तेस्रोलिंगी साथी शिक्षकलाई कुटपीट गर्ने मोहिनी पक्राउ

तेस्रोलिंगी साथी शिक्षकलाई कुटपीट गर्ने मोहिनी पक्राउ

काठमाडौं(पहिचान) चैत्र ६ -तेस्रोलिंगी यौनकर्मीहरुलाई आफू डन भन्दै कुटपीट गर्दै आएका मोहिनी र रजनका नामले चिनिने धनकुटा निवासी दिलिप राई काठमाडौंमा पक्राउ परेका छन् । तेस्रोलिंगीको अधिकार प्राप्तिको अभियानमा सहभागी हुँदै आएका साथी शिक्षक अनिल शेर्पा चिन्टीलाई कुटपीट गरेर घाइते बनाएको उजुरी पछि महानगरिय प्रहरी बृत्त दरवारमार्गले मोहिनीलाई पक्रेको हो ।

शेर्पा सहितका समलिंगी तेस्रोलिंगीको उजुरी पछि प्रहरी नायव निरीक्षक नेत्र रानाको कमाण्डमा खटिएको टोलीले डन भनेर चिनिएका मोहिनीलाई पक्राउ गरिएको प्रहरी बृत्त दरवारमार्गले जनाएको छ । मोहिनी काठमाडौंको लाजिम्पाटमा रहेको डेराबाटै पक्राउ परेका हुन् । ठमेल, लाजिम्पाट र रत्नपार्क क्षेत्रमा समलिंगी तेस्रोलिंगीलाई आफ्नो अण्डरमा नबसे मारिदिन्छुनै भन्ने जस्ता धम्की दिदै आएका मोहिनीले बालुवाटारमा रहेको क्रुजऐड कार्यालयमा बसिरहेको बैठकमा शेर्पालाई मुक्का प्रहार गरेका पीडित शेर्पाले वताए । यसअघि तेस्रोलिंगी अधिकारकर्मी सुशीला लामालाई कुटपीट गरेका मोहिनीले समलिंगी तेस्रोलिंगीको अधिकार प्राप्तिको अभियान चलाउँदै आएको नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङलाई हातले कोतरेर ओठमा घाउ बनाइदिएका छन् ।

पटक पटकको धम्की, दुरव्यवहार र कुटपिट सहन नसकेर सुरक्षा माग्दै प्रहरी समक्ष आएको हौ प्रहरी वृत्त पुगेका समलिंगी तेस्रोलिंगीले भने, हामीसँग हप्ता असुल गर्ने र नदिए कोठा कोठामै आएर धम्की समेत दिदै आएका थिए । समलिंगी तेस्रोलिंगीले सडकमा हिडडुल गर्न समेत मोहिनीको अनुमति लिनु पर्ने बाध्यता भएको पीडा समेत उनीहरुले व्यक्त गरे । हामी कहिल्यै सम्म अन्याय सहेर बस्ने ? समलिंगी तेस्रोलिंगीले भने, देशको कानुन उल्लघंन गरेर ज्याननै मार्ने धम्की दिने मोहिनीलाई कारवाही होस् । प्रहरीले मोहिनीलाई पक्रेको तस्विर लिन खोज्दा उनले पत्रकारलाई समेत धम्की दिएका थिए ।

ठमेल, लाजिम्पाट र रत्नपार्क क्षेत्रको डन हुँ भन्ने मोहिनी नील हिरा समाजमा आवद्ध छैनन् । तर नील हिरा समाजका अध्यक्ष सहितका पदाधिकारी, समाजका अधिकार प्राप्तिको अभियानमा खटिने कर्मचारीलाई समेत कब्जामा लिएर सिध्याइदिने सम्मको धम्की मोहिनीले दिदै आएका थिए । महानगरिय प्रहरी वृत्त दरवारमार्गका प्रहरी नायव उपरीक्षक रमेश बस्नेतले मोहिनीलाई थुनामा राखिएको जानकारी दिए । बस्नेतले मोहिनी विरुद्ध मुद्धा चलाउने जानकारी पनि दिए । तेस्रोलिंगी माथि कुटपीट गर्ने मोहिनीलाई पक्रेर हनुमानढोकामा पठाईएको प्रहरी नायव निरीक्षक नेत्र रानाले जानकारी दिए ।

दरवारमार्गमा महिला र पुरुषलाई राख्ने ठाउँ भएको र तेस्रोलिंगीलाई राख्ने ठाउँ नभएकाले हनुमानढोका पठाइएको रानाले वताए । कुटाई खाने अनिल शेर्पा चिन्टीको प्रहरी अनुरोधमा बीर अस्पतालमा स्वास्थ्य जाँच भएको छ । मेडिकल रिपोर्ट अनुसार डन भनेर चिनिएका मोहिनीलाई कारवाही गर्ने कानुनी व्यवस्था रहेको नील हिरा समाजका कानुनी सल्लाहकार अधिवक्ता प्रेमबहादुर थापाले वताए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.