सरकारले समलिंगी तेस्रोलिंगीबारे सचेतना र सीप विकासका कार्यक्रम संचालन गर्ने

सरकारले समलिंगी तेस्रोलिंगीबारे सचेतना र सीप विकासका कार्यक्रम संचालन गर्ने

काठमाडौं (पहिचान) साउन २१ – सरकारले पहिलो पटक यौनिक तथा लैगिंक अल्पसंख्यक समलिंगी तेस्रोलिंगी समूदायबारे सचेतना र सीप विकासको कार्यक्रम संचालन गर्ने भएको छ । महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले समलिंगी तेस्रोलिंगी समूदायको मातृ संस्था नील हिरा समाज लगायतका अन्य केही संस्थाका प्रतिनिधिसँग सचेतना र सीप विकासको कार्यक्रम संचालन गर्ने बिषयमा छलफल गरेको हो । यो समूदायको साथमा सरकार छ भन्ने सन्देश दिन पहिलो पटक थोरै बजेटमा कार्यक्रम संचालन गर्न लागेको सहसचिव शंकरप्रसाद पाठकले वताए ।

पाठकले आबश्यकता अनुसार तालिम दिने र यो समूदायका सदस्यलाई स्वरोजगार बनाउने सरकारको लक्ष्य रहेको वताए । उनले चालु आर्थिक बर्षका लागि २ देखि ३ लाख रुपैयाँ बजेट यो समूदायको सचेतना र सीप विकासका लागि विनियोजन भएको जानकारी दिए । सहसचिव पाठककै कार्यकक्षमा भएको छलफलमा समाजकी अध्यक्ष पिंकी गुरुङले समाजमा बाच्नकै लागि संघर्ष गर्नु परेको वताइन । परिवार, समाज र राज्यले सहयोग नगरेका कारण यो समूदायका सदस्यले उचित शिक्षा समेत लिन नपाएको अध्यक्ष गुरुङको भनाई छ । महिले नङमा पालिस लगाउँदा सरले लठ्ठीले हान्नुहुन्थ्यो, साथीभाईको समूहवाट बहिष्कार गरिन्थ्यो अध्यक्ष गुरुङले भनिन्, शिक्षामा मात्रै होइन स्वास्थ्य सेवा लिन जादाँ पनि यो समस्या भोगीरहेका छौ ।

समाजकी कार्यकारी निर्देशक मनिषा ढकालले यौनिक तथा लैगिंक अल्पसंख्यक समूदाय माथि हुने लाञ्चना, दुरव्यवहार, विभेद र हिंसा अन्त्य गर्न सरकारी संचारमाध्यमबाट सन्देश प्रसारण गर्नु पर्ने वताइन । उनले अल्पसंख्यक समूदाय भित्र यौनिक तथा लैगिंक अल्पसंख्यक समूदाय पर्ने कुरा अरु मन्त्रालयमा पनि जानकारी गराइदिन सहसचिव पाठकलाई आग्रह गरिन् । उनले यो समुदायको अधिकारको बिषय घर, घरमा पुर्याउनु पर्ने वताइन ।

अन्य संघ संस्थाका प्रतिनिधिले पनि यौनिक तथा लैगिंक अल्पसंख्यक समलिंगी तेस्रोलिंगी समुदाय माथि हुने विभेद, दुरव्यवहार, हिंसा अन्त्य हुने गरी सरकारी नीति नियम बन्नु पर्ने वताए । उनीहरुले समलिंगी विवाहबारेको प्रतिवेदन टेवलमा नथन्क्याउन आग्रह गरे । पहिचान अनलाइनसँगको कुराकानीमा सहसचिव पाठकले समलिंगी विवाहबारेको अध्ययन प्रतिवेदन माथि छलफल भइरहेको जानकारी दिए । प्रतिवेदन कहिले कार्यान्वयनमा जान्छ मिति भन्न सकिदैन तर छलफल भइरहेको छ पाठकले भने ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.