के भन्छन् समलिंगी तेस्रोलिंगीका आफन्त ?

के भन्छन् समलिंगी तेस्रोलिंगीका आफन्त ?

कास्की (पहिचान) भदौ २३ – तेस्रोलिंगी पिंकी गुरुङ, समलिंगी पुरुष विश्वराज अधिकारी र पिटर राई तथा अन्तरलिंगी कुसुुम विष्टका आफन्तले आफ्नो परिवारले उनीहरुलाई फरक पहिचानकै आधारमा विभेद नगरेको स्पष्ट पारेका छन् ।

नील हिरा समाजले पोखरामा आयोजना गरेको दुई दिने राष्ट्रिय परामर्श भेलामा गुरुङ, अधिकारी, राई र विष्टका आफन्तले यौनिक रुपमा फरक पहिचानका कारण परिवारले कहिल्यै विभेद नगरेको बताए । उनीहरुले परिवारले साथ दिएकै कारण उनीहरु आज खुसीसाथ जिन्दगी बाँचिरहेको बताए ।

नील हिरा समाजकी अध्यक्ष समेत रहेकी पिंकी गुरुङकी बहिनी कासी गुरुङले आफ्नो परिवारमा बुवा, आमा तथा परिवारका अन्य कुनै पनि सदस्यले उनलाई पहिचान अनुसार खुलेर अगाडि आउन रोकतोक नगरेको बताइन् । पहिलोपटक आफ्नो दिदीलाई टेलिभिजनमा अन्तर्वार्ता दिँदा उनको पहिचानबारे थाहा पाएको जानकारी दिँदै उनले त्यहाँबाट आफूले थाहा पाएको बताइन् । कासीले अहिले आफूलाई आफ्नो नामबाट भन्दा पनि दिदी पिंकी गुरुङकी बहिनी भनेर चिनाउँदा गर्भ लाग्ने गरेको बताइन् ।

समलिंगी पुरुष विश्वराज अधिकारीका भाई विशाल अधिकारीले आफ्नो परिवारले विश्वराजलाई कहिले पनि फरक नजरले नहेरेको स्पष्ट पारे । उनले विश्वराज आफ्नो परिवारको अभिभावक भएको स्पष्ट पारे । उनले आफ्नो दाईको अधिकार र सुखका लागि सँधै महाभारतको लक्ष्मण भएर साथ दिने प्रतिबद्धता जनाए । विशाल शिक्षक हुन् ।

समलिंगी पुरुष पिटर राईकी बहिनी एलिमा राईले आफ्नो दाई परिवारमा आफूसँग सबैभन्दा नजिक रहेको बताइन् । पिटरले नै आफूलाई गाइड गर्ने गरेको उनले जानकारी दिइन् ।

विस्तारै समलिंगी तेस्रोलिंगीबारे परिवारलाई जानकारी गराउँदै आफ्नो पहिचान खोलेको भन्दै राईले पहिलोपटक कान्तिपुर टेलिभिजनमा अन्तर्वार्ता दिएर उनले आफ्नो पहिचान खुलाएको जानकारी दिइन् । उनको फरक पहिचानकै आधारमा पिटरलाई कुनै पनि विभेद नगरेको पनि एलिमाले बताइन् ।

अन्तरलिंगी कुसुम बिष्टकी आमा सरस्वती थापाले कुसुमकै चहाना अनुसार उनको पहिचान खुलाउन दिएको र त्यसका लागि सहयोग गरेको स्पष्ट पारिन् । आफ्नो दुई जना सन्तान अन्तरलिंगी भएको भन्दै उनले सुरुमा उपचार गराउन भारत लगे पनि पछि यसबारे बुझेपछि उनीहरुकै चहाना अनुसार बाँच्न दिनुपर्छ भनेर अपरेशन नगरेको बताइन् ।

अहिले दुबै जना खुसी भएपनि समाजमा रहेको नकारात्मक सोचाका कारण विद्यालयमा गएर पढ्न भने निकै गाह्रो भएको जानकारी दिइन् ।

यौनिक तथा लैगिक अल्पसंख्यकबारे समाजमा रहेको नकारात्मक सोच हटाउन नील हिरा समाजले खेलेको भूमिकाको उनले प्रसंशा गरिन् । उनले अहिले कुशुम नील हिरा समाजमा कार्यरत रहेको र निकै खुसी रहेको बताइन् ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.