नायिका करिष्मा मानन्धरसँगै मनाए तेस्रोलिंगीले तीज (तस्विर सहित)

नायिका करिष्मा मानन्धरसँगै मनाए तेस्रोलिंगीले तीज (तस्विर सहित)

काठमाडौं (पहिचान) भदौ ८ – यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायहरुले छमछमी नाँचेर हरितालिका तीज पर्व मनाएका छन् । रातो साडी, रातै चोली र पहेँला गहना लगाएर समुदायका सदस्यले तीजका गीतमा छमछमी नाँचेर तीज पर्व मनाएका हुन् ।

समुदायको मातृ संस्था नील हिरा समाजको केन्द्रीय कार्यालय धुम्वाराहीमा नायिका करिष्मा मानन्धरको उपस्थितिमा धित मर्ने गरी नाँचगान गरेर समुदायका सदस्यले तीज मनाए । मानन्धरसँगै नाच्न पाउँदा समलिंगी तेस्रोलिंगीहरु हौसिएका थिए । नायिका तथा राजनीतिक नेतृ मानन्धरले यो सालको तिज तेस्रोलिंगीसँग मनाउन पाउँदा खुशी लागेको वताइन । “मैले यो वर्षको तिज अलि फरक तरिकाले मनाए,” उनले भनिन्, “विभिन्न संघसंस्थाका कार्यक्रम छाडेर तेस्रोलिंगीले आयोजना गरेको तिज कार्यक्रममा सहभागी भए ।”
अधिकारका लागि संघर्षरत यौनिक तथा लैंगिक अल्पसंख्यकको अधिकार प्राप्तीको लडाइँमा सहयोग होस भनेर पनि आफू तेस्रोलिंगीले आयोजना गरेको तिजमा पुगेको वताइन ।
“मलाई सबै नागरिक समान हुन् भन्ने लाग्छ, त्यसैले मैले उहाँहरुको तिज कार्यक्रम रोजेकी हुँ,” करिष्माले भनिन् । “धर्मशास्त्र अनुसार अर्धनाशेश्वरको रुपमा पनि तेस्रोलिंगीको पहिचान रहेको छ करिष्माले भनिन, आफू तेस्रोलिंगी हुँ भनेर समाजमा चिनाउन हिम्मत गर्ने कामको सरहाना गर्छु । ”
सन् २००१ मा नील हिरा समाजकी कार्यकारी निर्देशक मनिषा ढकालले मानन्धरसँग तीज मनाउन पाउनु खुशीको कुरा भएको वताइन । उनले एक साल आफ्नो हुनेवाला पतिदेवका लागि व्रत बसेको सुनाइन । “पानी पनि नखाई म त्यो साल उसकै लागि भनेर व्रत बसें,” उनले आफ्नो पूरानो विगत सम्झिइन्, “तर त्यसपछि भने कहिल्यै पनि निराहार व्रत बसेकी छैन । तर तीज भने मनाउँछु ।”
अरु आफ्नो श्रीमान् र हुनेवाला पतिका लागि तिज मनाउँछन्, व्रत बस्छन् । तर, मनिषा के माग्छिन् तिजमा ? “म हामी जस्ता सारा नेपाली र विश्व व्रमाण्डकै समलिंगी तेस्रोलिंगीको मनाकांक्षा पूरा होस् भने तिजमा कामना गर्छु,” उनी भन्छिन्, “जसरी महिलाले सहजै मनाइरहका छन्, उनीहरुको जस्तै तेस्रोलिंगीले पनि तिज घरमै बसेर मनाउने वातावरण बनोस भन्ने मनमा सोच्छु ।”
समाजकी अध्यक्ष पिंकी गुरुङ्गले घरबाट टाढिएर बसेका तथा काठमाडौंमा संगठित भएका तेस्रोलिंगी तथा समलिंगीलाई तिजको कार्यक्रम आयोजना गरेर समाजले तीज मनाउँदै आएको वताइन ।
“तेस्रोलिंगीहरु घरबाट अपहेलित भएर परिवारबाट टाढिएका हुन्छन् । चाडपर्वमा घरबाट नबोलाउँदा तेस्रोलिंगीहरु झनै दुःखी हुन्छन् । मानसिक चोट पुग्छ,” गुरुङ्ग भन्छिन्, “हाम्रा साथीहरुलाई नील हिरा समाज नै घर हो र हाम्रो अभिभावक छ हामी दुःखी हुनु पर्दैन मनमा आनन्द होस् भनेर पनि हामी बर्सेनी एकै ठाउँमा बसेर तीज मनाउँछौं ।”
तस्रोलिंगी इशा शर्माले आफूलाई परिवारले स्वीकार गरेको वताउँदै खुलेर तीज मनाउन पाउँदा खुशी लागेको वताइन । “ तीज पर्वमा आफूलाई स्वतन्त्र भएको महसुस हुन्छ इशाले भनिन्, सधैभरी स्वतन्त्र भएको महसुस हुन पाए हुन्थ्यो । ” तेस्रोलिंगी सुनिता लामाले समुदायका सदस्यसँग तीज मनाउन पाउँदा खुशी लागेको वताइन ।
तेस्रोलिंगी मुस्कान केसीले पतिदेवको दिर्घायुको कामना गर्दै तीजमा व्रत बसेको वताइन । “आफूलाई महिला सरह नै तीज पर्व मनाउन पाउँदा रमाइलो लाग्छ मुस्कानले भनिन, घर परिवारले पनि गृहणीको रुपमा स्वीकार गरोस भन्ने चाहना छ । ” उनले श्रीमानको माया अटुट रहोस भन्ने कामना गर्दै तीज पर्व मनाएको वताइन ।
तेस्रोलिंगी अधिकारकर्मी सिमरन शेरचनले तीज पर्व मनाउन पाउनु आफ्नो अधिकार भएको वताउँदै वर्ष भरीको तनाव भुलेर स्वतन्त्र पूर्वक तीज मनाउन पाउँदा प्रत्यक्ष अप्रत्यक्ष संस्कृतिको जगेर्नामा समेत योगदान पुग्ने गरेको वताइन ।
तीजको अवसरमा समाजले नृत्य प्रतियोगिता समेत गरेको छ । उत्कृष्ट नृत्य गर्नेलाई एउटा एउटा टाइटलसहित ‘गिफ्ट ह््याम्पर’ समेत समाजले प्रदान गरेको छ । उपस्थितहरुको भोटका आधारमा प्रतियोगिलाई पुरस्कृत गरिएको थियो ।

तस्विरहरु :

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.