तेस्रोलिंगी डन मोहिनी दैनिक हाजिरी गर्ने शर्तमा रिहा

तेस्रोलिंगी डन मोहिनी दैनिक हाजिरी गर्ने शर्तमा रिहा

काठमाडौं (पहिचान) चैत्र २८- समलिंगी तेस्रोलिंगीलाई ज्यानै मार्ने सम्मको धम्की दिदै कुटपीट गर्ने तेस्रोलिंगी डन मोहिने भनिने दिलिप राई दरवारमार्ग प्रहरी वृत्तमा दैनिक हाजिरी गर्ने सर्तमा रिहा भएका छन् । महानगरिय प्रहरी वृत्त दरवारमार्गमा समलिंगी तेस्रोलिंगीसँग डन मोहिनीले विगतका गल्ती स्वीकार गर्दै अबदेखि कोही कसैलाई मानसिक तथा शारीरिक यातना नदिने लगायतका विषयमा लिखित कागज गरेपछि दैनिक हाजिर हुने गरि रिहा भएका हुन् ।

मोहिनीले अबदेखि कुटपीट नगर्ने, धम्की नदिने, डिस्को डान्समा जवरजस्ती नलैजाने, समलिंगी तेस्रोलिंगीबाट लिएको सामान फिर्ता गर्ने, देउसी भैलो खेलेर जम्मा गरेको ४८ हजार रुपैयाँ समूहमा फिर्ता गर्ने, समलिंगी तेस्रोलिंगी समूदायको मातृ संस्था नील हिरा समाज र समूदायका सदस्य विरुद्ध कुनै पनि गतिविधि, कुराकानी नगर्ने कागज गरेका छन् । मोहिनीले अब फेरी यस्ता गतिविधि गरे उजुर गर्न दरवारमार्ग प्रहरी वृत्तका प्रहरी नायव उपरीक्षक रमेश बस्नेतले आग्रह गरे ।

तपाईहरु ढुक्क हुनुहोस समलिंगी तेस्रोलिंगीलाई आश्वास्त पार्दै बस्नेतले भने, कानुनको उल्लघंन गर्ने मोहिनी लगायतका जो कोहीलाई प्रहरीले पक्रेर कारवाही गर्छ । अहिलेसम्म डराएर बस्नु भएको रहेछ बस्नेतले भने, अब नडराउनुहोस, तपाईहरुको साथमा हामी छौ । समलिंगी तेस्रोलिंगीले मोहिनी डनको आतंक अन्त्य नभए फेरी उजुर गर्न आउने वताए । प्रहरी निरीक्षक दीपक गिरीले समलिंगी तेस्रोलिंगीको संस्था र समूदाय बिरुद्ध कुनै पनि गतिविधि भए प्रहरीले सहयोग गर्ने वताउँदै नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङलाई धन्यवाद दिए ।

तेस्रोलिंगी डन मोहिनीले समलिंगी तेस्रोलिंगीलाई मानसिक तथा शारीरिक यातना नदिने, कुटपीट, ज्यानै मार्नेसम्मका धम्की नदिने भन्दै एक पटकलाई माफी दिन आग्रह गरेका थिए । महिले कहिल्यै नचिन्ने नील हिरा समाज बिरुद्ध लागेका केही व्यक्ति मलाई हनुमानढोकामा भेट्न आएका थिए मोहिनीने भनिन्, समाजकै ३ जना व्यक्ति पनि आएर हौसला दिदै थिए म उनीहरुको नाम भन्छु ।

मोहिनीले अबदेखि समाचार लेखेकै आधारमा कुनै पनि पत्रकारलाई धम्की नदिने पनि बताए । तेस्रोलिंगी साथी शिक्षक अनिल शेर्पालाई कुटपीट गरेको उजुरी पछि चैत्र ६ गते पक्राउ परेका तेस्रोलिंगी डन मोहिनी २८ हजार धरौटी तिरेर रिहा भएपनि समलिंगी तेस्रोलिंगीले आफूहरुको सुरक्षा नभएसम्म रिहा नगर्न प्रहरीलार्ई दवाव दिएका थिए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.