हामीलाई सरकारी बजेट चाहियो : ढकाल, अब आरक्षण पनि माग्नुस् : केसी

हामीलाई सरकारी बजेट चाहियो : ढकाल, अब आरक्षण पनि माग्नुस् : केसी

काठमाडौं (पहिचान) माघ ४ – जिल्ला विकास समिति काठमाडौंले समलिंगी तेस्रोलिंगी समुदायलाई बजेट छुट्याउन सकिने बताएको छ । राज्यले अन्य नागरिक सरह स्वीकार गर्दै आएको र संविधानले समेत अधकार सुनिश्चित गरिसकेको अवस्थामा अब नील हिरा समाजले आवश्यक पहल गरे जिविसले बजेट विनियोजन गर्ने काठमाडौं जिविसका बरिष्ठ सामाजिक अधिकृत दिपक बहादुर केसीले जानकारी दिए ।
अल्पसंख्यक समुदायलाई छुट्टै शिर्षकमा बजेट विनियोजन हुँदै आएको केसीले जानकारी दिए । केसीले पहल गरेर आफ्नो समुदायको सीप विकासका लागि बजेट ल्याउन सुझाव दिदै केसीले त्यसका लागि अल्पसंख्यकको परिभाषाभित्र पार्न समलिंगी तेस्रोलिंगीलाई आग्रह गरे ।
नील हिरा समाजकी कार्यकारी निर्देशक मनिषा ढकालले सरकारले अब यौनिक तथा लैंगिक अल्पसंख्यकलाई पनि बजेट विनियोजन गर्नु पर्ने माग गरिन । सधै दातृ निकायको भर पर्नु पर्ने अवस्थाको अन्त्य हुनु पर्नेमा उनको जोड छ ।
JiBIs 1काठमाडौं जिल्लाका ठूला गैरसरकारी संस्था मध्ये नील हिरा समाज पनि एक रहेको भन्दै जिविसका बरिष्ठ सामाजिक अधिकृत दिपक बहादुर केसीले सरकारी कानुन भित्र रहेर काम गर्न आग्रह गरे । आजसम्म नियमकानुन भन्दा बाहिर गएर काम गरेको नपाइए पनि अझै सुधार गर्ने ठाउँ भने रहेको उनको भनाई छ ।
भविष्यमा कामको शिलशिलामा कुनै कानुनी अड्चन वा चुनौति आए त्यसको समाधानका लागि सहयोग गर्न तयार रहेको भन्दै केसीले जिल्लामा रहेका शाखा कार्यालयहरु पनि संबन्धित जिल्लामा दर्ता गरेर मात्र संचालन गर्न आग्रह गरे । समाजका ५३ शहरमा शाखा कार्यालय रहेका र त्यसमा करीव साढे ७ सय कर्मचारी कार्यरत रहेको नील हिरा समाजकी कार्यकारी निर्देशक मनिषा ढकालले जानकारी दिइन् । उनले गत आर्थिक वर्षमा १९ करोड बजेट दातृ निकायबाट प्राप्त भएको र उक्त रकम समलिंगी तेस्रोलिंगीको मानवअधिकार, अधिकार, स्वास्थ्य, शिक्षा, बृत्तिविकास र सीपविकास तालिममा खर्च भएको जानकारी दिइन् ।
निर्देशक ढकालले अब समलिंगी तेस्रोलिंगीलाई बजेट सँगै आरक्षणको व्यवस्था गर्न सरकारसँग आग्रह गरिन् । जिविसका बरिष्ठ सामाजिक अधिकृत केसीले ८ देखी १० प्रतिशतको संख्यामा रहेको दाबी गर्ने समलिंगी तेस्रोलिंगीले सुरुमा कम्तिमा एक प्रतिशत भएपनि आरक्षण र छात्रबृत्ति पाउनु पर्ने विचार राख्दै त्यसका लागि संबन्धित निकायको ढोका ढक्ढक्याउन आग्रह गरे ।
केसीले आर्थिक पारदर्शीताका लागि कम्तिमा वर्षमा एक पटक जिविसको उपस्थितिमा समीक्षा कार्यक्रम गर्न सुझाव दिए । उनले समाजले आफ्नै पहलमा यति ठूलो रकम दातृ निकायबाट भित्राएर व्यवस्थित रुपमा कार्यक्रम संचालन गर्न सक्नु आँफैमा उपलब्धि भएको बताए ।
नील हिरा समाजमा अहिले आठ वटा परियोजना संचालित छन् । जसले एचआएइभी संक्रमितका लागि उपचार तथा रोकथाम, सामाजिक जनचेतना तथा मानवअधिकार, सीपविकास र अधिकार र समतामुलक समाज निर्माणका लागि रेडियो कार्यक्रम संचालन गर्दै आएको छ ।
समलिंंगी तेस्रोलिंगीको अधिकारका लागि नीलहिरा समाज सन् २००१ मा सुनिलबाबु पन्तको पहलमा गठन भएको गैरनाफामुलक गैरसरकारी संस्था हो ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.