तेस्रोलिंगीको तिहार : यसरी सुरु भयो भाइटिका

तेस्रोलिंगीको तिहार : यसरी सुरु भयो भाइटिका

काठमाडौं (पहिचान) कार्तिक ६ – काठमाडौं महाराजगञ्जका यलिन भण्डारीले यही वर्ष देखि पहिलो पटक दाई बनेर बहिनिसँग टिका लगाए । गत वर्षको तिहारसम्म आफै बहिनिका रुपमा दाइलाई टिका लगाइदिने यलिनले यो वर्ष समलिंगी तेस्रोलिंगी समुदायकै तेस्रोलिंगीलाई बहिनि बनाएर टिका थापेका हुन् ।

‘मेरो तिहार यस वर्ष अघिल्ला वर्ष भन्दा फरक रह्यो र विशेष पनि बन्यो,’ भण्डारीले भने, ‘अघिल्लो वर्षसम्म नखुलेको हुँदा म नैं दाइलाई टिका लगाइदिन्थे । यस वर्ष म तेस्रोलिंगी पुरुष भनेर खुलिसकेको हुनाले तेस्रोलिंगी बहिनि इलियाना श्रेष्ठको हातबााट टिका लगाए ।’ उनले पहिला दाइलाई टिका लगाइदिदा सन्तुष्ट हुन नसक्ने गरेको अनुभव सुनाए ।

‘पहिला मन नलागी नलागी पनि दाइलाई टिका लगाउँथे । यस पटक म जे हुँ त्यही अनुसार टिका लगाए । बहिनिको हातबाट दाई बनेर टिका लगाउँदा छुट्टै रामाईलो महसुस हँुदो रहेछ,’ भण्डारीले भने ।

मकवानपुरका समलिंगी अधिकारकर्मी विश्वराज अधिकारीले पनि यस वर्ष आफ्नै समुदायका बहिनिहरुसँग भाइटिका लगाए । यस अघि देखि नै घरमै समुदायकै दिदी इन्दिरा न्यौपानेसँग टिका लगाउँदै आएका विश्वराजले यसवर्ष मकवानपुर जान नपाउँदा बहिनिको संख्या बढाएको बताए । विश्वराजले यस वर्र्ष यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका सुरक्षा दाहाल र आकांक्षा तिमिल्सिनासँग भाइटिका लगाए ।

‘समुदाय भित्रका अन्तरिक तिक्तता अन्त्य गर्दै भावनात्मक तथा पारिवारिक सम्बन्ध विकासका लागि पनि समुदायमै टिका लगाएको हुँ,’ विश्वराजले भने ।

भक्तपुरकी तेस्रोलिंगी अधिकारकर्मी  ज्योति थापाले आठ बर्ष अघि देखि खुलेरै परम्परागत रुपमै भाइटिका मनाउँदै आएकी छिन् ।

‘भाइटिका परम्परागत रीतिरिवाज अनुसार नैं मनाउँदै आएका छौं । मैले मेरो दाइलाई बहिनिका रपमा टिका लगाउँदै आएकी हुँ,’ ज्येतिले भनिन्, ‘पहिला हामी दुई छोरा र दुई छोरी थियौं, म खुलेपछि हामी दिदीबहिनी तीन जना भयौं । दाई एकजना हुनुभयो ।’

उनले आफ्नो ठुलो बुवाकी छोरीले पनि दाइसँगै भाइटिका लगाउने हुँदा अहिले चार जनाले एक दाईलाई टिका लगाउने गरेको सुनाइन् । सन २००८ अघिसम्म ज्योति घरको कान्छो छोराका रुपमा दिदीहरुबाट भाइटिका ग्रहण गर्थिन् । त्यसपछि छोरीकै रुपमा दाईलाई तिहारको टिका लगाउँदै आएको ज्योतीले बताइन ।

मकवानपुरकी सुरक्षा दाहालको भाइटिका अनुभव अलिक फरक छ । घरमा तीनजना दाइ रहेकी सुरक्षा अहिले दाईको संख्या विस्तार गरिरहेकी छन् । उनले यस वर्ष समलिंगी पुरुष देखी तेस्रोलिंगी पुरुषसम्मलाई दाइका रुपमा टिका लगाइन् ।

घरकी कान्छी छोरी सुरक्षाका तीन जना दाइ र एक दिदी छन् । तर उनले यस वर्षको तिहारको भाइटिका काठमाडौंमै मनाइन् र कैलालीका तेस्रोलिंगी पुरुष भक्ति शाह र मकवानपुरका समलिंगी पुरुष विश्वराज अधिकारीलाई टिका लगाइन् । समलिंगी महिला सुरक्षाले समुदायभित्र भातृत्व र प्रेम विस्तारका लागि समुदायभित्रै भाइटिका मनाएको बताइन् ।

‘मलाई भाइटिका मनाउन कुनै समस्या थिएन, सुरक्षाले भनिन्, ‘त्यसैले यस वर्ष घर नगएकी हुँ, समुदायभित्र यसरी टिका लगाउँदा भातृत्व र प्रेम बढ्ने तथा भावनात्मक सम्बन्ध विस्तारित हुने विश्वास लिएकी छु ।’

 

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.