तेस्रोलिंगीका चूनौतीः व्यक्ति, परिवार र समाज : लामा

तेस्रोलिंगीका चूनौतीः व्यक्ति, परिवार र समाज : लामा

काठमाडौं (पहिचान) असोज २५ – यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका चूनौती व्यक्ति स्वयम देखि समाजसम्म रहेको तेस्रोलिंगी अधिकारकर्मी पुष्पा लामाले बताएकी छन् । रेडियो कार्यक्रम पहिचानसँग कुरा गर्दै समलिंगी तेस्रोलिंगी स्व्यम् नखुल्नु मुख्य कारण भएको लामाको भनाइ छ ।

“व्यक्ति स्वयम्ले आफूलाई नचिन्नु, चिने पनि लुकेर बस्नु समलिंगी तेस्रोलिंगीको अधिकार प्राप्तीको लडाइँमा मुख्य चूनौती हो,” लामाले भनिन्, “व्यक्ति स्वयम् पछि घरपरिवार, समाज र राज्य अर्को चूनौती हो हाम्रा लागि ।”

घरपरिवार र समाजले समलिंगी तेस्रोलिंगीलाई स्वीकार नगरेका कारण उनीहरु खुलेर आउन नसकेको लामा बताउँछिन् । यद्यपी यसलाई चिर्दै अगाडि बढ्नुको विकल्प नरहेको उनले बताइन् ।

“मलाई मेरो परिवारले स्वीकार गर्न १२ वर्ष लाग्यो । मलाई अहिले कुनै समस्या छैन । परिवारका सबै सदस्य मसँग सन्तुष्ट हुनुहुन्छ,” लामा भन्छिन्, “यो अवस्था मैले आफैंले बनाएकी हुँ । परिवार र समाजले बनाएको होइन । परिवार र समाजलाई मलाई हेर्ने दृष्टिकोण सकारात्मक मैले बनाएकी हुँ । समाज मैले बदलेकी हुँ ।”

समाजले हेर्ने दृष्टिकोण अझै सकारात्मक नहुँदा तेस्रोलिंगीहरुले सहजै शिक्षा लिन नपाएको उनको भनाइ छ । आफ्नो पनि यसकै कारण कलेजको अध्ययन पूरा हुन नसकेको उनको गुनासो छ । “कलेजमा केही व्यक्तिले मेरो पहिचान चिनेका रहेछन् । उनीहरुले मलाई जिस्काउने, हेयको भावले हेर्ने गरेपछि मैले मेरो अध्ययन पूरा गर्न सकिन,” उनले भनिन्, “यस्ता समस्याका कारण तेस्रोलिंगी ठूलो समस्यामा छन् । अधिकांश तेस्रोलिंगी पढाइबाट उनीहरुको पहिचान कै कारण ड्रप आउट भइरहेका छन् ।”

उनले पछिल्लो समय राज्यले बिस्तारै समलिंगी तेस्रोलिंगीका मुद्दा सुनुवाई गर्दै गएको बताइन् । संविधानमा यौनिक तथा लैंगिक अल्पसंख्यकका समुदायका अधिकार सुनिश्चित गरेको भन्दै संविधान अनुसार कानुन बन्नु पर्नेमा लामाले जोड दिइन् ।

 

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.