बहिर्गमित जनमुक्ति सेना भन्छन – माओवादीले समावेसिताको मुद्धा छोड्यो

बहिर्गमित जनमुक्ति सेना भन्छन – माओवादीले समावेसिताको मुद्धा छोड्यो

काठमाडौं (पहिचान) कार्तिक १० – बहिर्गमित जनमुक्ति सेनाले माओवादीले समावेसितासहितका धेरै मुद्धा छोडेको अरोप लगाएका छन् । पहिचानसँगको कुराकानीमा बहिर्गमित जनमुक्ति सेना संघर्ष समितिका उपाध्यक्ष रमेश बसेल करण र महासचिव राजन थापा सुवाषले माओवादीले थालेको आन्दोलनलाई पुुरा नहुँदै बिचमै छोड्दा माओवादी अन्दोलनमा लागेकाहरु नैं संघर्षमा उत्रिनु परेको बताए ।

‘यौनिक तथा लैंगिक अल्पसंख्यक देखि उत्पिडीत र बहिस्करणमा परेकाहरुका मुद्धा छोडेर सत्ताको राजनीतिमा लागेर माओवादीले आफैले उठाएका मुद्धा छोडेको छ,’ बहिर्गमित जनमुक्ति सेना संघर्ष समतिकिा उपाध्यक्ष रमेश वसेलले भने, ‘त्यही कारण शोषण र दमनबाट मुक्तिको आन्दोलनमा माओवादीमा लागेका हामीजस्ता युवा त्यसका विरुद्ध छुट्टै मोर्चामा उभिन बाध्य भयौं ।’ उनले त्यही कारण माओवादी छोडेर आफूहरु जन समाजवादी बार्टीबाट लाग्नुपरेको बताए ।

‘जनताको मुक्तिका लागि जीवन आहुति दिन हिडेका हामीहरु शान्ति प्रक्रियामा आएपछि अयोग्य लडाकुको उपमा पायौं,’ बहिर्गमित जनमुक्ति सेना संघर्ष समितिका महासचिव राजन थापा सुवासले भने, ‘अहिले हामीसँग माओवादीले न्वारन गरिदिएको उपनाम बाहेक अरु कुरा बाँकी छैन ।’ उनले यौनिक तथा लैंगिक अल्पसंख्यक तथा अन्य उत्पिडीत समुहबाट मुक्ति अन्दोलनमा सहभागि सबै रुष्ट रहेको बताए ।

थापाले हिजोको नेकपा माओवादी एकीकृत नेकपा माओवादी र माओवादी केन्द्र हुँदै अहिले एमालेमा विलय हुन लागेको बताए । युद्धमा एक्लै लडेर पहिलो संविधानसभा चुनावमा पहिलो पार्टी भएको नेकपा माओवादी दोस्रो संविधानसभासम्म आइपुग्दा तेस्रो र हैसियतविहिन पार्टी बनेको र स्थानीय चुनावमा थप क्षयीकरण भएको थापाले बताए ।

उनले कांग्रेसले च्यापेका कारण स्थानीय निर्वाचनमा केही सिट पाएको भन्दै सत्ता राजनीतिमा आफ्नो स्थान सुरक्षित हुनकै लागि अहिले प्रचण्डले एमालेमा पार्टी विलय गराउन लागेको बताए ।

जन समाजवादी पार्टी नेपालमा केन्द्रीय सदस्य रहेका करण र सुवासले माओवादीका कमजोरी सुधार गर्न र समावेसिताको मुद्धालाई व्यवस्थित गर्न आफूहरु निर्वाचनमा होमिएको बताए । करणले नवलपरासी दुईबाट उम्मेदवारी दिने तयारी गरेका छन् भने सुवाषले धादिङ १ बाट उम्मेदवारी दिएका छन् ।

‘हामी हाम्रो पार्टीलाई जनयुद्धमा गरेका प्रतिबद्धता अनुरुप अगाडी बढाउन चाहन्छौं र माओवादीले झुक्याएका समुहलाई मुक्ति आन्दोलनमा समेट्न चाहन्छौं,’ सुवाषले भने, ‘यौनिक अल्पसंख्यक तथा सोषित र उत्पिडीतलाई साथमा लिएर हामी शान्तिपूर्णरुपमा क्रान्ति गर्न चाहन्छौं ।’

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.