवाहिक सम्बन्ध हुनसक्छ भन्ने धर्मको धारणा छ । र, त्यही अनुरुप नै हुँदै आएको छ । तर महिला र पुरुषबीच मात्र नभएर महिला–महिला र पुरुष–पुरुष बीचको सम्बन्ध पनि हुन्छ भन्दै उनीहरु आफनो पहिचानको लागि संघर्षरत रहेका छन् । नागरिकतादेखि लिएर फर्महरुमा समेत महिला÷पुरुषबाहेक तेस्रो लिङ्गीको दर्जालाई समेत खुलाउनुपर्ने उनीहरुको माग रहेको छ ।

साभार :http://www.nepalipatra.com/news/detail/12899/14/%E2%80%98%E0%A4%B2%E0%A5%87%E0%A4%B8%E0%A5%8D%E0%A4%AC%E0%A4%BF%E0%A4%AF%E0%A4%A8_%E0%A4%B8%E0%A4%AE%E0%A5%8D%E0%A4%AC%E0%A4%A8%E0%A5%8D%E0%A4%A7%E2%80%99_%E0%A4%A4%E0%A4%BF%E0%A4%B0_%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%B2%E0%A5%80_%E0%A4%AE%E0%A5%8B%E0%A4%A1%E0%A4%B2_%E0%A4%A4%E0%A4%A5%E0%A4%BE_%E0%A4%A8%E0%A4%BE%E0%A4%AF%E0%A4%BF%E0%A4%95%E0%A4%BE%E0%A4%B9%E0%A4%B0%E0%A5%81

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.