“मलाई विवाहका लागि पटक पटक दबाब आउँथ्यो”

“मलाई विवाहका लागि पटक पटक दबाब आउँथ्यो”

काठमाडौं (पहिचान) भदौ २९ – नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङले आफूलाई सुरुसुरुमा पटक पटक विवाहको दबाब आउने गरेको बताएकी छिन् । पोखरामा केही दिन अगाडि नील हिरा समाजको राष्ट्रिय परामर्श भेलामा बोल्दै उनले आफ्नो पहिचान समेत थाहा नभएको तत्कालीन समयमा विवाहको प्रेसर आउँदा आफू विभिन्न बाहाना बनाएर उम्किने गरेको जानकारी दिइन् ।

“कुनै पनि काम गर्नुभन्दा पहिला त्यसबारे आफैंमा हिम्मत हुनुपर्छ । हैन भने मान्छे जिउँदो लास भएर जिन्दगीभर बाँच्नुपर्ने हुन्छ । म केटीसँग विवाह गरेर खुसी हुन सक्तिन भन्ने लाग्थ्यो त्यही भएर विवाह गरिन्,” उनले भनिन् ।

फुपुकी छोरीसँग बुवा आमाले विवाहका लागि दबाब दिएको प्रसंग कोट्याउँदै उनले भनिन्, “जति मलाई विवाहको दबाब बुवा आमाले दिनुहुन्थ्यो त्यती नै म आफूलाई एक्सपोज गर्दै गएँ । पहिचान खुलाउँदै गएँ ।”

सुनिलबाबु पन्तले भनेपछि आफ्नो यौनिकताबारे थाहा पाएर संगठित भएर नील हिरा समाजको स्थापना गरेको उनले सम्झिइन् । पहिलोपटक विसं.२०६२ सालमा नेपाल टेलिभिजनको कार्यक्रम ‘संघर्ष’ मा अन्तर्वार्ता दिएपछि परिवारले थाहा पाएको गुरुङले बताइन् ।
परिवारले साथ नदिएसम्म अगाडि बढ्न नसक्ने भन्दै उनले परिवारको समर्थन भएको अवस्थामा धेरै काम गर्न सकिने बताइन् ।
बुवाले वित्ने बेलामा आफूलाई आफ्ना भाइबहिनीको हेरचाह गर्न आग्रह गरेको सम्झिँदै गुरुङले यसले आफूलाई अझ बलियो भएर अगाडि बढ्न सँधै प्रेरणा मिलेको बताइन् ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.