प्रहरीले मलाई झुटो आरोपमा पक्राउ गरेको हो : मुस्कान

प्रहरीले मलाई झुटो आरोपमा पक्राउ गरेको हो : मुस्कान

काठमाडौं (पहिचान) साउन ३१ – तेस्रोलिंगी मुस्कान केसीले आफूलाई झुटो आरोप लगाएको दावी गरेकी छन् । चोरी गरेको आरोपमा साउन २९ गते पक्राउ परेकी मुस्कानले चोरी नियन्त्रण गर्ने आफ्नो अभियानलाई धरापमा पार्ने गरी आफै माथी चोरीको आरोप लगाएको दावी गरेकी हुन् । महानगरीय प्रहरी वृत्त जनसेवाको नियन्त्रणमा रहेकी केसीले सत्य तथ्य छानविन गरेर झुटो आरोप लगाउनेलाई कारवाही गर्न माग समेत गरिन् ।
काभ्रे चाँपापोखरीका पठना कुमार लामाले साउन २९ गते आफूसँग भएको १५ हजार रुपैयाँ मुस्कान सहितका अरु दुई जना तेस्रोलिंगीले चोरेको किटानी जाहेरी साउन ३० गते दिएका थिए । लामाले मुस्कान २९ गते पक्राउ परेको र आफूले पक्राउ परेको भोलीपल्ट उजुरी दिएको वताए । उनले आफ्नो चोरी भएको रकम पाउन प्रहरीमा उजुरी दिएको वताए । जनसेवाका प्रहरी नायव उपरीक्षक बिनोद घिमिरेले मुस्कान सहितका अरु २ जनाले चोरी गरेको पठना कुमार लामाले वताएपछि पक्राउ गरेर ल्याएको वताए । अरु दुई जनाको खोजी गरेर चोरीमा मुस्कान संलग्न भए नभएको छानविन भइरहेको पनि वताए ।
तेस्रोलिंगी मुस्कान केसीले भने आफूले भेला गरेर चोरी गरेको सामान मात्रै नभएर चोरीमा संलग्न व्यक्तिलाई नै प्रहरीमा बुझाउने वताएकाले झुटो आरोप लगाएर पक्राउ गरेको वताइन । दरवारमार्ग, सोह्खुट्टे, जनसेवाका प्रहरीलाई चोरी नियण्त्रणमा सघाउने म आफैलाई आज झुटो आरोप लगाएर पक्राउ गरियो मुस्कानले भनिन्, मलाई न्याय दिइयोस । पठनाको १५ हजार रुपैयाँ चोरी भएको भनिएपनि मुस्कानको साथमा ५ हजार रुपैयाँ मात्रै फेला परेको जनसेवा प्रहरीले वताएको छ ।
मुस्कानसँग भेटिएको रकम पठना कुमार लामाको हो होइन भनेर पोलियोग्राफ गराउने प्रहरी वृत्त जनसेवाले वताएको छ । समलिंगी तेस्रोलिंगीले पनि मुस्कानलाई ठूलै षडयन्त्र गरेर फसाइएको दावी गरेका छन् । प्रहरी वृत्त जनसेवा पुगेका समलिंगी तेस्रोलिंगीले मुस्कानलाई झुटो आरोप लगाएर फसाइएको वताए । समलिंगी तेस्रोलिंगीको मातृ संस्था नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङले दोषीलाई कारवाही गर्ने नाममा निर्दोषलाई फसाउन नहुने वताइन । दोषीलाई कारवाही गर्नु पर्छ अध्यक्ष गुरुङले भनिन्, छानविन गरेर सत्य कुरा बाहिर ल्याइयोस ।
अधिवक्ता सुजन पन्तले झुटो उजुरी दिएको प्रमाणित भएमा त्यस्तो झुटो उजुरी दिनेलाई १ महिनासम्मको जेल सजाय हुने कानुनी व्यवस्था रहेको वताए । मुस्कान आफ्नो समूदायका सदस्यले चोरी गरेको थाहा पाएमा चोरी गरेको सामान प्रहरीमा लगेर बुझाउने गर्थिन । पक्राउ पर्नु केही समय अघि मात्रै समलिंगी तेस्रोलिंगीको भेलामा मुस्कानले सधै चोरी गरेको सामान बुझाएकोमा अव चोरीमा संलग्न व्यक्तिनै प्रहरीमा लगेर बुझाउने बताएकी थिइन । मुस्कानलाई जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरेर अनुशन्धान भइरहेको प्रहरी वृत्त जनसेवाले जनाएको छ । समलिंगी तेस्रोलिंगीहरुले भने धेरै पहिले देखि आफूहरुलाई स्वतन्त्र पूर्वक सडकमा हिडडुल गर्दा समेत प्रहरीले पक्रने गरेको वताएका छन् । यस बिरुद्ध राष्ट्रिय मानवअधिकार आयोगसम्म पुगे पनि प्रहरीले विना कारण पक्रन नरोकेको उनीहरुको भनाई छ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.