समलिंगी तेस्रोलिंगी खुल्ला आकाश मुनि रात विताउन बाध्य

समलिंगी तेस्रोलिंगी खुल्ला आकाश मुनि रात विताउन बाध्य

काठमाडौं (पहिचान) जेठ ४ – बैशाख १२ गते गएको महाभुकम्पमा परी नील हिरा समाजमा कार्यरत सामूदायिक स्वास्थ्य अधिकृत ज्योती प्रकाश केसीको निधन भएको छ । यस्तै समाजका संचार अधिकृत एवं नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य माधव दुलालका बुबा गोबिन्द दुलालको पनि महाभुकम्पकमा परेर निधन भएको छ ।

समलिंगी तेस्रोलिंगी समूदायको मातृ संस्था नील हिरा समाजको केयर एण्ड सपोर्टमा कार्यरत स्वास्थ्य अधिकृत केसीको मृत शरीर तीन दिन पछि फेला पारिएको समाजकी कार्यकारी निर्देशक मनिषा ढकालले जानकारी दिइन । केसीको पार्थिव शरीरलाई अन्तिम श्रद्धान्जली दिन पशुपति आर्यघाटमा समाजकी अध्यक्ष पिंकी गुरुङ, निर्देशक ढकाल, उपनिर्देशक परसुराम राई लगायतका समलिंगी तेस्रोलिंगी पुगेका थिए । केसीको निधन प्रति शोक व्यक्त गर्दै नील हिरा समाजले शोक सन्तव्ध परिवारमा धैर्य धारण गर्ने शक्ती प्राप्त होस भनेर भगवानसँग प्राथना गरेको छ ।IMG_20150514_110131494

बैशाख १२ गतेको महाभुकम्पमा संचार अधिकृत दुलालका बुबा गोबिन्दको निधन भएकोमा पनि समाजले दुख व्यक्त गरेको छ । ५८ बर्षिय गोबिन्दको काभ्रेको काशिखण्ड नगरपालिका वडा नम्वर २ मा रहेको दुई तले कच्ची घर भत्कदा घरले थिचेर निधन भएको हो । गोबिन्द दुलालको निधन प्रति उपप्रधान एवं स्थानीय विकास मन्त्री प्रकाशमान सिंह र सूचना तथा संचारमन्त्री डाक्टर मिनेन्द्र रिजालले टेलिफोन गरेर दुख व्यक्त गरे ।

यस्तै गोबिन्द दुलालको निधन प्रति नेपाल पत्रकार महासंघका अध्यक्ष महेन्द्र बिष्ट, उपाध्यक्ष अनिता बिन्दु, खिल बहादुर भण्डारी, महासचिव उजिर मगर, कोषाध्यक्ष सुर्यमणी गौतम, सचिव संगिता खड्का लगायत महासंघको टोली, नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, उपाध्यक्ष इश्वरी ओझा लगायतको टोली, प्रेस चौतारीका अध्यक्ष राजेन्द्र अर्याल, क्रान्तिकारी पत्रकार संघका अध्यक्ष गोविन्द आचार्य लगायतको टोली,  आर्थिक पत्रकार समाज सेजनका अध्यक्ष बिज्ञान अधिकारी, लोक बहादुर चापागाई लगायत पत्रकारसंग सम्वन्धित विभिन्न संघ संस्थाका प्रतिनिधिले दुलालको स्थायी निवास काभ्रेमै पुगेर दुख व्यक्त गरे ।

यस्तै नेपाली काँग्रेस काभ्रेका सभापति शिवप्रसाद हुमागाई, पूर्व सभासद् हर्षजित लामा, क्षेत्र नम्वर दुईका सभापति रमेश हुमागाई, नेपाल पत्रकार महासंघ काभ्रेका सभापति नारायाण साप्कोटा, पूर्व सभापति भोला थापा, महेश पौडेल, प्रेस युनियन काभ्रेका अध्यक्ष कपिल कोइराला, देशपरदेश डट कमका सम्पादक सुनिल न्यौपाने, इडियुखवर डट कमका सम्पादक श्रीधर पौडेल, चेष्टा साप्ताहिकका सम्पादक मोतिराम तिमिल्सिना, नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङ, कार्यकारी निर्देशक मनिषा ढकाल, उपनिर्देशक परसुराम राई, तेस्रोलिंगी अधिकारकर्मी सुशिला लामा, बिश्वराज अधिकारी, अनिल शेर्पा, गौरी नेपाली, कञ्चन अधिकारी, समाजका कानुनी सल्लाहकार सुजन पन्त लगायतले गोबिन्द दुलालको निधन प्रति काभ्रेको निजी बासस्थानमै पुगेर दुख व्यक्त गरे ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य समेत रहेका पहिचान अनलाईनका सम्पादक माधव दुलाल महाभुकम्पमा परी निधन भएका गोबिन्द दुलालका जेठा छोरा हुन । महाभुकम्पमा परी नील हिरा समाजमा कार्यरत केसीले आफ्नो ज्यान गुमाए भने संचार अधिकृत दुलालले आफ्ना बुबा गुमाउनु पर्यो । पहिचान अनलाईन महाभुकम्पमा परी निधन भएका ज्योति प्रकाश केसी, गोबिन्द दुलाल लगायत महाभुकम्पमा परी ज्यान गुमाएका ८ हजार भन्दा धेरै नेपालीको मृत आत्माको शान्तिको कामना गर्दछ । घाइते हजारौको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।

यस्तै महाभुकम्पमा नील हिरा समाजकी तेस्रोलिंगी मानवअधिकारकर्मी सुशीला लामाको काभ्रे शंखुमा रहेको दुई तले घर भत्किएको छ भने संजय तामाङको काभ्रे ढुङखर्कमा रहेको घर भत्किएको छ । यस्तै पहिचान अनलाईनमा कार्यरत सम्वाददाता गौरी नेपालीको पनौतीमा रहेको घर र अम्विका दाहालको ढुङखर्कमा रहेको घर पनि भत्किएको छ । यस्तै महाभुकम्पले नील हिरा समाजको धुम्वाराहीमा रहेको भवन र लाजिम्पाटमा रहेको केयर एण्ड सपोर्ट रहेको भवनमा क्षति पुगेको छ । यस्तै सयौ समलिंगी तेस्रोलिंगीको घर भत्किएको जानकारी समाजका उपनिर्देशक परसुराम राईले दिए ।

महाभुकम्पले घर क्षतिग्रस्त बनाएपछि समलिंगी तेस्रोलिंगी खुल्ला आकास मुनी रात विताउन बाध्य भएका समाजकी अध्यक्ष पिंकी गुरुङले जानकारी दिइन । अध्यक्ष गुरुङले अहिलेसम्म सरकारका तर्फबाट कुनै पनि राहत नपाउनु दुखद भएको समेत वताइन । समाजकी कार्यकारी निर्देशक मनिषा ढकालले विपतमा परेका समूदायका सदस्यका लागि राहत उपलव्ध गराउन विभिन्न निकायमा पहल गरिरहेको वताइन । सेभद चिल्ड्रेन नेपाल रेडक्रस सोसाइटीबाट प्राप्त ४० वटा त्रिपाल र ९० वटा ब्ल्याङकेट वितरण गरिसकेको निर्देशक ढकालले जानकारी दिइन ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.