समाजलाई असर नपर्नेगरी समलिंगी विवाहलाई मान्यताा दिनुपर्छ : गिरी

समाजलाई असर नपर्नेगरी समलिंगी विवाहलाई मान्यताा दिनुपर्छ : गिरी

599
SHARES

काठमाडौं (पहिचान) साउन ३० – एमाले सभासद् प्रेमबहादुर गिरीले समलिंगी विवाहलाई मान्यता दिनुपर्ने बताएका छन् । यौनिक तथा लैगिंक अल्पसंख्यक समुदायका अधिकारको आवाज रेडियो कार्यक्रम ‘पहिचान’सँगको कुराकानीमा सभासद् गिरीले प्राकृतिक रुपमा आउँने मानवीय गुणलाई कानुनले नियन्त्रण गर्न नसक्ने बताए । ‘जनसंख्याको यति ठुलो प्रतिशत समलिंगी तेस्रोलिंगी हुन्छ भन्ने अन्तराष्ट्रिय मान्यता छ’ उनले भने, ‘संविधान र कानुनले समलिंगी विवाहलाई मान्यता दिएन भने यो ठुलो संख्यामा रहेको समुदाय देश विकासमा भन्दा कुण्ठा शान्त पार्ने अनुत्पादक काममा समय खर्चने छ ।’

उनले प्रकृतिले दिएको उपहार मानेर नागरिकलाई सभ्य समाज निर्माण गर्दै देश विकासमा लगाउनुपर्ने बताए । संविधानले यौन अभिमुखिकरणका आधारमा विभेद नगर्ने कुरा स्वीकार गरिसकेको भन्दै त्यो भनेपछि समलिंगी विवाहलाई रोक्नुपर्ने कुनै कारण नरहेको उनले बताए । ‘यौन अभिमुखिकरण भनेको पनि सायद व्यक्तिको यौन आकर्षण कता हुन्छ भन्ने कुरा नैं होला’ उनले भने, ‘यसलाई स्वीकार गरेपछि समलिंगी विवाहलाई प्रतिबन्ध लगाउनु अर्को मुर्खता हुने छ ।’
अल्पसंख्यकका अधिकार सनिश्चित नगरे देश विकास नैं प्रभावित हुन्छ
सभासद गिरीले यौनिक तथा लैगिंक अल्पसंख्यक र सिमान्तकृतका आवाज संबोधन नगरे देश विकासमा नैं नकारात्मक प्रभाव पार्ने बताए । ‘अहिले हामीलाई स्वर्णिम अवसर प्राप्त छ, सबैखाले समुदायका अधिकार सुनिश्चित गर्न अहिले संविधान निर्माणको समयको अधिकतम उपयोग गर्नुपर्छ’ गिरीले भने, ‘अहिले सबै समुदायका अधिकार सुनिश्चित गर्न सकिएन भने भोलीका दिन पनि अधिकार प्राप्ती र समुदायगत सशक्तिकरणमा मात्र सिमित हुने छ र देश विकासको गति पछि धकेलिने छ ।’
‘यौनिक तथा लैगिंक अल्पसंख्यकका अधिकार सुनिश्चित नगरे नागरिकले आफ्नो अधिकार प्राप्ती र मनको कुण्ठा पोख्नका लागि मात्र आफ्नो श्रम र समय खर्चन्छन्’ गिरीले भने, ‘नागरिकले देश विकासमा भन्दा कुण्ठा पोख्नका लागि मात्र समय खर्चेपछि देश र समाज विकासको गति नैं पछि धकेलिन्छ ।’ उनले समाज विकासका लागि अधिकारका लागि कसैले पनि लड्नुनपर्ने अवस्था सृजना गर्नुपर्ने बताए ।

समाचार शेयर गर्नुहोस्
599
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.