तेस्रोलिंगी डन मोहिनीलाई रिहा नगर्न प्रहरी समक्ष पीडित समलिंगी तेस्रोलिंगीको दवाव

तेस्रोलिंगी डन मोहिनीलाई रिहा नगर्न प्रहरी समक्ष पीडित समलिंगी तेस्रोलिंगीको दवाव

काठमाडौं (पहिचान) चैत्र २७ – समलिंगी तेस्रोलिंगीले आफूलाई डन भन्दै ज्यानै मार्नेसम्मको धम्की दिने मोहिनी भनिने दिलिप राईलाई रिहा गरे आफूहरुको सुरक्षाको जिम्मा प्रहरीले लिनु पर्ने वताएका छन् । महानगरिय प्रहरी वृत्त दरवारमार्ग पुगेका समलिंगी तेस्रोलिंगीले मोहिनीका कारण आफूहरुको ज्यान नै खतरामा परेको वताउँदै उसलाई रिहा गरे त्यसको जिम्मा प्रहरीले लिनु पर्ने वताए ।

तेस्रोलिंगी डन मोहिनी अदालतको आदेशमा २८ हजार रुपैयाँ धरौटी बुझाएर रिहा हुन लागेको पत्तो पाएका समलिंगी तेस्रोलिंगीले दरवारमार्ग प्रहरीकोमा पुगेर मोहिनी रिहा भए आफूहरुको ज्याननै खतरामा पर्ने वताए । तेस्रोलिंगी साथी शिक्षक अनिल शेर्पालाई कुटपीट गरेको उजुरी पछि गएको चैत्र ६ गते तेस्रोलिंगी डन मोहिनी पक्राउ परेका थिए । सार्वजनिक अपराध ऐन अन्तर्गत हिरासतमा रहेका मोहिनीले आफूलाई भेट्न नआउनेको कपाल मुण्डन गरिदिने, हात खुट्टा भाचिदिने र नभए अर्को कोही व्यक्ति लगाएर ज्यानै मार्ने सम्मको धम्की उनका सहयोगी मार्फत पठाएकोले रिहा नगर्न माग गरेको समलिंगी तेस्रोलिंगीले प्रहरी समक्ष वताए ।

दरवारमार्ग प्रहरी वृत्तका प्रहरी नायव उपरिक्षक रमेश बस्तेनले मोहिनी डनको आतंकबाट नडराउन आग्रह गरे । उनले समलिंगी तेस्रोलिंगीलाई सुरक्षित भएको महसुस गर्न आग्रह गरेपनि समलिंगी तेस्रोलिंगीले मोहिनी डनको आतंक फेरी दोहोरिन नदिन पनि उसलाई हिरासतमै राख्नु पर्ने माग गरे । मेलमिलाप गर्नुहुन्छ भने गर्नुहोस् डिएसपी बस्नेतले भने, मोहिनी अझै सुध्रिएको छैन भन्ने लाग्छ भने उजुरी दिनुहोस् हामी कारवाही गर्छौ ।

डिएसपी बस्नेतसँगको वार्तालापमा तेस्रोलिंगी डन मोहिनीले आफूले सम्झाउने हिसावले धेरै समलिंगी तेस्रोलिंगीलाई कुटपीट गरेको स्वीकार गर्दै अबदेखि कसैलाई पनि कुटपीट नगर्ने, ज्यान मार्ने धम्की नदिने, कोठा कोठामा गएर सरसामान नलुट्ने र फेरी अपराध गरे कारवाही भोग्ने वताएका थिए । मोहिनीको पाँचौ पटकसम्मको कुटाई खाएका तेस्रोलिंगी साथी शिक्षक अनिल शेर्पाले पटक पटक माफी माग्दै पुन डन बनेर मरनासन्न हुने गरी कुटपीट गर्ने मोहिनीको यो भनाई प्रहरीबाट उम्कने प्रयास मात्रै भएको वताए ।

मलाई कुटेको अघिल्लो दिन चैत्र ५ गते तेस्रोलिंगी साथी शिक्षक रेखालाई छातीमा मुड्की र लात्ती हानेर घाइते बनाउने मोहिनी डनको आतंकले अहिले रेखा भागेर घर गएकी छन् अनिलले भने, यसले अरु मान्छे लगाएर हामी माथि हातपात गरेमा त्यसको जिम्मा कसले लिन्छ ? अनिलको यो प्रश्न पछि अनुत्तरित प्रहरीले मिलापत्र गर्न दवाव दिएको समलिंगी तेस्रोलिंगीको गुनासो छ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.