केटिले डेटिङ प्रस्ताव गर्दा लाजले भूतुक्क हुन्थे : ज्योति थापा

केटिले डेटिङ प्रस्ताव गर्दा लाजले भूतुक्क हुन्थे : ज्योति थापा

भक्तपुर (पहिचान) भदौ २७ – एउटी केटी जसलाई कुनै वेला केटीहरुले नै डेटिङ् प्रस्ताव गर्थे । उनी भने लाजले भुतुक्क हुन्थिन् । विद्यालय तहको उत्तरार्धमा केटिहरुको डेटिङ् प्रस्ताव देखि केटाहरुको हेपाहा शैलिले हैरान थिइन् उनी ।

कथा भक्ततपुरकी ज्योति थापाको हो । जतिवेला केटिहरुले डेटिङ् प्रस्ताव गर्थे त्यसवेला उनी केटाकै स्वरुपमै थिइन् । केटा भएर पनि केटाको जस्तो आक्रामक अनि हक्कि स्वभाव उनमा विकास हुन सकेन । त्यसैले केटाहरुले उनलाई सधै हेप्ने र उडाउने गर्थे भने केटिहरुले विना कुनै तयारी उनलाई सिधै डटिङ् प्रस्ताव गर्थे । ’साच्चै मन पाराएर डेटको प्रस्ताव गर्थे वा उनीहरुले पनि केटाहरुले जस्तो हेपेका थिए मलाई थाहा भएन,’ ज्योति सम्झिन्छिन, ’तर म भने लाजले भुतुक्कै हुन्थे ।’ उनले आफूलाई केटिप्रतिको कुनै आकर्षण भने कहिलै नभएको सुनाइन ।

ज्योति मास्टर्स लेवलको पढाइ सुरु गर्दासम्म केटाकै स्वरुपमा थिइन् । ’प्रारम्भिक शिक्षा गाउँकै स्कुलमा लिएर जतिवेला म शारदा माविमा छ कक्षामा भर्ना भए, त्यहाँ १५० साथिहरुसँग पढ्न थाले,’ ज्योति सम्झिन्छिन, ’मेरो बोली सानो हुँदा शिक्षकहरुले तिमि कति सानो बोलेको । तिमि केटा हो की केटी भन्दै प्रश्न गर्थे ।’ उनलाई सम्झना छ, त्यहाँ केटाहरु लाइन लागेर ’सर्ट ट्वाइलेट’ जाने तर, उनी भने लजाएर लास्ट सबै जाँदा सम्म कुरेर बस्थिन् । ’साथिहरुले मलाई छक्का भन्ने गर्थे, मलाई नराम्रो भने भन्ने थाहा थियो तर के भनेको भन्ने थाहा थिएन,’ ज्योति सम्झन्छिन् ।

’०५६ सालमा एसएलसी पढेर प्लसटु पढ्न थाले, त्यहाँ मलाई ’सिक्स’ भन्न थाले । व्याचलर भक्तपूरमा पढ्न भर्ना भए त्यहाँ पनि त्यस्तै भएपछि क्याम्पस पढ्न जान सकिन,’ विगत सम्झेर भक्कानिदै ज्योति भन्छिन, ’मैलै आफैलाई धिकारे, आमा बुवालाई धिकारे । म डिप्रेसनमा गए।’

उनले घरमै स्वअध्ययन गरेर जसो तसो व्याचलर्स लेवल कटाइन् । ’पास गरेको उत्साहमा मास्टर्स पढ्न किर्तिपुर गए । घरबाट कान्छो छोराको विवाह गर्नुपर्छ भन्ने दवाव आउन थाल्यो । त्यस समय देखि नै म नील हिरा समाजको पार्टटाइम जव सुरु गरेकी थिए । मैले साहसपूर्वक त्रिविका प्राध्यापक र साथिहरु राखेर आफ्नो धारणा राखे । प्रोफेसरहरुबाट नसोचेको रेस्पोन्स पाए,’ खुशी हुँदै ज्योति भन्छिन, ’मलाई कृष्ण थापाबाट ज्योति थापाको नाम उहाँहरुले नै जुराई दिनुभयो । आइडी कार्ड उहाँले नैं बनाइदिनुभयो । त्यतिसम्म सपोर्ट मैले पाए । तर, मैले आर्डीमा भर्ना गरे पनि पास भने गर्न सकिन ।’ हिम्मत हारेर फर्किएकी ज्योति आफ्नो क्षेत्रमा प्रवेस गरेर काम गर्न थालेपछि आत्मविश्वासले भरिदै गइन् ।

’पछि म फेरी जेण्डर पढ्न गए । त्यहाँ जेण्डर पढाउने प्राध्यापक धनबहादुर पण्डितले भन्नुभयो ’मानिस जीवनमा एकपटक तेस्रोलिंगी हुन्छ’ यो त गलत भयो भनेर मैले बुझाउने प्रयास गरे,’ ज्योति शाहसिलोमा भन्छिन, ’विस्तारै समाजमा तेस्रोलिंगीहरु हुन्छन् भन्ने बुझाउने प्रयास गर्दैछु । कुनै समय आत्म हत्याबाट जोगिएकी म अब धेरैलाई बाच्ने हौसला दिन सक्ने भएकी छु ।’

 

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.